भेरी करिडोरको पुल निर्माणमा देखिएको समस्या समाधान हुने ः भौतिक पूर्वाधार मन्त्री चौलागाई

सुर्खेत ,११ चैत ः भौतिक पूर्वाधार तथा यातायात , वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाइले भेरी करिडोरमा पुल निर्माणमा देखिएको समस्या समाधान हुने बताउनुभयो ।

    
यहाँले भेरी करिडोर सडक योजनाको अनुगमण गर्नुहुँदै लामो समय सम्मा ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसासीका कारण भेरी करिडोरमा आएको समस्या हल हुने बताउनुभयो । क्याराभान हिराचन जेभी जाजरकोटको नलगाड नगरपालिका भित्र मात्र पाँच पुल अलपत्र पारेको उहाँले जानकारी दिनुभयो । यहाँले भन्नुभयो ,“ झुर्मेखोला , नलगाड नदी , त्रात्रगाड , ताक्सुगाड स्थित चौखा , मैदेखोलामा मोटरेवल पुलको ठेक्का लिएर पाँच वर्ष देखि अलपत्र पारेको पाइयो ।


नलगाड खोला, झिर्मेखोला क्याराभान हिराचन जेभीले कामको जिम्मेवारी २०७७ माघ २ गते लिएको थियो। उक्त पुल निर्माण गर्ने अन्तिम मिति सकिएर धैरै पटक म्याद थप्ने काम भइसकेको छ। त्यस्तै त्रातखोला, मैदेखोला, तासुखोलामा २०७७ माघ २ गते रायमाझी, क्याराभानले लिएको ठेक्काका पुल अलपत्र छन्। यो पटक भेरी करिडोरको पुरै टिम, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतका प्रमुख ज्ञानेन्द्र झा , मन्त्री सल्लाहकार हरिहर न्यौपानेले सहितको टिम गएर अनुगमण गरेका छौँ । अब हामी यी अलपत्र कामको विषयमा केही निर्णय लिइने छ । ”


त्यस्तै डोल्पाको सदरमुकाम दुनैबाट लासिक्याप सम्माको २५ किलोमिटर सडक समेत चार वर्ष सम्मा २० प्रतिशत काम भएको पाइएकाले यो विषयमा समेत आफू चिन्तित भएको उहाँले बताउनुभयो । काम नगर्ने तर ठेक्का मात्र लिने प्रद्धतीको अन्त्य हुनुपर्ने मन्त्री चौलागाइले जानकारी दिनुभयो । लासिक्याप हुँदै सिस्योल सम्माको ३३ केलोमिटर सडक नेपाली सेनालाई निर्माण जिम्मेवारी दिने निर्णय मन्त्रीपरिषदबाट भएपछि स्थलगत रूपमा अनुगमणमा आउनुभएका मन्त्री चौलागाइले काम नगर्ने भए ठाउँ खाली गर्न समेत निर्माण व्यवसायीलाई चेतावनी दिनुभयो । त्यस्तै जाजरकोटको तल्लु , डोल्पाको खदाङ र छलगाडमा समेत पुल निर्माणमा बाधा पुगेको भन्दै उहाँले यो समस्या तत्काल समाधान गरिने समेत जानकारी दिनुभयो ।


जाजरकोटको तल्लुबगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभी चितवनले ठेक्का पाएको थियो । २६ माघ २०७९ मा सम्झौता भएको थियो । खदाङमा पुल सुरु नभएको अवस्था रहेको छ । मन्त्री चौलागाइको सहभागितामा भएको छलफलबाट खदाङको समस्या हल भएसँगै पुल निर्माणको बाटो खुलेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताउनुभयो ।

भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाड देखि डोल्पाको मरिमसम्म २३१५ किलोमिटर लम्वाइ रहेको छ । भेरी करिडोरको जम्म लम्वाई ३१० किलोमिटर रहको छ । अहिले पासागाड –रिम्ना हुँदै तल्लु बगरसम्म पिचको काम अन्तिम चरणमा पुगेको छ। यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ ।अहिले एकाध ठाउँमा बेलिब्रिज बाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारबहन क्षमता भएका ट्रकहरु डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् ।


त्रिदेशीय मार्गको रूपमा विकास भएको यो सडक जति छिटो सम्पन्न हुन्छ , त्यति कर्णालीको विकास र संमृद्धिको आधार तयार हुने उहाँको भनाई रहेको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले अलपत्र आयोजनाका विषयमा सरोकारवालासँग पटक ,पटक छलफल भई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो ,“ निर्माण व्यवसायीसँग हामीले सर्वपक्षीय बैठक गरेर अन्तिम पटक चेतावनी दिँदै लिखित कागज गरेको छौँ । काम नगरेर विकासमा ढिला सुस्ती गर्दा डोल्पा जिल्लालाई विकासको मूलधारमा ल्याउन केही बाधा सिर्जना भएको छ । सरोकारवाला सबैले सकरात्मक खबरदारी गरिरहनुभएको छ ।”





error: Content is protected !!