कर्णालीमा राप्रपाकै हैसियतमा किन पुग्यो एमाले

सुर्खेत , २५ फागुन ः कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा एमालेको पक्षमा कमजोर मतदात भएको पाइएको छ । कर्णालीमा नेपाली काँग्रेस पहिलो र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोस्रो दल बनिरहदा नेकपा एमाले भने निकै कमजोर अवस्थामा पुगेको छ । काँग्रेसले पाँच र नेकपाले चार निर्वाचन क्षेत्रमा विजयी हुँदै गर्दा एमालेले एक सिटमा मात्र चित्र बुझाउनु परेको छ ।

आफूलाई कर्णालीमा बलियो सङ्गठन र मत रहेको दाबी गर्ने नेकपा (एमाले)को हैसियत कर्णालीमा राप्रपा बराबरको रहेको छ । कर्णालीबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सित जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सिट मात्र जितेको छ ।
नेपाली काँग्रेसले हुम्ला, मुगु, दैलेख– १, जाजरकोट र सुर्खेत– १ मा जितेको छ । हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग शाही, दैलेख– १ मा बासना थापा, जाजरकोटमा खडकबहादुर बिसी र सुर्खेत– १ मा विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । काँग्रेसका सुर्खेत– २ बाट लडेका नारायणकुमार कोइराला रास्वपासँग पराजित भए । सल्यानबाट लडेका जिल्ला सभापति केशबहादुर विष्ट, रुकुम पश्चिमबाट चुनावमा होमिएका राजु केसी, डोल्पाबाट पार्टीका सहमहामन्त्री कर्णबहादुर बुढा, कालीकोटबाट हर्ष बम नेकपासँग पराजित भएका छन् ।

जुम्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका दीपबहादुर शाही राप्रपासँग पराजित भए । दैलेख– २ बाट चुनावी मैदानमा होमिएका दिक्पालकुमार शाही एमालेसँग पराजित भए । २०७९ मा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई झिनो मतान्तरमा पराजित गरेका शाहीलाई यो चुनावमा उनैसँग हार बेहोर्नुपरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीले सल्यान, रुकुम पश्चिम, कालीकोट, डोल्पामा जितेको छ । डोल्पामा तत्कालीन समाजवादीका नेता धनबहादुर बुढा निर्वाचित भएका छन् । बुढाको यो चौथो जित हो । उनी २०७० यताका सम्पन्न सबै निर्वाचनमा विजयी हुँदै आएका छन् । विगतमा एमालेबाट चुनाव लड्दै आएका उनी पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा थिए । डोल्पामा चारपटक सांसद बन्न सफल भएका धनबहादुर र कर्णबहादुरबिच योपटक प्रतिस्पर्धा थियो । धनबहादुर र कर्णबहादुर सहोदर दाजुभाइ हुन् । दाजु कर्णबहादुर नेपाली कांग्रेसबाट लडेका थिए । उनी काँग्रेसका सहमहामन्त्री पनि हुन् । भाइसँग चुनाव लडेका उनी तेस्रो भए ।

यस्तै, नेकपाबाट कालीकोटमा महेन्द्रबहादुर शाही विजयी भएका छन् । प्रतिनिधिसभामा शाहीको यो तेस्रो जित हो । उनी २०७४ मा कर्णाली प्रदेशसभामा विजयी पहिलो मुख्यमन्त्रीसमेत बनेका थिए । नेकपाबाट रुकुम पश्चिममा गोपाल शर्मा र सल्यानमा रमेश मल्ल निर्वाचित भए । यी तीनै जना पूर्वमाओवादीका नेता हुन् । नेकपाबाट जाजरकोटमा शक्तिबहादुर बस्नेत, सुर्खेत– १ मा जितबहादुर राना, हुम्लामा डा. दीपेन्द्र रोकाया, दैलेखमा अम्मरबहादुर थापा, मुगुमा चन्द्रबहादुर शाही नेपाली कांग्रेससँग पराजित भए । जाजरकोटका बस्नेत २०७० यताका सबै निर्वाचनमा विजयी भएका थिए । यस पटक उनको सांसद बन्ने तेस्रो प्रयास असफल भएको छ । सुर्खेत– २ मा झकबहादुर मल्ल रास्वपा र जुम्लामा नरेश भण्डारी राप्रपासँग पराजित भए । दैलेख– २ मा योगेन्द्रबहादुर शाही एमालेसँग पराजित भए ।

राप्रपाको पनि कर्णालीबाटै साख जोखिएको छ । राजावादी दल राप्रपाले देशभर एउटा मात्र सिट जितेको छ । जुम्लाबाट सांसद दोहोरिएका राप्रपाका ज्ञानबहादुर शाहीले राप्रपाको साख जोगाएका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनले राप्रपाबाटै लडेर जुम्लामा जितेका थिए । त्यति बेला काँग्रेस–माओवादीको गठबन्धनलाई हायलकायल पारेर पहिलो प्रयासमै शाही सांसद बनेका थिए ।

देशभर लहर चलेका बेला पनि रास्वपाले कर्णालीका जिल्लामा खासै मत पाउन सकेन । सुर्खेत– २ रास्वपा जिल्ला सभापति रमेशकुमार सापकोटाले जित निकाले । उनले १४ हजार बढी मतान्तरले जित निकालेका छन् । सल्यान, सुर्खेत, दैलेखमा रास्वपाले सन्तोषजनक मत पाएको छ । यीबाहेक अन्य क्षेत्रमा रास्वपाका उम्मेदवारले अपेक्षाकृत मत प्राप्त गर्न सकेनन् । सल्यानमा उपविजेता बनेका रास्वपाका ललितकुमार चन्दले २० हजार ९०४ मत ल्याएका छन् ।

सुर्खेत– १ मा टेकबहादुर सिंहले १४ हजार ७२९ मत प्राप्त गरे । दैलेख– १ मा उम्मेदवार रहेका नन्द किशोर बस्नेतले ८ हजार १५१, दैलेख– २ मा बखतबहादुर शाहीले ६ हजार ७९७ र कालीकोटका उम्मेदवारले ३ हजार १०१ मत पाए । जुम्लाबाट गएको निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी विनिता कठायतले पनि अपेक्षाकृत मत प्राप्त गर्न सकिनन् । उनले ४२१ प्राप्त गर्दा डोल्पामा १८१, हुम्लामा १ हजार ६४, मुगुमा ५३० रुकुम पश्चिममा ४ हजार ७६ र जाजरकोटमा ४ हजार ४७१ मत रास्वपाका उम्मेदवारले पाएका छन् ।

कर्णालीमा गएका दुई निर्वाचनबाट एमालेको पक्षमा बलियो जनाधार रहेकोमा यो पटक भारी मात्रामा पराजय भएको छ । २०७४ मा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेको एमालेले प्रतिनिधिसभामा काँग्रेसलाई क्लिन स्वीप गरेको थियो । २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा १ लाख ८२ हजार ८४३ र प्रदेशभारमा १ लाख ६९ लाख ७५६ मत प्राप्त गरेको थियो । यो मत काँग्रेस र तत्कालीन माओवादी केन्द्रको तुलनामा निकै लोकप्रिय थियो । प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १२ मध्ये ६ सिट र प्रदेशसभामा ४० सिटमध्ये २० सिट जितेर कर्णालीमा पहिलो दल बनेको थियो एमाले । माओवादीले आधार इलाका दाबी गर्ने प्रदेशमा एमालेको यो साङ्गठनिक अवस्थालाई कमजोर भन्न सकिने अवस्था थिएन ।

२०७९ को आमनिर्वाचन परिणामलाई हेर्ने हो भने पनि एमालेले कर्णालीबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १ लाख ८३ हजार १३३ र प्रदेशसभामा १ लाख ८३ हजार ९५० मत पाएको थियो । उक्त निर्वाचनमा काँग्रेस–माओवादी र समाजवादीलगायतका पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको एमालेले सन्तोषजनक मत प्राप्त गरे पनि प्रतिनिधिसभातर्फका सबै सिट गुमाएको थियो । तर, समानुपातिकमा काँग्रेस, माओवादी केन्द्रभन्दा बढी मत एमालेले नै पाएको थियो ।

२०७९ को निर्वाचनमा कर्णालीमा शून्य भएको एमालेले यस पटक कम्तीमा पाँचवटा सिट जित्ने अपेक्षा गरेको थियो । तर, उसको पक्षमा एउटा सिट मात्र आएको छ । एमालेले दैलेख क्षेत्र नम्बर २ मात्रै जित निकाल्न सफल भयो । एमालेका लक्ष्मीप्रसाद पोखरेल यो क्षेत्रबाट निर्वाचित भएका छन् । अघिल्लोपटक उनैलाई हराएका काँग्रेसका दिक्पालकुमार शाही योपटक पराजित भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!