रास्वपाले कर्णालीबाट ‘वाचापत्र’ सार्वजनिक

सुर्खेत ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पाँचवर्षे चुनावी वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रास्वपाद्वारा आयोजित परिवर्तन उद्घोष सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल र वरिष्ठ नेता बालेन्द्र शाहले वाचापत्र सार्वजनिक गरेका हुन् ।

सुदुरपश्चिमबाट सुरु भएको रास्वपाको चुनावी अभियानको दोस्रो दिन कर्णालीमा आएर वाचापत्र सार्वजनिक गरिनुलाई राजनीतिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ । २०७९ सालमा सञ्चारकर्म छोडेर रास्वपा जन्माएका लामिछाने वाचापत्र सार्वजनिक समारोहमा कर्णालीका लागि बढ्ता रक्षात्मक देखिए । उनले पुराना दलको नाम लिएनन् तर खुलेर लोकतन्त्र जोगाउने लडाइँमा रास्वपा एक्लो उभिएको उद्घोष गरे । उनले सम्बोधनका क्रममा कर्णालीमा रोग, भोग, गरिबी र अशिक्षा व्याप्त हुनुको प्रमुख कारण नै पुरान दलको थाप्लोमा हाले ।
धेरैपटक अवसर पाएर पनि कर्णालीलाई आँखैअगाडि नर्क बनाउन खोजिएपछि रास्वपा जन्मिएको दाबी पनि उनले गरे । लामिछानेले लोकतन्त्रमाथि खतरा रहेको भनाइप्रति आपत्ति जनाउँदै लोकतन्त्रको असली संरक्षक जनता नै भएको दाबी गर्दै भने, ‘लोकतन्त्र जोगाउने ठेक्का कुनै नेता वा पार्टीले लिनु पर्दैन । जनता जागेपछि लोकतन्त्र बलियो हुन्छ ।’

उनले परिवर्तनका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो रोज्नुपर्नेमा जोड दिए । ‘रोडबाट होइन, भोटबाट परिवर्तन गरौँ, कर्णालीले हिंसात्मक द्वन्द्वको पीडा धेरै भोगिसकेको छ,’ उनले भने । उनले आगामी २१ फागुनको निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने अवसरका रूपमा चित्रण गरे । ‘निर्वाचन केवल मतदानको दिन होइन, देशको दिशा तय गर्ने दिन हो,’ उनले भने, ‘जनताले २१ फागुनमा अनुमोदन गरेर विश्वलाई देखाउनेछन् कि नेपाल अब अगाडि बढ्दै छ ।’
सभापति लामिछानेले बहुमतसहितको स्थिर सरकार आवश्यक रहेको बताउँदै रास्वपालाई स्पष्ट जनादेश दिन आह्वान गरे । पाँच वर्ष टिक्ने स्थायी सरकार नदिइए मुलुक फेरि अस्थिरतातर्फ जान सक्ने उनले औँल्याए । उनले घण्टी चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्दै भने, ‘उत्तर धेरैले दिएका छन्, अब समाधान दिने समय आएको छ । पाँच वर्षको स्थिर सरकारमार्फत देशलाई सही दिशामा लैजान हामी तयार छौँ ।’

रास्वपाले कर्णालीबाट किन वाचापत्र सार्वजनिक ग¥यो भन्ने विषयप्रति यतिबेला सर्वत्र चासो बढेको छ । रास्वपाले आफ्नो वाचापत्रको पहिलो बुँदामै राज्यको संरचना र नीतिका कारण पुस्तौँदेखि अन्याय र बहिष्करणमा परेका समुदायसँग औपचारिक रूपमा क्षमायाचना गर्ने उल्लेख गरेको छ । कर्णाली ऐतिहासिक रूपमै राज्यबाट सबैभन्दा बढी उपेक्षित र बहिष्करणमा परेको क्षेत्र भएकाले त्यहीँबाट नयाँ थिति बसाल्ने संकल्प गर्नुले विशेष अर्थ राख्छ । कर्णालीबाट वाचापत्र सार्वजनिक हुनुलाई कर्णालीमा रास्वपाको कमजोर उपस्थितिसँग पनि जोडिएको छ ।
गएको निर्वाचनमा रवि लामिछानेको राजनीतिक क्रेज अहिलेकै जस्तो थियो । तर, उसले कर्णालीबाट अपेक्षति मत पाउन नसकेको देखिन्छ । कर्णालीमा कमजोर सांगठनिक मत बढाउन रास्वपाले यो कदम लिएको हुन सक्ने बताइन्छ । कर्णालीका शहरी क्षेत्रमा रास्वपाको पक्षको जति माहौल छ, त्यो ग्रामीण भेगमा देखिँदैन ।
अन्य प्रदेशमा जनलहर राम्रो देखेको रास्वपाले मिहिनेत गरे कर्णालीबाट केही स्थानमा जित हासिल गर्न सकिने रणनीतिका साथ अघि बढेको देखिन्छ । रास्वपाले कर्णालीबाट जित निकाल्न सकिने क्षेत्रको रूपमा सुर्खेत– २ लाई राखेकाले पनि वाचापत्र कर्णालीबाट सार्वजनिक भएको हुन सक्ने कतिपयको बुझाइ छ ।
प्राकृतिक सम्पदाले धनी कर्णाली सदियौँदेखि पछाडि पारिएको तितो सत्यलाई ढाल बनाएर रास्वपाले परम्परागत राजनीतिक दलहरूको वर्चस्व तोडेर आफ्नो उपस्थिति बलियो बनाउन यस्तो रणनीति लिएको देखिन्छ । वाचापत्र सार्वजनिक गर्ने स्थान कर्णाली रोजे पनि रास्वपाको पाँचवर्षे रोडम्यापमा भने कर्णालीको नाम कतै पनि समावेश छैन ।
वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आजसम्म कुनै पनि राजनीतिक नेतृत्वले कर्णालीको गहिराइ बुझ्न नसकेको बताए । पार्टीद्वारा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘देशको सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा र विशाल गाउँपालिकाहरू भएको कर्णालीको गहिराइ आजसम्म कसैले सही रूपमा बुझ्न सकेन, त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो ।’
बालेनले डोल्पामा पाइने बहुमूल्य यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने तर कर्णालीका स्याउजस्ता कृषि उत्पादन देशभर सहजै नपुग्नु विडम्बना भएको टिप्पणी गरे । कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउने नीति लिइने उनले दाबी गरे । सिंजा सभ्यताको संरक्षणमा जोड दिँदै उनले भने, ‘सिंजा उपत्यकालाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा त्यहाँको भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्राको संरक्षण गरेर सभ्यता जोगाउनु भनेको इतिहास र पहिचान जोगाउनु हो ।’
उनले कर्णालीमा अझै पनि भोकमरी, बालमृत्युदर र मातृमृत्युदर उच्च रहेको विषय उठाए । कर्णालीमा गरिबीलाई भोग्ने जनता धेरै छन्, तर त्यसलाई सही रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको उनको दाबी थियो । ‘कर्णालीका जनताको सपना अब हाम्रो सपना हो, रास्वपाले कर्णालीबाट परिवर्तनको यात्रा सुरु गरेको छ,’ शाहले भने ।
कस्तो छ रास्वपाको वाचापत्र ?
रास्वपाले आगामी २१ फागुनमा हुन लागेका प्रतिनिधिसभा निर्वाचनको पूवसन्ध्यामा नीतिगत रूपान्तरणका एक सय आधारहरू समेटिएको आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । थिति बसाल्ने सङ्कल्प नारा दिइएको दस्तावेजमा सुशासन, आर्थिक सुधार र डिजिटल क्रान्तिलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
वाचापत्रमार्फत राज्यका कारण पुस्तौँदेखि अन्याय र बहिष्करणमा परेका दलित समुदायसँग नयाँ सरकार प्रमुखको पहिलो सम्बोधनमार्फत औपचारिक रूपमा क्षमायाचना गरिने प्रतिबद्धता जनाइएको छ । उच्चस्तरीय भ्रष्टाचार छानबिन बनाएर २०४६ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने कडा नीति लिइने रास्वपाको वाचापत्रमा उल्लेख छ ।
राज्यका निकायहरूमा दलीय भ्रातृ संगठन र ट्रेड युनियनको अन्त्य गर्ने रास्वपाको नीति छ । पार्टी प्रमुखको पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने र आफन्तलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ । सरकारी सेवाहरू लाइनमा नभई अनलाइनमार्फत प्रवाह गरिने र १० वर्षभित्र सूचना प्रविधि निर्यातलाई ३० अर्ब डलर पु¥याउने लक्ष्य रास्वपाको वाचापत्रले राखेको छ ।
सातवटै प्रदेशमा डिजिटल पार्क निर्माण गरी ५ लाख रोजगारी सिर्जना गर्ने योजना रास्वपाले अघि सारेको छ । यस्तै, आगामी पाँच वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै प्रतिव्यक्ति आय ३ हजार डलर नघाउने संकल्प वाचापत्रमा गरिएको छ ।
सहकारी र लघुवित्त क्षेत्रको समस्या समाधान गर्न एकीकृत बचत सुरक्षा कोष स्थापना गरी साना बचतकर्ताको रकम १ सय दिनभित्र फिर्ता गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद र सांसद मन्त्री नहुने व्यवस्थाका लागि बहसपत्र तयार गरी राष्ट्रिय सहमति खोज्ने वाचा रास्वपाले गरेको छ । वाचापत्रले नेपाललाई सम्मानजनक मध्यम–आय भएको मुलुक बनाउन जग बसाल्ने दाबी रास्वपाको छ ।







