पुराना दलबाट लाभ लिँदै ,रास्वपा बाट उम्मेदवार बन्दै

सुर्खेत ः आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारका आकांक्षीको नाम पठाउन जिल्ला कमिटीलाई निर्देशन गर्यो । पार्टी केन्द्रको निर्देशनबमोजिम एमाले दैलेखले क्षेत्र नम्बर १ बाट एक महिलासहित पाँच जनाको नाम सिफारिस गर्यो ।
नाम सिफारिस भएकाहरूमा रवीन्द्रराज शर्मा, रत्नबहादुर खड्का, तेजबहादुर चन्द, नन्दकिशोर बस्नेत, लीला बीसी थिए । सिफारिस भएकाहरूमध्ये रवीन्द्रराज शर्माले टिकट पाउने निश्चित थियो । दैलेखको एमाले राजनीतिमा लामो समय काम गरेका शर्माले टिकट पाउनुपर्नेमा अगुवा नेता तथा कार्यकर्ताले एमाले हेडक्वार्टरसम्मै आवाज पुर्याएका थिए ।
शर्माले अन्य आकांक्षीलाई मनाइसकेका थिए । तर, सिफारिस भएकाहरूमध्ये नन्दकिशोर बस्नेतले मानेका थिएनन् । बस्नेतको असन्तुष्टिका बाबजुद शर्माले टिकट पाए । शर्मालाई टिकट दिएको झोकमा बस्नेतले एमाले परित्याग गरेको घोषणा गरे । उनले एमाले मात्रै त्यागेनन्, आफूलाई पुरानाको विकल्प ठान्ने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को टिकट लिएर आए । टिकट नपाएको झोँकमा रास्वपा प्रवेश गरेका बस्नेत उनै व्यक्ति हुन्, जसले एमालेबाट लामो समय अवसर लिएका छन् । रास्वपाले एमाले, कांग्रेस, नेकपालाई पुराना दलको संज्ञा दिइरहेको बेला बस्नेत एमालेबाट रास्वपामा गएर झन् नयाँ बनेका छन् ।
सुरक्षा निकायबाट सेवानिवृत्त भएका बस्नेतले व्यवसायीको परिचय बनाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा बस्नेत नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा दुई कार्यकाल अध्यक्ष बन्ने मौका पाए । यति मात्रै होइन, एमालेको जोडबलमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकसमेत बनेका थिए बस्नेत ।
चुनावी प्रचारका क्रममा रहेका बस्नेतले आफू भारी मतले विजयी हुने दाबी गर्छन् । मतदातासँग भोट माग्ने क्रममा उनले पुराना दलले निकै फन्डा मच्चाउन खोजेको आरोप लगाउने गरेका छन् । तर, पपुलिस्ट राजनीतिक लहरलाई मतपेटिकासम्म लैजान भने निकै चुनौती रहेको शिलापत्रसँगको कुराकानीमा उनले स्वीकारे ।
‘पुराना दलले निकै फन्डा मच्चाइरहेका छन्,’ उनले भने, ‘यसबाट जनतालाई कसरी सजग गराउने भन्ने छ । हामीले अहिले विकासका नाममा भोट मागेका छैनौँ । पुराना दलले बिगारेको सिस्टममाथि हिट गर्ने रास्वपाको नीति हो ।’
भर्खरै एमाले छोडेको बिर्सिएर उनले पुराना दल र नयाँ दलबीच निकै ग्याप रहेको सुनाए । उनी रास्वपामा लागेपछि दुई पूर्वसहकर्मीहरू बस्नेत र एमालेका रवीन्द्रराज शर्माबीच भोट खोसाखोस हुने आकलन गरिएको छ । दैलेख– १ बाट नेपाली कांग्रेसले बासना थापा र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले अमरबहादुर थापालाई चुनावी मैदानमा उतारेको छ । दैलेखमा संगठनका हिसाबले एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । यहाँ रास्वपाको उपस्थिति भने कमजोर छ ।
यस्तै, दैलेख– २ मा पूर्वमाओवादी पृष्ठभूमिका बखतबहादुर शाही रास्वपाका उम्मेदवार छन् । माओवादी भएकै कारण उनी विद्युत् उत्पादन कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भई काम गरेका व्यक्ति हुन् । शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेल, कांग्रेसका दिक्पालकुमार शाही र नेकपाका योगेन्द्रबहादुर शाहीसँग प्रतिस्पर्धा गर्नेछन् ।
ऋन् न्चयगउ
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा पनि पुराना दलमा लामो समय काम गरेका नेताहरू नै उम्मेदवार बनेका छन् । सुर्खेत– १ बाट उम्मेदवार बनेका टेकबहादुर सिंह नेपाली कांग्रेसको जिल्ला उपसभापति भएर काम गरिसकेका नेता हुन् ।
उनी २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । तर, तत्कालीन एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका ठम्मरबहादुर विष्टसँग सिंह पराजित भएका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्टले १५ हजार ३ सय ५२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले १५ हजार १ सय ३२ मत प्राप्त गरेका थिए ।
कांग्रेसका एक नेताका अनुसार सिंह पनि कांग्रेसले धेरै अवसर दिएका नेता हुन् । सुखेत– १ कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको क्षेत्र भएकाले यो क्षेत्रलाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ । २०४८ सालयता एकबाहेक सबै निर्वाचनमा अविजित रहेका खड्का यसपटक चुनावी मैदानबाट बाहिरिँदा उनका सहोदर भाइ विष्णुबहादुर खड्का र रास्वपाका सिंहबीच प्रतिष्ठाको लडाइँ हुने आकलन छ । यद्यपि, सांगठनिक रूपमा कांग्रेसका सामु सिंहलाई जित निकाल्न भने निकै मुस्किल देखिन्छ ।
सुर्खेत– १ मा एमालेका ध्रुवकुमार शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का रविकिरण हमाल, उज्यालो नेपाल पार्टी ९उनेपा० का ठम्मर विष्टसहित १३ जना चुनावी मैदानमा छन् ।
यस्तै, सुर्खेत– २ बाट उम्मेदवार बनेका रमेशकुमार सापकोटा पनि पूर्वकांग्रेस पृष्ठभूमिका नेता हुन् । उनी विशेष महाधिवेशनबाट विगठन भएको कांग्रेसको वीरेन्द्रनगर नगर समितिको सचिव थिए । उनी केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए ।
सापकोटा नाम चलेका यातायात व्यवसायी हुन् । लामो समय कार्णालीको यातायात क्षेत्रमा एकछत्र राज गरेका सापकोटा कांग्रेसनिकट यातायात व्यवसायीबीच चलेको अन्तरसंघर्षका कारण रास्वपामा लागेका थिए । पहिलोपटक संसदीय निर्वाचनमा होमिएका सापकोटा रास्वपाका सुर्खेत जिल्ला सभापतिसमेत हुन् ।
सुर्खेत– २ मा पनि पूर्वकांग्रेस सापकोटा र कांग्रेसका युवानेता नारायण कोइरालाबीच भोट तानातान हुने देखिन्छ । यो क्षेत्र रास्वपाले जित्न सकिने क्षेत्रका रूपमा राखेकाले अन्य दलका सामु चुनौती छ । सुर्खेत– २ बाट एमालेका कुलमणि देवकोटा, नेकपाका झकबहादुर मल्ल, राप्रपाका कविराम पुरीलगायत १७ जना चुनावी मैदानमा छन् ।
आगामी निर्वाचनका लागि उम्मेदवार बनेका कर्णालीका अन्य जिल्लाका अधिकांश उम्मेदवार पनि कांग्रेस, एमाले र माओवादी पृष्ठभूमिका छन् । जो पार्टीमा रहँदा लामो समय अवसर लिएका छन् तर अहिले रास्वपामा प्रवेश गरेर आफू झन् नयाँ भनेर भोट मागिरहेका छन् ।







