कर्णालीको विकटतामा समृद्धिको खोजी, आशाको केन्द्रमा मुख्यमन्त्री शाही

हेमन्त केसी
सुर्खेत , १० कात्तिक ः साविकको कर्णालीका दुर्गम बस्तीमा अहिले एउटा अपेक्षा बलियोसँग देखिन थालेको छ । आफ्नै भूगोल, समस्या र सम्भावना बुझेको नेतृत्वले यस क्षेत्रको विकासमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही पुगेपछि मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका बासिन्दामा यस्तो आशा बढेको स्थानीयको भनाइ छ।

वर्षौंदेखि भौगोलिक विकटता, कमजोर सडक सञ्जाल, सीमित पूर्वाधार र राज्यको न्यून लगानीको समस्या झेल्दै आएका साविकको कर्णालीवासीले मुख्यमन्त्री शाहीको नेतृत्वलाई विकासको नयाँ अवसरका रूपमा हेर्न थालेका छन्। उनीहरूको अपेक्षा केवल नेतृत्वमा आफ्नै क्षेत्रको प्रतिनिधित्व हुनुमा सीमित छैन। दुर्गम भूगोलका वास्तविक समस्या बुझेर समाधानका लागि प्रदेश सरकारमार्फत पहल हुनु र संघीय सरकारसम्म यहाँका आवाज प्रभावकारी रूपमा पुग्नु उनीहरूको मुख्य चाहना हो।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीका रूपमा शाहीले यसअघि गरेका कामको सकारात्मक प्रभाव परेको हुम्ला अदानचुला–३ का मनराज परियारको भनाई रहेको छ । अहिले मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेपछि साविकको कर्णालीका बासिन्दामा भावनात्मक भरोसा पनि बढेको देखिन्छ। यद्यपि, यो भरोसालाई दिगो बनाउन विकासका क्षेत्रमा देखिने परिणाम आवश्यक छ।

नेतृत्वमा आफ्नोपन, विकासमा परिणामको अपेक्षा
साविकको कर्णाली भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्र हो। हुम्लाको हिल्सा र कैलाश मानसरोवर यात्राको मार्ग, मुगुको रारा ताल, जुम्लाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान, डोल्पाको शे गुम्वा ,फोक्सुण्डो ताल र उपल्लो डोल्पाको मौलिक जीवनशैली यस क्षेत्रका महत्वपूर्ण सम्भावना हुन्। कालिकोट पनि प्राकृतिक स्रोत, जलविद्युत् र पर्यटनका दृष्टिले सम्भावनायुक्त जिल्ला हो।
तर सम्भावना र उपलब्धिबीचको दूरी अझै ठूलो छ। सडकको कठिन पहुँच, महँगो ढुवानी, स्वास्थ्य सेवाको सीमितता र बजारसम्म पुग्नुपर्ने कठिनाइले यहाँको आर्थिक गतिविधिलाई अपेक्षित गति दिन सकेको छैन। पर्यटनको सम्भावना भए पनि भरपर्दो यातायात, पूर्वाधार र सेवाको अभावले त्यसबाट स्थानीयले पर्याप्त लाभ लिन सकेका छैनन्।

स्थानीय बासिन्दाका अनुसार राज्यले योजनाबद्ध रूपमा लगानी बढाउने हो भने अहिले विकट मानिएका यी भूगोलमा आर्थिक समृद्धिको आधार निर्माण गर्न सकिन्छ । प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटन, जलविद्युत्, कृषि र स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके दुर्गमतालाई नै विकासको बाधक बनाइरहनुपर्ने अवस्था नरहने स्थानीयबासीको भनाई रहेको छ ।
त्यसैले मुख्यमन्त्री शाहीप्रतिको अपेक्षा व्यक्तिगत वा क्षेत्रीय प्रतिनिधित्वको खुसीमा मात्रै सीमित छैन। साविकको कर्णालीले लामो समयदेखि भोग्दै आएको विकासको असन्तुलन घटाउन उनको नेतृत्वले कस्तो भूमिका खेल्छ भन्ने चासोसमेत यससँग जोडिएको छ।
सडक सञ्जाल ः सम्भावना खोल्ने मुख्य आधार
साविकको कर्णालीको विकासमा सडक पूर्वाधारलाई सबैभन्दा महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। सुर्खेतबाट दैलेख, कालिकोट हुँदै मुगु र हुम्लाको हिल्सासम्म पुग्ने सडक तथा सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई जोड्ने सडक सञ्जालले यस क्षेत्रको आवागमन, व्यापार र पर्यटनलाई नयाँ दिशा दिने भरोसामा मार्ग रहदै आएको छ ।

यी सडक केवल यात्रु ओसारपसार गर्ने माध्यम होइनन् । स्थानीय उत्पादन बजारसम्म पु¥याउने, बिरामीलाई सहज रूपमा अस्पताल लैजाने, निर्माण सामग्री ढुवानी गर्ने र पर्यटकीय गन्तव्यमा पर्यटकको पहुँच बढाउने आधार पनि हुन्। चीनसँगको सीमा क्षेत्र हिल्सा र नाक्चेलाग्नातर्फको पहुँच विस्तार हुन सके सीमावर्ती व्यापार र पर्यटनका सम्भावना पनि बढ्न सक्ने अर्को भरोसा रहेको छ ।

तर सडकको नाममा ट्र्याक खोल्नु मात्रै पर्याप्त हुँदैन। निर्माणाधीन खण्डलाई समयमै पूरा गर्ने, वर्षायाममा अवरुद्ध हुने सडकको नियमित मर्मत गर्ने, आवश्यक पुल निर्माण गर्ने र सडकलाई भरपर्दो बनाउने काम उत्तिकै महत्वपूर्ण छन् । साविकको कर्णालीका बासिन्दाले मुख्यमन्त्री शाहीबाट यस्ता अधुरा कामलाई प्राथमिकतामा राख्ने अपेक्षा गरेका छन्।
मुख्यमन्त्री शाहीले पनि कर्णाली राजमार्गलाई सम्भावनाको राजमार्गका रूपमा व्याख्या गर्दै यस क्षेत्रका विभिन्न स्थानमा ठूला जलविद्युत् आयोजना निर्माण तथा निर्माण प्रक्रियामा रहेको बताएका छन्। कालिकोट, मुगु , डोल्पा र हुम्लामा जलविद्युत् आयोजनासम्बन्धी काम अघि बढिरहेको उनको भनाइ छ।
जलविद्युत्, सडक र पर्यटनलाई एकीकृत ढंगले अघि बढाउन सके साविकको कर्णालीको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। तर त्यसका लागि आयोजना निर्माणको गति, लगानीको प्रभावकारिता, स्थानीय सहभागिता र प्रत्यक्ष लाभको सुनिश्चितता आवश्यक हुन्छ।
कार्यक्रममा सुनिन थालेका अपेक्षा
मुख्यमन्त्री शाहीको पछिल्लो क्षेत्रीय भ्रमणका क्रममा स्थानीयले आफ्ना अपेक्षा सार्वजनिक रूपमा राख्न थालेका छन्। हुम्लाको अदानचुलीमा आयोजित कार्यक्रममा सहभागीहरूले कर्णालीका समस्या समाधान गर्न मात्रै नभई यहाँको वास्तविक अवस्था बुझेर संघीय सरकारसम्म प्रभावकारी रूपमा आवाज पु¥याउन आग्रह गरेका थिए।
त्यस्तै, मुगुको खत्याड गाउँपालिकामा आयोजित देउडा प्रतियोगितामा पनि स्थानीयले मुख्यमन्त्री शाहीलाई कर्णालीको कुशल अभिभावकका रूपमा प्रस्तुत गर्दै यहाँका समस्या समाधानमा सक्रियता बढाउन आग्रह गरेका थिए। सांस्कृतिक कार्यक्रम र जनसमुदायसँगको संवादमार्फत स्थानीयले विकासका माग राख्नुले नेतृत्वप्रतिको अपेक्षा र आफ्ना समस्या सुनाउने चाहनालाई देखाउँछ।

खत्याडलगायतका दुर्गम बस्तीमा सडक अवरुद्ध हुँदा स्थानीयले भोग्नुपरेको सास्ती, स्वास्थ्य सेवामा पहुँचको कठिनाइ र पूर्वाधार निर्माणको सुस्त गतिजस्ता विषय तत्काल सम्बोधन हुनुपर्ने माग उठिरहेको छ। स्थानीयका लागि विकास भनेको बजेटको घोषणा मात्रै होइन, दैनिक जीवनमा अनुभूत गर्न सकिने सहजता पनि हो।
यस दृष्टिले मुख्यमन्त्री शाहीको क्षेत्रीय भ्रमणलाई स्थानीय समस्या बुझ्ने र प्राथमिकता निर्धारण गर्ने अवसरका रूपमा लिन सकिन्छ। जनतासँग प्रत्यक्ष संवाद गरेर संकलन गरिएका समस्या योजनामा समेटिए भने यस्ता भ्रमणले नीतिगत निर्णयलाई स्थानीय आवश्यकतासँग जोड्न सहयोग पु¥याउन सक्छन्।
साविकको कर्णालीबाट सरकारमा उल्लेखनीय प्रतिनिधित्व
संयोगवश अहिले कर्णाली प्रदेश सरकारमा साविकको कर्णालीका जिल्लाबाट उल्लेखनीय प्रतिनिधित्व रहेको छ। मुख्यमन्त्री शाहीसहित सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल मुगुका, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) हुम्लाका र आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई जुम्लाका हुन्।
यसले साविकको कर्णालीका समस्या र आवश्यकतालाई सरकारभित्र उठाउने अवसर बढाएको छ। दुर्गम जिल्लाका विकास चुनौतीसँग परिचित नेतृत्व र मन्त्रीहरूबीच समन्वय हुन सके नीति निर्माण, बजेट विनियोजन र आयोजना कार्यान्वयनमा क्षेत्रका आवश्यकता समेट्न सहज हुन सक्छ । तर सरकारमा प्रतिनिधित्व हुनु र त्यसको प्रत्यक्ष लाभ नागरिकसम्म पुग्नु फरक कुरा हुन्।
प्रदेश सरकारको बजेट र अधिकारको सीमालाई ध्यानमा राख्दै संघीय सरकारसँग समन्वय गर्ने, उपलब्ध स्रोतलाई आवश्यकताका आधारमा प्राथमिकता दिने र आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने काम महत्वपूर्ण हुन्छ ।
साविकको कर्णालीका बासिन्दाले नेतृत्वको हैसियतमा पुगेपछि कामको परिणाम देख्न चाहेका छन्। उनीहरूको अपेक्षा मुख्यमन्त्री र मन्त्रीहरू आफ्नै क्षेत्रका भएकाले मात्रै होइन, लामो समयदेखि समाधान हुन नसकेका समस्याले अब प्राथमिकता पाउनुपर्छ भन्ने हो।
भरोसालाई विकासको परिणाममा बदल्ने चुनौती
साविकको कर्णालीको विकासका लागि अहिले देखिएको भरोसा एउटा सकारात्मक आधार बन्न सक्छ। तर भावनात्मक विश्वासलाई वास्तविक उपलब्धिमा बदल्न योजनाबद्ध लगानी, स्पष्ट प्राथमिकता र प्रभावकारी कार्यान्वयन आवश्यक छ।
पहिलो प्राथमिकता सडक पहुँच र यातायातलाई भरपर्दो बनाउनु हो। दोस्रो, स्वास्थ्य तथा शिक्षाका आधारभूत सेवा सहज बनाउनु आवश्यक छ। तेस्रो, पर्यटन र जलविद्युत्का सम्भावनालाई स्थानीय रोजगारी तथा आयआर्जनसँग जोड्नुपर्छ। चौथो, कृषि उत्पादन, जडीबुटी र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्छ। यी क्षेत्रलाई छुट्टाछुट्टै आयोजना बनाएर मात्रै होइन, एकअर्काका पूरक हुने गरी अघि बढाउन सके विकासको प्रभाव व्यापक हुन सक्छ।
त्यसका साथै दुर्गम क्षेत्रका आयोजना छनोट गर्दा जनसंख्या र तत्कालको प्रतिफललाई मात्रै आधार नबनाई भौगोलिक कठिनाइ, सेवा पहुँचको अवस्था र नागरिकले बेहोर्नुपरेको लागतलाई पनि महत्त्व दिनुपर्छ। दुर्गम क्षेत्रमा सडक वा स्वास्थ्य संस्था निर्माणको लागत बढी पर्न सक्छ, तर त्यसबाट नागरिकले पाउने लाभ पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ।
मुख्यमन्त्री शाहीका लागि यो अवसरसँगै चुनौती पनि हो। आफ्नै भूगोलका समस्या बुझ्ने नेतृत्व हुनु सकारात्मक पक्ष हो, तर त्यसलाई संस्थागत निर्णय, पर्याप्त बजेट र समयमै सम्पन्न हुने आयोजनामार्फत प्रमाणित गर्नुपर्नेछ। साविकको कर्णालीका नागरिकले पनि अब आश्वासनभन्दा कामको प्रगति र त्यसबाट आफ्नो जीवनमा आएको परिवर्तन हेर्न चाहेका छन्।
राज्यको पर्याप्त लगानी, प्रभावकारी समन्वय र दीर्घकालीन योजनाले अहिले विकट मानिएका भूगोललाई आर्थिक गतिविधिको केन्द्र बनाउन सक्छ। पर्यटन, जलविद्युत्, कृषि र सीमावर्ती व्यापारको सम्भावनालाई सडक तथा अन्य आधारभूत पूर्वाधारसँग जोड्न सके साविकको कर्णालीको विकासले नयाँ गति लिन सक्छ।
अहिले बढेको भरोसालाई अवसरका रूपमा उपयोग गर्न सके मुख्यमन्त्री शाहीको नेतृत्व साविकको कर्णालीका लागि महत्त्वपूर्ण मोड बन्न सक्छ। त्यसका लागि आवश्यक छ—दुर्गम भूगोललाई प्राथमिकतामा राख्ने नीति, बजेटमा त्यसको प्रतिबिम्ब र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कामको परिणाम।











