कर्णालीमै पहिलो पटक सिपमा आधारित सिकाइ मेला

सुर्खेत , ७ फागुन ः कर्णाली प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट सिपमा आधारित सिकाई मेला सञ्चालन गरिएको छ । सुर्खेत बीरेन्द्रनगर स्थित सिद्धपाइला विद्यालयले सिपमा आधारित सिकाई मेला सञ्चालन गरेको हो । मेलामा विद्यालयले परम्परागत रुपमा सञ्चालनमा रहेका औजारहरु प्रयोग गर्ने तरिकाहरु सिकाएको थियो ।

सिपमा आधारित सिकाई मेलामा खाना बनाउने तरिका तथा बिभिन्न परम्परागत औजारको प्रयोग तथा प्रर्दशन गरेको थियो । लोप हुँदै गरेका सामग्रीहरुद्धारा समाजमा भइरहेको विकासका विषयमा भौतिक सामग्रीको प्रस्तुतीबाट सिकाई गरिएको थियो । मेलामा ढिकी , जाँतो , ठेकीमा मोही बनाउने तरिका , फलामका भाडाकुडा बनाउने तरिका , खानाका परिकारहरु बनाउने विधि प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो । विद्यालयमा बनाएको परिकारको खरिद तथा विक्री समेत गरिएको थियो । अर्गानिक खानाहरु निर्माण गरेर विक्री समेत गरिएको छ ।

सेलरोटी , कोदोको रोटी ,सिस्नु रोटी , आलुबाट निर्माण हुने परिकारहरु बनाएको थियो । टपरीमा खानाहरु विक्री गर्नका लागि टपरी निर्माण गर्ने सिप सिकाइका साथै खानाहरु टपरीमा विक्री गरिएको छ । आधुनिक रुपमा प्रयोग हुने बिभिन्न उपकरण समेत प्रर्दशनी गरिएको छ । कर्णालीमा उत्पादन हुने ओखर , स्याउ , तथा अन्य दालजन्य बस्तुको विक्री वितरण गर्न स्टल नै राखिएको छ । उक्त कार्यक्रममा ५ सय भन्दा बढी अभिभावक तथा बालबालिकाले सक्रिया रुपमा प्रयोगात्मक कार्यमा सहभागी हुनुका साथै आर्थिक रुपमा लाभ समेत उठाएका छन् । विद्यालयका प्रधानाध्यापक नैनसिंह खत्रीले यो कार्यक्रमबाट पढेर मात्र होइन , परेर पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने उदाहरण दिएको बताउनुभयो ।

हामी प्रयोगात्मक रुपमा धेरै कुरा सिक्ने र जीवनलाई सरलिकृत गर्ने अभियानमा रहेको समेत बताए । डिग्री पढेको भनि हामी जानकारी दिन्छौँ तर खाना बनाउन समेत आउदैन भने त्यो पढेको के अर्थ भयो उनले भने । हामीले विगतको संस्कार ,संस्कृतीलाई संरक्षण गर्नुका साथै नयाँ आधुनिक विश्वमा आफूलाई जानकार बनाउनु पर्ने दायित्व आएको समेत बताए ।

आफूले उत्पादन गरेका बस्तुलाई सही ढंगबाट प्रयोग गर्न जान्नु पनि सिपको विकास भएको बताए । खाना जानेर भन्दा पनि खाना नजानेर धेरैलाई समस्या आएको उनको भनाई रहेको छ । कर्णाली अर्गानिक उत्पादनको महत्वपूर्ण क्षेत्र भएपनि निर्माण गर्ने तरिका तथा सिपको अभावमा दुनियाँको प्रयोगशाला भएको उनको भनाई रहेको छ । विद्यालयमा पढाउनु मात्र ठुलो कुरा नभई सिप सहित ज्ञान दिएर भावी पुस्तालाई समेत विगत ,बर्तमानबारे अवगत गराउदै आधुनिक विश्वसँग प्रतिस्पर्धा गराउने नागरिक तयार गर्नु अहिलेको दायित्व भएको उनको भनाई रहेको छ । उनले भने जस्तै कार्यक्रममा सबै सिपको प्रर्दशनी मात्र नभई अभ्यास समेत भारी मात्रामा गरिएको थियो ।
बालबालिकाले अभिभावकसँग खाना बनाएर विक्री गर्दै आर्थिक रुपमा समेत लाभ उठाएका थिए । सहर बजारमा नपाइने परम्परागत औजारहरुको प्रर्दशनीले विगतमा पुर्खाहरुले गरेका कठिन दिनको संर्घष समेत झल्किएको थियो । अहिलेको विकाससँगै विगतमा भएाक संर्घषका कथाहरु आजको प्रर्दशनीमा झल्किने गरेको थियो ।







