मतदाताहरु पोल माग्छन् ः सात वर्ष देखि जाजरकोटमा काँग्रेस नेता ठेकेदारले काम गर्दैनन


जाजरकोट, ६ फागुन ः जाजरकोटका गाउँ ,गाउँमा पुगेका प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई मतदाताले मागै माग राख्ने गरेका छन् । सबै भन्दा बढी विद्युतीकरण ,सडक आयोजनाहरुको माग बढी आउने गरेको पाइन्छ । पूवगृहमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचका उम्मेदवार शक्तिबहादुर बस्नेत ,काँग्रेसको तर्फबाट उम्मेदवार भएका खडकबहादुर बुढा , नेकपा एमालेका उम्मेदवार डम्वरबहादुर सिंहलाई जनताले मागहरु राख्ने गरेका छन् ।
समयमै लगाएको ठेक्काको काम पुरा भएको भए जनताका मागहरु समेत कम हुने देखिन्छ । जिल्लाका चार ठाउँमा निर्माणधिण ३३ केभी प्रशारण लाइनको सव स्टेशन निर्माणमा ढिलाई हुँदा सहायक मार्गबाट पोल गाडेर विद्युतीकरण गर्न स्थानीयबासीले मागै माग राख्ने गरेका छन् । विद्युतको प्रशारण लाइन निर्माण गर्न सात वर्ष अगाडी लगाएको ठेक्काको काम पुरा नभएपछि स्थानीयबासीद्धारा सहायक मार्गबाट पोल गाडेर विद्युत बाल्ने भन्दै विद्युतीय सामग्रीको माग बढीरहेको छ । सहायक मार्गबाट लिइएको लाइनमा समेत कम पावर आउदा अर्को समस्या आउने गरेको गुनासो आएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख राजेन्द्र लाल देवले जानकारी दिए ।

अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ ।
प्राधिकरणले ठेकेदारलाई छिटो लाइन विस्तारदेखि पोल गाड्ने काम गर्न आग्रह गर्दा सुनेर पनि नसुनेझैँ गरी बसेको बताएको छ । जिल्लाको सातै वटा स्थानीय तहमा दुई वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएर थालिएको काम बीचमै ठेकेदारले काम नगर्दा ठूला योजना अलपत्र परेका छन् ।ठेक्का सम्झौता भएको छ महिनाभित्र निर्माण पूरा गर्ने भनिए पनि लामो समय सम्मा काम पुरा नहुँदा प्राधिकरणले ताकेता गर्दागर्दा हैरान भएको बताउँदै आएको छ । काम अलपत्र पार्ने निर्माण व्यवसायीले लिएका काम अहिलेसम्म जति भएको छ, ती सबै मापदण्डविपरीत भइरहेको पाइएको कार्यालयले जनाएको छ । सामान्य कामसमेत मापदण्डभित्र नरहेको प्राधिकरणको गुनासो छ । जाजरकोटी जनताको घरदैलोमा विद्युत् छिटोभन्दा छिटो पुर्याउने लक्ष्यलाई निर्माण व्यवसायीका कारण दिनदिनै पछाडि धकेलिँदै गएको छ ।

सात वर्ष सम्मा २० प्रतिशत काम
पश्चिम जाजरकोटको छेडागाड ,शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि खोलिएको ठेक्काको काम अझैँ पुरा नहुँदा समस्या भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य तथा निर्माण व्यवसायी शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवाले आर्थिक वर्ष २०७५/७६ मा लिएका ठेक्काको काम पुरा नगर्दा पश्चिम जाजरकोटमा विद्युत सञ्चालन हुन सकेको छैन ।
बस्नेतले छेडागाडको मनघाट देखि दशेरा हुँदै दैलेखको सिमाना सुवाडा सम्माको कामको जिम्मेवारी लिएपनि हाल सम्मा काम पुरा नगर्दा विद्युतीकरणमा समस्या भएको हो । हाल सम्मा उक्त काम मनघाट देखि वडावन सम्मा मात्र भएको छ । त्यस्तै छेडागाडको बडावन देखि जुनिचाँदे गाउँपालिका सम्मा प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएको भएपनि हाल सम्मा वडावन देखि सुवानाउली सम्मा मात्र काम भएको छ । प्रशारण लाइन निर्माण गर्न लिइएको पोलहरु लथालिङग अवस्थामा पुगेको अवस्था रहेको कार्यालय प्रमुख देव लालले बताए ।
त्यस्तै तत्कालिन जिल्ला समन्वय समितिका सदस्य तथा काँग्रेस जाजरकोटका सचिव तेजविक्रम शाहले (शाहीबाबा कन्स्ट्रक्शन) लिएको ठेक्काको काम समेत नहुँदा पुर्वी जाजरकोटमा विद्युतीकरण हुन सकेको छैन । उनले लिएको पाँच ठाउँको ठेक्काको काम अझैँ अलपत्र परेको छ । आर्थिक वर्ष २०७५/ ७६ मा लिएको ठेक्काको काम अझैँ पुरा हुन नसकेको अवस्था छ ।

कुशेको पाँचकाटिया देखि खुर्पा समकोट सम्माको विद्युतीकरणको जिम्मेवारी लिएका शाहले हाल सम्मा मुस्किलले पाँचकाटिया देखि ढिमे सम्मा मात्र काम गरेको कार्यालयले जनाएको छ । त्यस्तै कुशेको पाँचकाटियाबाट नलगाड नगरपालिकाको किटनी हुँदै कालिमाटी सम्मा विद्युतीकरण गर्नका लागि निर्माण गर्ने भनिएको प्रशारण हाल सम्मा कालिमाटी देखि कैना सम्मा भएको छ ।
अन्य काम बाँकी नै रहेको छ । त्यस्तै अर्को नलगाडको दल्ली देखि खनटाकुरा बारेकोट सक्ला सम्मा प्रशारण लाइन निर्माण गर्नुपर्ने भएपनि यो काम हाल सम्मा कालिमटी देखि घ्वारा ,बाउसीखोला सम्मा मात्र भएको छ । जो काम २० प्रतिशत पनि नभएको कार्यालयले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७६/ ७७ मा शाही बाबाले नै बारेकोट गाउँपालिकामा विद्युतीकरण गर्नका लागि बारेकोटको सक्ला देखि पालिकाको लिम्सा सम्मा प्रशारण लाइन निर्माण गर्न लिइएको ठेक्काको काम हुन नसकेको कार्यालय प्रमुख लाल देवले बताए । सामग्री दिएर पनि काम नगर्दा निर्माण व्यवसायीहरूले दुःख दिएको प्राधिकरणको भनाइ छ ।
काँग्रेस नेता शाहले नेपाल विद्युत प्राद्यिकरणले काम छिटो गर्न भन्दै पत्र लेखेपनि पत्र बुझन नमान्दा हुलाक मार्फत पत्र पठाउनु परेको कार्यालय प्रमुख लाल देवले बताए । अब कार्यालयले ठेक्का किन नतोडने भनेर पत्र लेख्नुपर्ने अवस्था आएको उनले बताए । उत्ता निर्माण निर्माण व्यवसायी शाहले नलगाड नगरपालिकाको वडा नम्वर १ मा काम पुरा भएको बताए । अन्य काम बाँकी रहेको स्वीकार गर्दै चैत सम्मा काम पुरा गर्ने बताए ।







