कर्णालीमा राप्रपाले बनायो ज्ञानेन्द्रदेखि कुन्ती शाही र जेनजी अभियन्तासम्मलाई उम्मेदवार

सुर्खेत ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णालीका सबैजसो क्षेत्रमा उम्मेदवार उठाएको छ । यसअघि सांसद भएका र चिनिएका अनुहारलाई राप्रपाले मैदानमा उतारेको हो । जस अन्तर्गत सल्यानमा अनिशा नेपाली उम्मेदवार बनेकी छिन् । उनी यसअघि राप्रपाबाटै समानुपातिक सांसद थिइन् ।
यस्तै डोल्पा हरिप्रसाद डाँगी, मुगुमा बल बहादुर मल्ल उम्मेदवार बनेका छन् । जुम्लामा पुनः ज्ञानेन्द्र शाहीनै उम्मेदवार बनेका छन् ।
०७९ को प्रतिनिधि सभा चुनावमा शाही जुम्लाबाट २२ हजार ८१९ मत ल्याएर निर्वाचन जितेका थिए । राप्रपाले कालिकोटमा सूर्यबहादुर शाह, जाजरकोटमा कृष्ण विक्रम शाह र दैलेख—१ मा पुनः कुन्ती कुमारी शाहीलाई उम्मेदवार बनाएको छ । शाही ०७९ मा चुनाव लडेर पराजित भएकी थिइन् । राप्रपाको महामन्त्री समेत रहिसकेकी उनी चर्चित महिला नेतृ हुन् ।
यस्तै दैलेख—२ मा बविता शाही, सुर्खेत—१ मा जेनजी अभियन्ता रवि किरण हमाल उम्मेदवार बनेका छन् । यस्तै सुर्खेत—२ मा कविराम पुरी र रुकुम पश्चिममा गोपाल खड्कालाई राप्रपाले टिकट दिएको छ ।







