विद्युत् अभावले कोल्ड स्टोर प्रयोग विहीन, कृषक सस्तो मूल्यमा स्याउ बेच्न बाध्य

मुगु ः कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष ०६७/०७७ मा ४० लाख रुपैयाँको लागतमा छायाँनाथ रारा नगरपालिका–४, ताल्चामा निर्माण गरिएको आधुनिक उपकरणसहितको कोल्ड स्टोर विद्युत् समस्याका कारण प्रयोगविहीन अवस्थामा रहेको छ। छायाँनाथ रारा नगरपालिका–४ र ५ नम्बर वडालाई स्याउ जोनका रूपमा विकास गर्ने उद्देश्यले उक्त कोल्ड स्टोर निर्माण गरिएको हो।

कृषकले उत्पादन गरेका स्याउ लामो समयसम्म भण्डारण गरी उचित मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्य रहे पनि वैकल्पिक विद्युत् व्यवस्था नहुँदा कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन। २० टन क्षमताको उक्त कोल्ड स्टोर सञ्चालनमा नआउँदा यस क्षेत्रका स्याउ कृषकहरू उत्पादन लागतसमेत नउठ्ने गरी सस्तो मूल्यमा स्याउ बेच्न बाध्य भएका छन्। सुरुमा गमगाड जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति हुँदा कोल्ड स्टोर सञ्चालनमा रहे पनि राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोल्टेज नपुग्दा उपकरण सञ्चालन हुन नसकेको हो।

कोल्ड स्टोरका सञ्चालक हरि भामका अनुसार मासिक चार हजार रुपैयाँभन्दा बढी विद्युत् महसुल तिर्नु परे पनि हाल जडान गरिएको विद्युत् पाँच मिनेट पनि टिक्दैन। ʻकोल्ड स्टोर सञ्चालनका लागि २४ घण्टा विद्युत् आवश्यक पर्छ,ʼ उनले भने, ʻअहिलेको अवस्थाले लाखौँ रुपैयाँका मेसिन र उपकरण बिग्रिने जोखिममा छन्।ʼ भामका अनुसार नियमित सञ्चालनका लागि सोलार प्रविधि नै एकमात्र विकल्प हो। तर सोलार प्रणाली जडान गर्न २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएकाले स्थानीय स्तरबाट सम्भव नभएको उनले बताए।

कृषि कार्यालय मुगुका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले कोल्ड स्टोर निर्माण भएको जानकारी भए पनि सञ्चालनमा नआउनुको कारणबारे आफूलाई औपचारिक जानकारी नभएको बताए। ʻहालसम्म कुनै पनि पक्ष समस्या लिएर कार्यालयमा आएको छैन,ʼउनले भने। सञ्चालनमा नआउनु भनेको विधुतकै कारण हुन सक्ने उनले बताए।

ताल्चा क्षेत्रका करिब २ सयभन्दा बढी कृषक स्याउ खेतीमा निर्भर छन्। यहाँ उत्पादन हुने स्याउ स्वादमा उत्कृष्ट मानिन्छ। तर भण्डारणको अभावमा असोज–कार्तिकमै प्रतिकेजी ३० देखि ५० रुपैयाँमा स्याउ बेच्नुपर्ने बाध्यता रहेको स्याउ कृषक बाच्या महत्तारा बताउँछन्। ʻकोल्ड स्टोर चलेको भए प्रतिकेजी १०० देखि १५० रुपैयाँमा ताल्चा विमानस्थलमै दैनिक बिक्री गर्न सकिन्थ्यो,ʼउनले भने।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, गमगढीका अनुसार यस वर्ष जिल्लाबाट २ सय १० मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा निर्यात भएको छ। यद्यपि, यो वर्ष ताल्चाका कृषकहरूको स्याउ उत्पादनमा अपेक्षाकृत कम भए पनि जिल्लाबाट निर्यात भएको कुल स्याउमध्ये करिब आधा हिस्सा ताल्चा क्षेत्रकै भएको बताएका छन्।





error: Content is protected !!