८५ वटा नयाँ भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारद्धारा स्रोत सहमति

सुर्खेत / कर्णाली प्रदेश सरकारले ८५ वटा नयाँ भौतिक संरचना निर्माण गर्न स्रोत सुनिश्चित गरेको छ । चालु आर्थिक वर्षमा निर्माण कार्य सुरु गर्नका लागि स्रोत सुनिश्चित गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता प्रेमहादुर वलीले जानकारी दिनुभयो ।
२० वटा पक्की पुल , ४८ वटा झोलुङ्गे पुल , १६ वटा सडक र १ वटा बेलिब्रिज पुल निर्माण गर्नका लागि स्रोत सुनिश्चित भएको छ । सुर्खेतमा चार वटा सडक , सात वटा पक्की पुल , पाँच झोलुङ्गे पुल निर्माण गर्न स्रोत सुनिश्चित गरिएको छ । जाजरकोटमा दुई वटा सडक , छ वटा पक्की पुल , तीन वटा झोलुङ्ेपुल र एक वटा बेल्रिब्रिज पुल निर्माण गर्न स्रोत सुनिश्चित गरिएको छ । दैलेखमा १ वटा सडक , दुई वटा मोटरेवल पुल , १० वटा झोलुङगेपुल निर्माण गर्न स्रोत सुनिश्चित गरिएको छ । रुकुम पश्चिममा १ वटा सडक , तीन वटा पक्की पुल र १ वटा झोलुङगे पुल निर्माण गर्न बजेट सुरक्षित गरिएको छ । मुगुमा १ सडक , नौ वटा झोलुङपुल निर्माण हुने भएका छन् ।
त्यस्तै सल्यानमा १ वटा सडक , १ वटा मोटरेवल पुलका लागि बजेट सुरक्षित गरिएको छ । जुम्लामा १ सडक , चार झोलुङेपुल निर्माण गर्नका लागि बजेट सुनिश्चित गरिएको प्रवक्ता वलीले जानकारी दिनुभयो । हुम्लामा १ सडक , चार वटा झोलुङ्गे पुल निर्माण गर्न बजेट सुनिश्चित गरिएको छ ।
कालिकोटमा १ सडक , पाँच वटा झोलुङगे पुल निर्माण हुने भएका छन् । डोल्पामा तीन वटा सडक , दुई वटा पक्की पुल , सात झोलुङगे पुलका लागि बजेट सुनिश्चित गरिएको छ । १०९ वटा आयोजनाको स्रोत सुनिश्चित गर्नुपर्नेमा हाल सम्मा ८५ वटा आयोजनाको स्रोत सुनिश्चित भएको वलीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा नै बोलपत्र आह्वान गरेर काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।








