डिभिजन वन कार्यालय सल्यानले निकुन्जसँग माघ मार्ने आदेश सहजिकरण गर्न आग्रह

सुर्खेत ः सल्यानको डिभिजन वन कार्यालयले बाघ मार्ने आदेश कार्यान्वनका लागि सहजिकरण गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गरेको छ । कालिमाटी गाउँपालिकाभित्र बाघ मानव बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिने, घरपालुवा पशु मार्ने तथा स्थानीयलाई असुरक्षित बनाएको भन्दै गाउँपालिकाले डिभिजन वन कार्यालय सल्यानलाई बाघ मार्ने आदेश जारी गर्न पत्राचार गरेको थियो । उक्त पत्राचार पछि डिभिजन वनले निकुन्जलाई पत्राचार गरेर माघ मार्ने आदेश कार्यान्वयनका लागि आवश्यक सहयोग तथा सहजिकरण गर्न आग्रह गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासमा एक हप्ताको अवधिमा बाघको आक्रमणमा परेर तीन जनाले ज्यान गुमाइसकेका छन् । पुस २३ गते बाघले कालीमाटीको सीमा क्षेत्र सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका वडा नं–५ गेरुवानीका ५७ वर्षीय बासिन्दा गङ्गादेवी सारु मगरको ज्यान लिएको थियो । यस्तै पुस २५ गते कालिमाटी–७ मा ४२ वर्षीय धनसरी रावत र पुस २९ गते मङ्गलबार वडा नम्बर–६ हात्तीढुङ्गामा ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो ।
उक्त घटनाले मानव जीवनलाई अति खतरामा पारेको, स्थानीय नागरिकहरूलाई दैनिकीका लागि अत्यन्त असहज स्थिति सिर्जना गरेको, विभिन्न क्षेत्रमा किसानको गोठमा पुगेर बाघले गाईवस्तु मारेर खाएको उल्लेख गर्दै गाउँपालिका डिभिजन वनलाई पत्राचार गरेर बाघलाई मार्ने वा अन्य सुरक्षित तरिकाबाट नियन्त्रण गर्ने आदेश तत्काल जारी गर्न अनुरोध गरिएको हो । सोही अनुरोधका आधारमा डिभिजन वन कार्यालय निकुन्जको साथ खोजेको हो ।
बाघको आक्रमणका कारण स्थानीय नागरिक त्रसित अवस्थामा बस्न बाध्य भएको र यसले राज्यको नागरिकको जीवन रक्षा गर्ने दायित्वमाथि प्रश्न खडा गरेको गाउँपालिकाको भनाइ छ । वन्यजन्तु संरक्षण आवश्यक भए पनि नागरिकको जीवन रक्षा प्राथमिक दायित्व भएको उल्लेख गर्दै दुवै पक्षबिच सन्तुलन कायम गर्न आग्रह गरेको हो ।
“जोखिमपूर्ण अवस्थालाई यथाशीघ्र नियन्त्रण नगरेमा थप मानवीय क्षति हुने प्रबल सम्भावना रहेको स्पष्ट देखिन्छ । त्यसैले मानव बस्तीमा प्रवेश गरी पटक पटक मानवीय क्षति पुर्याइरहेको उक्त बाघलाई तत्काल मार्ने घोषणा गरी नियन्त्रण, स्थानान्तरण वा आवश्यक परे अन्तिम व्यवस्थासमेत गर्न सकिने गरी बाघ मार्ने आदेश अविलम्ब जारी गरिदिनुहुन सिफारिस साथ अनुरोध छ’’, अध्यक्ष केसीले बन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ । यस विषयमा सम्बन्धित वन कार्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।

यसअघि मङ्गलबार नै कालीमाटी गाउँपालिकाले एक विज्ञप्ति सार्वजनिक गर्दै बाँके राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको निरन्तर आक्रमणका कारण निर्दोष नागरिकहरुले अकालमा ज्यान गुमाउन परेको घटनाप्रति ध्यानाकर्षण गराएको थियो ।
कालीमाटीको वडा नम्बर ६ र ७ आसपास क्षेत्रमा वन्यजन्तु आरक्षण स्थापना भएपश्चात् बस्ती नजिकैसम्म वन्यजन्तुको आवागमन बढ्दै जानु, दिनानुदिन आक्रमणका घटनाहरु दोहोरिनु र त्यसबाट मानवीय क्षति हुनु अत्यन्तै गम्भीर विषय रहेको उल्लेख थियो ।
गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार तथा बाँके राष्ट्रिय निकुञ्जको सम्बन्धित निकायलाई यस विषयमा अत्यन्त गम्भीर रुपमा लिई वन्यजन्तु नियन्त्रण, सुरक्षित बस्ती व्यवस्थापन, प्रभावकारी सुरक्षा संयन्त्रको स्थापना तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको थियो ।
साथै गाउँपालिकाले वन्यजन्तु आक्रमणबाट बच्नका लागि नागरिकहरुलाई जङ्गल प्रवेश गर्दा सावधानी अपनाउन, सम्भव भएसम्म समूहमा मात्र आवतजावत गर्न अपिल गरेको छ ।








