बारेकोट गाउँपालिकाद्धारा सडक स्तरोन्नती सुरु

हेमन्त केसी
जाजरकोट ः जाजरकोटको बारेकोट गाउँपालिकाले पालिका भित्रका सडकको स्तरोन्नती गर्ने काम सुरु भएको छ । कच्ची कटान भएको ठाउँमा सडकलाई व्यवस्थित बनाउनका लागि स्तरोन्नतीको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिनुभयो ।
हाल बारेकोट गाउँपालिका दुई वटा ठुला सडकबाट जोडिने गर्दछ । भेरी करिडोर सडक सञ्जालबाट दुई ठाउँमा जोडिने बारेकोट गाउँपालिका हाल आन्तरिक सडकहरुको स्तरोन्नती गर्न तर्फ अगाडी बढेको छ । केही सडकहरु ठेक्का लगाएर काम गर्न लागेको छ भने केही उपभोक्ता समिति मार्फत काम सुरु गरेको अध्यक्ष गिरीले जानकारी गराउनुभयो ।
बारेकोट गाउँपालिका–३ को मुलसाम सम्म सडकको काम गर्न गर्नका लागि ३ करोड रुपैयामा काम सुरु गरिएको छ । पालिकाको केन्द्रबाट लिम्साबाट मुल्साम सम्मा सडकको काम गर्नका लागि उक्त बजेट व्यवस्थापन गरेर काम सुरु भएको हो । मुल्साम सबै भन्दा विकट बस्तीको रुपमा रहेको छ । यही ठाउँबाट जुम्ला समेत जाने आउने गरिन्छ । मुल्सामबाट जुम्लाको टोप्ला जोडनका लागि बीचको हिमाल पार गर्नुपर्ने अवस्था रहेको छ ।
त्यस्तै पालिकाको विकट बस्तीको रुपमा रहेको वडा नम्वर ६ को घर्तिगाउ –धुमा सम्मा सडक निर्माण गर्नका लागि १ करोड रुपैयाँ बिनियोजन गरेर काम सुरु गरिएको छ । यो पनि पालिकाको मुकामसँग जोडनका लागि निर्माण हुन लागेको सडक रहेको छ । पालिकाको सदरमुकाम लिम्सा– छेडा रामिडाडा सडक स्तरोन्नति गर्न १ करोड बजेट बिनियोजन भई काम पनि सुरु भएको छ । यो महत्वकाँक्षी सडकका रुपमा लिइन्छ ।
त्यस्तै वडा नम्वर ४ र ५ को घाट बालुवा गोठगाउ जिरी सडक स्तर उन्नति गर्नका लागि १ करोड बजेट छुट्याएर काम भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर २ को रोकायगाउ , ध्यारगाउ , अयर्ना ,पछ्याउरी सडक स्तर उन्नति १ करोड रुपैयाँमा ठेक्का समझौता गरि काम सुरु भएको पालिकाले जनाएको छ । अध्यक्ष गिरीले भने ,“काम सुरु भएसँगै सबैले चासो राखिदिनु होला । स्थानीयको रचनात्मक खवरदारी विना विकास निर्माणका कामहरु भरपर्दो तथा प्रभावकारी नहुने अवस्था छ । जनसहभागिताले नै हाम्रा विकास निर्माण कामहरु दिगो हुने गर्छन । ”
त्यसै गरि पालिकाले नै चालु आर्थिक वर्षमा काउली– करुका सडक स्तर उन्नतिको काम समेत थालेको छ । सडकको काम गर्न उपभोक्ता समितिले सम्झौता गरेर कामको सुरुवात हुन लागेको पालिकाले जनाएको छ । त्यस्तै कार्किज्युला –सुवाकोट सडक स्तर उन्नतिको काम समेत सँगसँगै सञ्चालन भएको छ । बुढागाउँ बेर्ना सडक स्तर उन्नतिको जनसहभागितामा भइरहेको उहाँले बताउनुभयो ।
प्रकृतिक रुपमा सुन्दर रहेको बारेकोट जडीबुटीको लागि समेत धनी रहेको छ । सबै ठाउँमा सडकको सहज पहुँच भएमा मात्र बारेकोटको विकास तथा संमृद्धिमा नयाँ ढोका खुल्ने विश्वास लिइएको छ । बारेकोट नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको बाध स्थल रहेको क्षेत्र पनि हो । माथिल्लो भागमा हिमाल तथा पाटन क्षेत्रले घेरिएको बारेकोट तल्लो क्षेत्रमा बाक्लो बस्ती रहेको छ । उत्तरतर्फ डोल्पा , उत्तर दक्षिण तर्फ जुम्ला रहेको छ । लुम्बिनी –रारा राजमार्गबाट आउने सहायक सडकले बारेकोट जोडने गर्दछ भने भेरी करिडोर हुँदै नलगाड जलविद्युत आयोजनाको बाध स्थलबाट बारेकोट गाउँपालिका जोडेर जुम्ला जाने सडकको काम समेत जारी रहेको छ । यि सबै सडको विचमा बारेकोट गाउँपालिका पर्दछ ।
बारेकोट बिकट समेत रहेको छ । हिमालको काख देखि बेसी सम्मा जोडिएको बारेकोट फरक फरक हावापानी पाइन्छ । माथिल्लो भागमा ठुला ठुला हिमपातलहरु रहेका छन् । धार्मिक पर्यटन समेत त्यतिकै रहेको छ । अहिले स्तरोन्नती हुने सडकहरुले बारेकोटको संमग्र विकासमा प्रभाव पार्ने अपेक्षा लिएका स्थानीयबासीका लागि ठुलो राहत हुने सम्भावना रहेको छ । पालिका भित्रका सडकहरुको कच्ची कटान भएका ठाउँमा अब सोही सडकलाई थप विकास गर्न थालिएपछि स्थानीयबासीहरु खुसी भएका छन् । पर्यटकीय सम्भावना भारी मात्रामा बोकेको बारेकोट प्रकृतिक स्रोतले समेत भरीपूर्ण रहेको छ ।







