त्रिपुरासुन्दरीको खदाङमा स्थानीय र प्रहरीबीच झडप – एक व्यक्ति बेपत्ता, स्थिति तनावग्रस्त

डोल्पा ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङमा स्थानीय र प्रहरीबीच झडप भएको छ। शनिबार अपराह्न स्थानीय र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–५ छेप्के पुलको घुम्तीमा प्रहरी चौकी करबगाडबाट खटिएको प्रहरी टोलीले चेकप्वाइन्टमा राखी सवारी साधन तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा एक व्यक्ति भागेर बेपत्ता भएपछि विवाद सुरु भएको थियो ।

शुक्रबार साँझ करिब ५ः३० बजेको समयमा त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ निवासी ३४ वर्षीय जुन रोकाय प्रहरी टोलीलाई देखेर भागी बेपत्ता भएपछि आक्रोशित स्थानीयले खदाङस्थित इलाका प्रहरी चौकी करवगाड घेराउ गरेको त्रिपुरासुन्दरी ६ का वडा अध्यक्ष देवेन्द्र चलाउनेले जानकारी दिए ।

स्थानीय करिब २०० जनाको सहभागितामा प्रहरी चौकी घेराउ गरिएपछि स्थानीय र प्रहरीबीच भनाभन तथा झडप भएको जनाइएको छ। झडपपछि अवस्था तनावग्रस्त बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

उक्त ठाउँमा तनाव ग्रस्त हुँदा स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नं ४६ गुल्म हेक्वा, डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षक धिरेन्द्र बहादुर बडुवाल तथा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी नायब उपरीक्षक रुक बहादुर खड्काको नेतृत्वमा सुरक्षा टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

हाल घटनास्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउँदै अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!