डोल्पामा राजनीतिक संयोग ः एकै घरका दाजुभाइ छुट्टा छुट्टै पार्टीबाट सिफारिस

डोल्पा ः नेपाली कम्युनिस्ट पार्टी डोल्पाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फको उम्मेद्वारमा धन बहादुर बुढाको एकल नाम सिफारिस गरेको छ ।
नेकपा डोल्पाको आज बिहीवार बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि बूढाको एकल नाम सिफारिस गरेको संयोजक धर्मजित बोहोरा ‘विस्फोट’ ले रंगीन पाटीलाई जानकारी दिए। बूढा डोल्पादेखि यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा समेत प्रतिनिधि सभामा विजयी भएका निवर्तमान सांसद हुन्। उनी तत्कालिन नेकपा एस पार्टीका नेता हुन् ।
उनले संघीय सरकारको सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन्। उता नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि कर्ण बहादुर बुढाको एकल नाम सिफारिस गरिसकेको छ । अझै रोचक त के छ भने नेकपाले सिफारिस गरेका धनबहादुर र कांग्रेसले सिफारिस गरेका कर्ण बहादुर एउटै घरका दाजु भाइ समेत हुन् । दुवै पार्टीले यी दाजुभाइलाई सिफारिस गरेसँगै आगामी निर्वाचनमा डोल्पामा निकै प्रतिस्पर्धा हुने देखिन्छ ।
हुन त विगतका चुनावमा पनि यी दुइ दाजुभाइको एकल नाम सिफारिस नगरिएको भने होइन। सधै डोल्पाको राजनीति यी दुई दाजुभाइको वरिपरि घुमिरहे पनि अन्तिममा एकले अर्कोलाई समर्थन गर्दै आइरहेको छन् ।एकै घरका दाजुभाइको नाम फरक फरक पार्टीबाट आगामी निर्वाचनको लागि सिफारिस भएसँगै डोल्पामा राजनीतिक रोचक हुने देखिएको छ ।







