दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

डोल्पा ः डोल्पाको सदरमुकाम दुनैलाई व्यवस्थित बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले दुनैलाई व्यवस्थित बनाई पूर्वाधारको विकास गर्न लागेको पूर्वाधार विकास कार्यालय ,डोल्पाका प्रमुख टेक हितानले जानकारी दिनुभयो ।
भेरी नदीको किनारमा रहेको दुनै बजारलाई सबै कुराले सुविधा,सम्पन्न बनाउनका लागि प्रदेश सरकारले स्रोत सुनिश्चित गरेपछि केही दिनमै प्रक्रियागत कामहरु सुरु हुने भएका छन् । दुनैमा ढलनिकासका कामहरु , भेरी नदी वारीपारी दुईवटा सडकलाई व्यवस्थित बनाइने कामका साथै बजारबाट हेलिप्याड सम्मा जानका लागि सडक निर्माण , नयाँ निर्माण भएको बेलिब्रिजसँग जोडिएका सडकहरु निर्माण , सदरमुकाम दुनैको भित्री बाटोहरु निर्माण गर्ने लक्ष्य राखिएको छ । १६ करोड रुपैयाँमा यि सबै काम हुन लागेको उनले बताए । अव्यवस्थित दुनै बजारलाई व्यवस्थित बनाएर विकास भव्य पूर्वाधार निर्माण गर्न पहल सुरु भएको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेर पूर्वाधार विकास कार्यालय ,डोल्पालाई जानकारी गराइसकेको छ । यो चालु आर्थिक वर्षमा रु ४ करोड बिनियोजन भएको छ । हाल पुलबाट अस्पताल जानका लागि बेलिब्रिज पुल निर्माण भएपनि सडक नहुँदा समस्या हुँदै आएको छ । त्यस्तै भित्री बजारमा जान र आउन साँघुरो बाटो भएकाले सहज रुपमा यात्रा गर्न मुस्किल हुने गरेको छ । जथाभावी ढल निकास भेरी नदीमा हाल्दा भेरी नदीको पानी फोहोर भई आलोचना हुँदै आएको छ ।
डोल्पाको सदरमुकाम देखि टाढा रहेको बसपार्क सम्मा जान र आउनका लागि समेत सडक साँघुरो हुँदा समस्या हुँदै आएको छ । अहिले सदरमुकामा भेरी नदी पारी अर्थात अस्पताल , खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुँदै कारागार सम्मा पुग्ने सडक र अर्को भेरी पारी सदरमुकामको बीच भाग कालिका मन्दिर देखि खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय सम्मा जाने अर्को सडक रहेको छ । त्यस्तै कालिका मन्दिर देखि बजारको छेउँबाट जैरीगाड जलविद्युत आयोजना हुँदै बसपार्क सम्मा जाने अर्को सडक रहेको छ । यि सबै सडक निर्माण गरेर ढल विकासको काम समेत हुने कार्यालय प्रमुख हितानले जानकारी दिनुभयो ।
अहिले दुनै बजार अव्यवस्थित हुँदा व्यवस्थापनमा समस्या हुँदै सदरमुकाम कुरुप बनेको छ । सदरमुकाम बजार दुनैलाई व्यवस्थित बनाई सुविधा सम्पन्न बनाउनका लागि प्रदेश सरकारले काम सुरु गरेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालयले नै दुनैको कालिका मन्दिर देखि अस्पताल जोडनका लागि भेरी नदीमा बेलिब्रिज पुल निर्माण गरेसँगै आवतजावतमा सहजता हुँदै आएको छ । वर्षायाममा भेरी नदीको पानीको बहाब बढेसँगै दुनै बजारमा त्रास समेत बढने गरेको छ । सो त्रासलाई समेत यो योजनाले हल गर्ने छ । पालिकाको मुकाम जुफाल भएसँगै डोल्पाको सदरमुकाम ओझेल पर्दै आएको थियो । सदरमुकाम दुनै हुँदै उपल्लो डोल्पामा सडक जाने गर्दछ ।
दुनै डोल्पा जिल्लाको सदरमुकाम भएकाले यहाँ जिल्ला प्रशासन कार्यालय, अदालत, प्रहरी कार्यालय, निर्वाचन कार्यालय लगायतका सरकारी निकायहरू रहेका छन्। यसले जिल्लाको प्रशासनिक कामकाज सहज बनाएको छ। दुनै ठूली भेरी नदीको किनारमा अवस्थित छ। यो स्थान डोल्पाका विभिन्न गाउँ–बस्तीलाई जोड्ने मुख्य केन्द्रका रूपमा रहेको छ । जसले आवागमन र सम्पर्कलाई सहज बनाउँछ। दुनै डोल्पाको प्रमुख व्यापारिक केन्द्र हो । यहाँ बजार, होटल, पसल र सेवामूलक संस्थाहरू रहेकोले वरपरका बासिन्दा दैनिक आवश्यकताका लागि यहीँ निर्भर छन्।
दुनैमा माध्यमिक विद्यालय, क्याम्पस तथा स्वास्थ्य चौकी÷अस्पताल जस्ता संस्थाहरू रहेका छन्। यसले दुर्गम क्षेत्रका नागरिकलाई शिक्षा र स्वास्थ्य सेवामा पहुँच पु¥याएको छ। दुनै विभिन्न जातजाति र संस्कृतिको संगमस्थल हो। यहाँ हुने मेलापर्व, सामाजिक गतिविधि र स्थानीय परम्पराले जिल्लाको सामाजिक एकता झल्काउँछ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र फोक्सुण्डो ताल जस्ता प्रमुख पर्यटकीय गन्तव्यतर्फ जाने यात्रुहरूका लागि दुनै मुख्य प्रवेश बिन्दु हो।
हेमन्त केसी–––







