कर्णालीका पूर्वमाओवादी नेताहरूको ‘कन्तबिजोग’

सुर्खेत ः नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशका पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरू पराजित भएका छन् । तत्कालीन नेकपाको उत्कर्षका बेला माओवादी केन्द्र परित्याग गरी सांसद पदको समेत आहुति दिएर एमाले रोजेका धर्मराज रेग्मी र ठम्मर विष्ट दुवै जना केन्द्रीय सदस्यमा पराजित भएका हुन् ।
उनीहरूलाई एमालेका प्रतिनिधिहरूले पत्याएनन् । दैलेख निर्वाचन क्षेत्र नम्बर–१ (१) बाट २०७४ मा माओवादी केन्द्रको तर्फबाट चुनाव जितेका धर्मराज एमाले प्रवेश गरेसँगै माओवादीको कारबाहीमा परी सांसद पदमुक्त भएका थिए । उनी एमाले प्रवेश गरेपछि कर्णालीमा नेता यामलाल कँडेल निकट मानिन्छन् । सोही निकटता र समीकरणका आधारमा यस पटक उनलाई अध्यक्ष केपी ओलीकै प्यानलबाट खुला केन्द्रीय सदस्यको टिकट दिइएको थियो, तर नेतृत्वको साथ र आधिकारिक टिकट पाउँदा समेत उनी निर्वाचित हुन सकेनन् ।
यसअघि एमालेको कानुन विभागमा रहेर काम गरिसकेका र केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता रेग्मीले जम्मा ९९२ मत मात्रै प्राप्त गरेर पराजित भए ।
यस्तै अर्का पूर्वमाओवादी नेता विष्टको अवस्था पनि फरक रहेन । सुर्खेत निवासी विष्टले तत्कालीन नेकपा उत्कर्षपछि कर्णाली प्रदेश सभा सदस्य पद त्याग गर्दै एमाले प्रवेश गरेका थिए । उनी २०७४ मा सुर्खेत १ क बाट माओवादीका तर्फबाट प्रत्यक्ष चुनाव लडेर जितेका थिए । केन्द्रमा अध्यक्ष ओलीनिकट मानिएको चर्चा भए पनि ओली समूहको आधिकारिक सूचीमा उनी अटाउन सकेनन् । आधिकारिक सूचीमा नाम नपरेपछि उनले अर्को पक्ष ईश्वर पोखरेल समूहमा नाम समावेश गराएका थिए ।
विष्टले कर्णाली प्रदेश भूगोलतर्फ सुर्खेत १ ९१० बाटै केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । यसअघि केन्द्रीय सदस्य रहेका विष्टले ८७५ मत मात्र पाएर पराजित भए ।
आधिकारिक सूचीमा नाम नआएपछि विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोख्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेका थिए । वर्षभरि पार्टी काममा खटिँदा पनि नेतृत्वले बेवास्ता गरेको गुनासो उनले गरेका थिए ।
उनले लेखेका थिए, ‘३६५ दिनमै फिल्डमा अहोरात्र खट्दा पनि नेतृत्वको आँखा हठात अन्यत्रै मोडिनु दुर्भाग्यपूर्ण घटना त हुँदै हो, तर पनि सही र गलत छुट्ट्याउन सक्ने सम्पूर्ण २३०० मतदाताले नै मेरो पक्षमा मत जाहेर गर्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु ।’
उनले पार्टी नेतृत्वको आधिकारिक लिस्टमा नाम नहुँदा नहुँदै पनि मतदाताको विवेकमाथि विश्वास गरेर चुनावी मैदानमा होमिएको बताएका थिए ।
विष्टले यसअघि सुर्खेत क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा समेत असन्तुष्टि जनाएका थिए । प्रतिनिधि छनोट गर्दा एमाले नेता यामलाल कँडेल समूहले एकलौटी गरेको भन्दै उनले ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए ।







