दुई वर्षदेखि स्याउ किसानले पाएनन् बिमा रकम

जुम्ला ः जुम्लाका किसानले स्याउ बिमाको रकम दुई आर्थिक वर्षदेखि पाएका छैनन् । स्याउको बिमा गरेको दुई आर्थिक वर्ष वितिसक्दा विपदले पुर्याएको क्षतिको दाबी भुक्तानी नगरेको भन्दै उनीहरु आक्रोशित छन् ।
जुम्लाको तातोपानी गाउँपालिकाका स्याउ किसानहरु संगठित भएर बिमा वापतको रकम माग गर्दै आन्दोलनमा उत्रिएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले आर्थिक वर्ष २०८०/०८१ र आर्थिक वर्ष २०८१/०८२ मा गरेको स्याउ बिमाबापतको क्षतिको रकम भुक्तानी गर्न सकेको छैन ।
स्याउमा भएको क्षति दाबी गराइ पठाइसके पनि रकम भुक्तानीमा आनाकानी गरेको भन्दै संगठित रुपमा आन्दोलनमा उत्रिने किसानहरुले चेतावनी दिएका छन् । स्याउ किसानहरु भेला भएर पदमबहादुर डाँगीको संयोजकत्वमा १७ सदस्यीय पहल समिति गठन गरेका छन् ।
समितिले स्याउको क्षतिको मूल्यांकन कार्यमा खडेरीबाट क्षति भएको मुल्यांकनमा नराखेर न्यूनदर कायम गरेको भन्दै संस्थागत रुपमा संवाद गर्ने तयारी थालिएको छ । पहिलो चरणमा तातोपानी भित्रका स्याउ बिमा गरेका किसानहरुको विवरण संकलन गर्ने, क्षतिको एकीन गरेर शिखर इन्स्योरेन्स कम्पनीसँग संवाद गर्ने तयारी रहेको संयोजक डाँगीले जानकारी थिए ।
समितिमा प्रत्येक वडाबाट दुईदुई जना प्रतिनिधि समेटिएको छ । पहल समितिले स्याउ बिमा गरेका किसानहरु सम्पर्कमा आउन समेत आग्रह गरेको छ । ‘किसानहरुले प्राकृतिक प्रकोपले क्षति हुन सक्ने भन्दै सुरक्षाका लागि स्याउ बिमा गरे,’ संयोजक डाँगीले भने, ‘असिना, खडेरीले क्षति पुर्याएको भन्दै दाबी गर्दा भुक्तानी गर्न आनाकानी गरेको देखियो । अब संगठित भएर आन्दोलनमा उत्रिनुको विकल्प देखिएन ।’
यसअघि किसानले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा तालासमेत लगाएका थिए । तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले शिखर इन्स्योरेन्स कम्पनीले स्याउ बिमा क्षतिको मूल्यांकन गर्दा चन्दननाथ नगरपालिका बाहेक अन्य स्थानीय तहका किसानलाई विभेद गरेको जनगुनासो सुनिने गरेको बताए । उनले किसानको आशालाई खेलाँची नगर्नचेतावनीसमेत दिएका छन् ।







