हुम्लाका वनमा जडीबुटी सङ्कलक किसानहरुलाई ओढारमा बास बस्नुपर्ने बाध्यता

हुम्ला ः वनमा जडीबुटी सङ्कलक किसानहरुलाई ओढारमा बास बस्नुपर्ने बाध्यता छ । बनमा बस्ने अन्य कुनै व्यवस्था नहुँदा दिनभर जडीबुटी सङ्कलन गर्ने र राती ओढारमा बास बस्नुपरिरहेको हो ।

सिमकोट गाउँपालिका–२ की कुन्डोला भण्डारीले यतिबेला बनमा जडीबुटी सङ्कलन गर्न जानुभएका सङ्कलकहरु सबै राती ओढारमा बास बस्दै आएको बताउनुभयो । बिहान सबेरै खाना खाएर घाम लागेपछि बनमा जडीबुटी सङ्कलन गर्न जाने र दिनभर जडीबुटी खोज्नुका साथै बेलुका ओढार भएको स्थानमा बास बस्ने गरिएको उहाँले बताउनुभयो ।

यतिबेला सिमकोट गाउँपालिका दोजाम, रलिङ लगाएतका क्षेत्रमा जडीबुटी सङ्कलनका लागि खुल्ला गरिएको छ । त्यहाँ ठेहे र दोजाम गाउँका मात्र नभएर अन्य छिमेकी वडा तथा गाउँपालिकाका स्थानीय पनि जडीबुटी सङ्कलनमा लागि जानु भएको छ ।

अर्का जडीबुटी सङ्कलन गर्न जानुभएका दोजाम गाउँका टैनुर्वु लामाले मङ्सिरको चिसोको परवाह नगरी जडीबुटी सङ्कलकहरु ओढारको वास बस्नुपरिरहेको बताउनुभयो । ओढारमा आगो बाल्ने र खाना पकाउने तथा राती सुत्दा भने ओढारभित्र जाने गरिएको उहाँले बताउनुभयो कम्तीमा पनि पाँच स भन्दा बढी स्थानीय जडीबुटी सङ्कलन गर्न वनमा गएको र अधिकांश ओढारमा वास बसिरहेको र केही भने पाल टाँगेर बस्ने गर्दै आउनुभएको छ ।

ती जडीबुटी सङ्कलकहरु एक महिनासम्म वनमै बसेर जडीबुटी सङ्कलन गर्नुहुन्छ । एउटै किसानले पाँच क्विन्टलसम्म जडीबुटी सङ्कलन गर्नुहुन्छ ।

त्यसबाट तीनदेखि पाँच लाख रुपियाँसम्म कमाउन किसान सफल हुने गरेको उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो ।

जडीबुटी सङ्कलन गरिसकेपछि वनमै सुकाउने र व्यापारीलाई बिक्री गरिने भएको कारण घर फिर्ता हुँदा रुपियाँ बोकेर आउने गरेको उहाँले बताउनुभयो ।

अब किसानहरु हिउँ नपरुन्जेलसम्म वनमा जडीबुटी सङ्कलन गरिरहनु हुनेछ। एउटै घरबाट चार जनासम्म वनमा जडीबुटी सङ्कलन गर्न जानुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!