कर्णाली संसदीय दलमा एक्लिए प्रभाकर ः संसदीय दलका नेता राजकुमार विना नै बस्यो बैठक

सुर्खेत / नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक शनिबार बसेको छ । संसदीय दलका नेता राजकुमार शर्मा भए पनि उनको उपस्थितिबिनै प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बैठक बसेको हो ।
राजकुमार नेता जनार्दन शर्मानिकट मानिन्छन् । शर्माले नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टीहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीसँगको एकता अस्वीकार गर्दै प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन् । यद्यपि राजकुमारले अहिलेसम्म अभियानमा भने लागेको घोषणा गरिसकेका छैनन् ।
बैठकको अध्यक्षता गरेका प्रमुख सचेतक जिसीले संसदीय दलका नेता शर्मा सम्पर्कमा नरहेकाले आफ्नो अध्यक्षतामा बैठक बसेको बताए । उनले पार्टी केन्द्र (नेपाली कम्युनिस्ट पार्टी) को निर्देशन अनुसार नै बैठक बसेको जानकारी दिए ।
उनका अनुसार, बैठकमा समसामयिक विषयमा छलफल तथा निर्णयहरू गरिएका छन् । सबैभन्दा पहिला, संसदीय दल एकीकरणको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले बताए ।
कर्णालीमा एकीकृत समाजवादीका एक सांसद छन् । केन्द्रमा समाजवादी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएसँगै प्रदेशमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका संसदीय दललाई एकीकरण गरी एउटै ‘नेपाली कम्युनिस्ट पार्टी’ को संसदीय दल बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जिसीले बताए । यो प्रक्रिया पूरा भएपछि मात्रै प्रदेश सभा सचिवालयलाई जानकारी गराइने पनि उनको भनाइ छ ।
उनका अनुसार बैठकमा संसदीय दलका नेता राजकुमार शर्माको विषयमा छलफल भएको थियो । ‘उहाँले हालसम्म पार्टी परित्याग गरेको वा अन्य कुनै समूहमा आबद्ध भएको औपचारिक पुष्टि छैन,’ उनले भने, ‘यस्तो अवस्थामा उहाँको अवस्थाबारे समन्वय गरी बुझ्ने र आगामी दिनमा उपयुक्त निर्णय लिने जिम्मेवारी मलाई तोकिएको छ ।’
दलका नेता शर्मासँग पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि टेलिफोन नउठेको र सम्पर्क स्थापित हुन नसकेको जिसीको भनाइ छ । दल नेता शर्मा यतिबेला काठमाडौँमा छन् । बैठकमा सहभागी अर्का एक नेताले भने, ‘दल नेता कि एकताको पक्षमा आउनुप(यो होइन भने मार्ग प्रशस्त गर्नुपर्छ । बाटो यही हो । उहाँ एकताका बेलाका कार्यक्रमहरूमा पनि देखिनु भएन ।’
शर्मा निकट स्रोतले भने शर्मा सुर्खेत फर्किएपछि त्यो विषयमा छलफल हुने बताएको छ । प्रमुख सचेतक जिसीका अनुसार अब नेपाली कम्युनिस्ट पार्टीकै नाममा गतिविधि गर्नुपर्ने भएकाले माओवादीको नाममा शनिबार कै अन्तिम बैठक हुनसक्ने बताए ।
साथै, शनिवारको बैठकमा प्रदेश सरकारलाई हिउँदे अधिवेशन आह्वान गर्न ध्यानाकर्षण गराउने निर्णय भएको पनि सचेतक जिसीले बताए ।
‘अघिल्लो अधिवेशनयता प्रदेशको राजनीतिक परिस्थितिमा ठुलो फेरबदल आएको छ,’ उनले भने, ‘प्रदेश सरकारका कामकारबाहीबारे संसदको निगरानी आवश्यक देखिन्छ । त्यसैले तत्काल अधिवेशन बोलाउनुपर्नेमा बैठकमा जोड दिइएको छ ।’
बैठकमा तत्कालीन माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र तत्कालीन अध्यक्ष विमला केसी सहभागी भएका थिए ।









