उपल्लो डोल्पामा हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्वार

डोल्पा ः उपल्लो डोल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्वार गरिएको छ । शुक्रबार डोल्पोबुद्व गाउँपालिका स्थित धो बाट नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो । उद्वार हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक देबदत्त पान्डे,बरिस्ठ हवल्दार मणिराज जोशी,प्रहरी हवल्दार जनक बहादुर कार्की,प्रहरी जवान नवराज भट्ट र प्रहरी जवान नरेन्द्र भट्ट रहेकाछन् । उद्वार गरिएका पाँचै जना शे–फोक्सुन्डो गाउँपालिका वडा नं १ निजालगुम्बा स्थित अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।

नाम्दोबाट धो हुँदै दुनै पुग्ने भनेर हिँडेको करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसोले खुट्टा खाएर हिड्न नसक्ने अवस्था आएपछि उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिनुभयो । डोल्पामा यसरी हेलिकप्टरबाट उद्वार गरिएको घटनाले दुर्गम क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीको थप मनोबल बडेको डिएसपी खड्काको भनाइ छ । उद्वार गरिएका पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै झारेर सामान्य जाँच पछि थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ । कार्यरत निजालगुम्बा क्षेत्रमा बाग्लो हिउँ जमेर बस्न नसक्ने अवस्था आएपछि पाँचै जनालाई सदरमुकाम दुनै स्थित जिल्ला प्रहरी कार्यालयमा फर्कीन आदेश गरिएको थियो ।


दुनै फर्कीने क्रममा हिँउले ज्यानै जाने जोखिम भएपछि पाँचै जनालाई उद्वार गरिएको केन्द्रीय प्रहरी प्रबक्ता डिआइजी अभिनारायण काफ्लेले बताउनुभयो । प्रहरी कर्मचारीलाई कर्तव्यपालनका क्रममा समस्या परेमा प्रहरी प्रधान कार्यालयबाट यस्ता रेस्क्यु हुने डिआईजी काफ्लेको भनाइ छ । उद्वार गरिएकोका पाँचै जनालाई गत बैशाखमा नागरिकको शान्ति सुरक्षा गर्न भन्दै उपल्लो डोल्पामा खटाईएको थियो । उद्वार गरिएका पाँचै जनाका हात,खुट्टा र अनुहार सुन्निएको बताइएको छ ।





error: Content is protected !!