कर्णालीका पर्यटकीय क्षेत्रमा नेपाल टेलिकमका टावर निर्माण तिब्र

सुर्खेत , कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा नेपाल टेलिकमले फोरजी सुविधा सहितको टावर निर्माण कार्य सुरु गरेको छ । नेपाल टेलिकम प्रदेशीक कार्यालय सुर्खेतका प्रमुख कमल लामीछानेका अनुसार बिहीबारबाट पर्यटकीय क्षेत्रलाई पहुँच पुग्ने गरेर डोल्पाको ठुलिभेरी नगरपालिका–१० मिदग्ती लेकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ ।
ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका –८ विभिन्न बस्तीमा सञ्चारको पहुँच विस्तार भएको हो । फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । फोक्सुण्डो ताल , रिग्मो बस्ती तथा सुलिगाड झरना (फोक्सुण्डो) जाने मुख्य रुटमा टावर निर्माण भएपछि १८ घण्टा हिडेपछि सञ्चारको पहुँचमा पुग्ने दिनको अन्त्य भएको नेपाल टेलिकम डोल्पाका प्राविद्यिक नवराज भट्टराइले जानकारी दिनुभयो ।
टावर सञ्चालनमा आएसँगै दुईवटा स्थानीय तहका रह, परिला, काग्नी, साँङ्टा, छेप्का लगायतका बस्तीहरूमा फोन लाग्नुका साथै इन्टरनेटको पहुँच पनि पुगेको छ । त्यस्तै सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि राम्रो काम गरेको फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्काका पर्यटन व्यवसायी नोर्बु लामाले जानकारी दिनुभयो ।
प्रदेशीक प्रमुख लामिछानेका अनुसार अन्य पर्यटकीय क्षेत्रमा समेत टावर निर्माण कार्य जारी रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा सुर्खेतको पर्यटकीय क्षेत्र बुलबुले , हुम्लाको हिल्सामा , सुर्खेतको हर्रे , गुटु ,पञ्चपुरी , रुकुम पश्चिमको बाफिकोट , जुम्लाको तिला , जाजरकोटको बारेकोट ७ , डोल्पाको त्रिपुरासुन्दरी ल्हाँमा टावर निर्माण भइरहेका छन् । त्यस्तै हुम्लाको सर्केगाड सर्केदेव , खार्पुनाथ , कालिपिठमा टावर निर्माण भइरहेको छ । चालु आर्थिक वर्षमा महत्वपूर्ण पर्यटकीय क्षेत्रसँगै कर्णालीमा ३० ठाउँमा नयाँ टावर निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अन्य पर्यटकीय रुटमा समेत टावर निर्माणका लागि सर्वेक्षण भइरहेका छन् ।









