२५ करोड भन्दा बढी लागतमा त्रिपुराकोट–मौरे सडकको स्तरोन्नति सुरु

डोल्पा ः डोल्पाको ठुलो व्यापारिक केन्द्र त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्ला सडक जोडनका लागि झण्डै २५ करोड भन्दा बढी लगानीमा काम सुरु भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिबेणीबाट जुम्ला जोडने सडक निर्माण कार्य भइसकेको सन्दर्भमा अर्को रुटबाट पनि जुम्ला जोडने कामको सुरुवात गरिएको छ ।
त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिको लागि बजेट बिनियोजन भई ठेक्का प्रर्णालीबाट २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । सडक स्तरोन्नति पछि जुम्ला र डोल्पाका स्थानीयबासी तथा पर्यटकलाई समेत जोडिने उहाँले बताउनुभयो । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताउनुभयो । कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै स्थानीयहरूले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जन समेत गर्न सक्ने उहाँले बताउनुभयो । यसैगरी चुँ–गार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि चार करोड बजेट छुट्याइएकोले थपेर कामको सुरुवात हुने बताउनुभयो ।
बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखन्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको रारा ताल जोड्ने सडकको रुपमा लिइएको पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक हितानले जानकारी दिनुभयो । दुई वर्षभित्र स्तरोन्नति कार्य सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको थियो । बीएनटी कुटुम्ब जेभीले निर्माणको जिम्मा लिएको त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर रहेको छ । उक्त सडकको ट्र्याक खुलाउने कार्य यसअघिनै भइसकेकाले यो बजेटबाट पवित्र धार्मिक क्षेत्र बुढाल मष्ट मन्दिर–छलसम्म नाला सहितको ग्राभेल सडक निर्माण गरिने उहाँको भनाई रहेको छ ।









