डोल्पामा स्याउ विक्रीबाट दुई करोड २० लाख रुपैयाँ आम्दानी , स्याउ ढुवानी गर्न कार्यालयले ५० प्रतिशत अनुदान पछि स्याउँ विक्री गर्न सहजता

हेमन्त केसी
डोल्पा , २० कात्तिक ः स्याउ उत्पादन वर्षेनी प्रगती गर्दै आएको डोल्पाले स्याउको क्षेत्र विस्तारसँगै उत्पादनमा समेत बृद्धि गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत डोल्पाबाट मात्रै ४ सय मेट्रिक टन स्याउ विभिन्न सहरमा निर्यात भई करिब दुई करोड २० लाख रुपैयाँ आम्दानी भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, डोल्पाका निमित्त प्रमुख गोविन्द मल्लले जानकारी दिए ।
बोटमा ५५ देखि ६० रुपैयाँ किलो विक्री भएको उनले जानकारी दिए । डोल्पाको स्थानीय बजारमा हाल १२० रुपैयाँ किलो स्याउँ विक्री भइरहेको छ । ४०० मेटिक टन बजारमा विक्री भएपनि बजेट अभावका कारण साडे ६ मेट्रिक टनलाई ढुवानी अनुदान दिइएको थियो । प्रतिकेजी रु ६ का दरले ढुवानी अनुदान दिइएको प्रमुख मल्लले बताए । सुर्खेत , नेपालगन्ज , दाङमा विक्री भएका स्याउको मात्र अनुदान दिइएको छ । गत वर्ष १०० मेट्रिक टन स्याउ मात्र विक्री भएको थियो । यो वर्ष झण्डै ३०० मेट्रिक टन बढी स्याउले बजार पाएको छ ।
प्रमुख मल्लका अनुसार डोल्पाबाट निर्यात भएका स्याउ जाजरकोट, सल्यान, दाङ, पोखरा र काठमाण्डौंसम्म विक्री भएको छ । ढुवानीका लागि कार्यालयले ५० प्रतिशत अनुदान सहयोग गरेपछि स्याउँ विक्रीका लागि थप सहज भएको किसानहरुले बताएका छन् । कार्यालयले चालू आर्थिक वर्षका लागि ३ करोड ६० लाख ५७ हजार बराबरको बजेट सार्वजनिकीकरण गर्दै स्याउ, ओखर, दलहन÷सिमी, भेडा–बाख्रा र आलुमा जोन बनाई काम गर्ने प्रमुख मल्लले जानकारी दिए । त्रिपुरासुन्दरीका ३ र ४ नं वडा, ठूलीभेरीका ११ वडा र जगदुल्लाका सबै वडामा सिमी जोनः काइकेका ७ वडा र मुड्केचुलाका ६ वडामा कार्यक्रम संचालनमा रहेको उनले बताए ।
डोल्पाको स्याउ उत्पादकत्व राष्ट्रिय औसत भन्दा माथि छ । चालु आर्थिक वर्षमा ५० हेक्टरमा स्याउ विस्तार, १ हेक्टरमा उच्च घनत्वको फुजी जात बेर्ना रोपाई भइसकेको उनले बताए । चालु आर्थिक वर्षमा १ हेक्टरमा रोप्ने योजना रहेको समेत जानकारी दिइएको छ । परम्परागत बगैँचाको प्रविधियुक्त सुधार, भर्मी कम्पोस्ट प्रवद्र्धन र डिजिटल माटो नक्सा अद्यावधिकजस्ता कामहरू अघि सारिएको छ । ठूलीभेरी–१ का कृषक दशरथ रोकायले प्राङ्गारिक विषादीबारे चेतना अभाव र दक्ष प्राविधिकको अभावले किसानले समस्या व्यहोर्नुपरेको बताए । उनले भने, “वर्षेनी बिरुवा सुक्छन्, प्राविधिक सहयोग बिना किसानले प्रविधियुक्त खेती गर्न सक्दैनन्।” स्याउ जोनका अध्यक्ष धनबहादुर डाँगीले डोल्पा कृषिमा सम्भावनाको खानी भएको बताए । उनले भने, “यहाँ केवल यार्सागुम्बा होइन, फलफूल र स्याउको हब बनाउन सक्ने अपार सम्भावना छ।” कार्यालयले गरेको समीक्षामा जिल्लाका राजनीतिक दलका प्रमुखहरुले समेत कार्यक्रमको उच्च प्रशंसा गरेका छन् । एकाइबाट भएका कामहरुमा डोल्पाले महत्वपूर्ण लाभ लिएको प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए ।
नेपाली कांग्रेस डोल्पाका सचिव हिक्मतकुमार शाहीले भने,“डोल्पामा वास्तविक कृषक पहिचान गरेर लगानी गर्न आवश्यक छ। कृषि सम्बन्धित कार्यालयहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे डोल्पा कृषिको हब बन्न सक्छ।” नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले पनि कार्यक्रमलाई ठूलीभेरी मात्र नभई सबै पालिकामा समान रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै भने,“सबै क्षेत्रका किसानले समान अवसर पाउनुपर्छ, अनि मात्र कृषि आधुनिकीकरणको उद्देश्य पूरा हुन्छ।” सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले उत्पादनको ब्रान्डिङ र बजार व्यवस्थापनमा ध्यान दिन सुझाव दिए । उनले भने, “उत्पादनको ब्रान्डिङले आम्दानी दोब्बर हुन्छ । राम्रो गर्न सके राम्रो, नसके नराम्रो नगर्नुहोस्।”
डोल्पामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले कृषिमा उत्पादन अभिवृद्धि, बजार व्यवस्थापन र आत्मनिर्भरता तर्फ महत्वपूर्ण योगदान दिइरहेको छ । स्थानीय कृषकदेखि जनप्रतिनिधि र सरोकारवाला सबैको साझा आवाज एउटै छ । “डोल्पा अब यार्सागुम्बा मात्र होइन, स्याउ र फलफूलको हब बन्न सक्छ।” सडक सञ्जाल विस्तारसँगै डोल्पाको स्याउँलाई बजारीकरणमा थप बल पुगेको छ । स्याउ उत्पादन हुने गाउँमा पूर्वाधार विकास कार्यालय ,डोल्पाले आन्तरिक सडकहरु निर्माणलाई तिब्रता दिएको पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले बताए ।
सबैको उदेश्य भनेको जनताको सेवा गर्नु भएकाले आफूहरुले सोही अनुसारको भावनको सम्वोधन गरेको उनको तर्क रहेको छ । उपल्लो डोल्पा बाहेक मध्य तथा तल्लो डोल्पाका अधिकांश ठाउँहरु सडकको पहुँचमा गएका छन् । सडक निर्माण भएकाले कृषि जन्य बस्तुहरु बजारीकरण गर्न सहज भएको पूर्व प्रदेशसभा सदस्य पदक्वारी बोहराले बताइन् । एकाइले उपलब्ध गराउने कार्यक्रमहरु पहुँचमुखी नभई जनतामुखी भएको मुडकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । आफूहरुले समेत एकाईसँग समन्वय गरेर अगाडी बढेको उनको भनाई रहेको छ ।









