जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको त्रैमासिक समिक्षा सम्पन्न

सुर्खेत / ,१४ कात्तिक ः कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको चालु आर्थिक बर्ष २०८२/०८३ को प्रथम त्रैमासिकको समीक्षा सम्पन्न भएको छ ।
शुक्रबार मन्त्रालय मातहतका निर्देशनालय र कार्यालयहरुको प्रथम त्रैमासिक प्रगतिको समिक्षा साथै योजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे छलफल भएको छ ।
समिक्षा कार्यक्रममा जलस्रोत तथा ऊर्जा विकास मन्त्री मन्त्री बिजया बुढाले पुँजीगत खर्च हुन नसक्नुका कारण पहिचान गरी आगामी दिनमा समस्या नदोहोरिने गरी प्राथमिकताका आधारमा नागरिकले अनुभूत गर्ने गरी कार्य गर्न सुझाव दिनुभयो । मन्त्रालयको वार्षिक कार्य योजना बमोजिम नतिजा हासिल गर्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले गतबर्षको प्रगति भन्दा राम्रो काम गर्न निर्देशन दिनुभयो । मन्त्रालयलले आर्थिक वर्ष २०८१/ ०८२ मा विनियोजित बजेट मध्ये ७९.५४ प्रतिशत खर्च गरेको थियो । यो मन्त्रालय कर्णाली प्रदेशका विकासे मन्त्रालयहरु मध्येमा सबैभन्दा बढी बजेट खर्च गर्ने मन्त्रालय हो ।
यस्तै मन्त्रालयका सचिव मोहन कुमार शाक्यले योजनाहको प्राथमिकता गरेर काम गर्न कार्यालय प्रमुखहरुलाई सुझाव दिनुभयो । उहाँले बेरुजी असुलउपर गर्न समेत कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । मन्त्रालयका प्रमुख लेखा अधिकृत विनोद कुमार भण्डारीका अनुसार मन्त्रालयले चालु आर्थिक वर्ष विनियोजित ३ अर्ब ८३ करोड ३ लाख ५८ हजार बजेटमध्ये ८ करोड ५३ लाख ९० हजार रुयैयाँ अर्थात् २.२३ प्रतिशत बजेट खर्च गरेको छ । जसमा चालु तर्फ ५ करोड ४ लाख ५० हजार र पुँजीगत तर्फ ३ करोड ४९ लाख ३९ हजार बजेट खर्च भएको हो ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा , मन्त्रालयका सचिव मोहन कुमार शाक्य , दश जिल्लाका कार्यालय प्रमुखहरू, मन्त्रालयका महाशाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो।







