उपल्लो डोल्पामा हिमपातका कारण घर भित्रै सर्वसाधारण

डोल्पा ः उपल्लो डोल्पामा मंगलबार विहान देखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिउँका कारण बाटोहरु अवरुद्ध हुँदा एक ठाउँबाट अर्को ठाउँमा जान समेत समस्या भइरहेको डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले जानकारी दिनुभयो ।

पशुचौपाय समेत घर भित्रबाट बाहिर निकाल्न सक्ने अवस्था नरहेको उहाँको भनाई रहेको छ । घर बाहिर टाँगिएका टेन्टहरु समेत हिउँले पुरेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
घर भित्रबाट बाहिर निस्किएर छिमेकीकोमा जान नसक्ने अवस्था समेत भएको डोल्पाबुद्ध गाउँपालिका ‘धो’का ङावाङ गुरुङले हिमपातका कारण आन्तरिक नाँकाबन्दीमा परेको बताउनुभयो । सदरमुकाम दुनैसँग मात्र नभई एक गाउँबाट अर्को गाउँमा जानका लागि समेत समस्या भइरहेको उहाँको भनाई रहेको उहाँको भनाई रहेको छ ।

पशु चौपायहरुलाई चिसोबाट जोगाउन हैरानी भएको उहाँको भनाई रहेको छ । घरको छतमा रहेको हिउँ हटाउदा हटाउदै फेरी थुप्रो पर्ने गरेको उहाँले पीडा सुनाउनुभयो । डोल्पोबुद्ध जस्तै छार्काताङसोङ गाउँपालिकामा समेत , शे फोक्सुण्डो गाउँपालिकामा पनि त्यस्तै समस्या भएको छ । हिमपातले पालिकाको कामहरु समेत ठप्प भएको छ । पालिकामा सेवा लिन आउने स्थानीयबासीहरु आज पूर्ण रुपमा रोकिएको छ ।









