जेनजी हुँ भन्दै प्रहरीलाई धम्क्याउने जुनिचाँदे गाउँपालिकाका कर्मचारी योगी हिरासतमा

सुर्खेत / प्रहरीलाई जेन्जी हुँ भन्दै धम्कयाउने जाजरकोट जुनिचाँदे गाउँपालिका ३ का २४ वर्षीय छोरा लोकेन्द्र नाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ ।
मदिरा सेवन गरेर आइतबार दिउँसो ४ बजे छेडागाड नगरपालिका २ स्थित अस्थायी प्रहरी पोस्ट सुयाडा नजिकैको मध्य पहाडी लोकमार्गमा प्रहरीलाई धम्क्याउने योगीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय , जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले जानकारी दिनुभयो । डाँगीका अनुसार लोकेन्द्र नाथ योगीसहित अन्य चार जना व्यक्ति लुम्बिनी प्रदेश ५० प ३९६६ र मधेश प्रदेश ३० प ५४९४ नम्बरका मोटरसाइकलमा मादक पदार्थ सेवन गरी अस्थायी प्रहरी पोस्ट सुयाडा अगाडिको सडकमा पल्टिरहेका थिए । ड्युटीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सडकबाट हटाउन र सोधपुछ गर्दा लोकेन्द्रले प्रहरी टोलीमाथि धम्की दिएको डाँगीले बताउनुभयो ।
योगीले गालीगलौज गरेको र हातपात गर्न समेत खोज्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाटै रीतपूर्वक उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । उहाँलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरिएको छ । थप अनुसन्धानका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ६ दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको डाँगीले बताउनुभयो । योगी जुनिचाँदे गाउँपालिकाका कृषि शाखामा पाँचौ तहका करारमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ ।



