बल्ल भयो जगदुल्ला जलविद्युतको निर्माणका लागि सम्झौता

सुर्खेत ः कर्णालीको सामरिक महत्वको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट निर्माण गर्नका लागि सम्झौता भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा अर्धजलाशय ड्याम बनाएर मुडकेचुला गाउँपालिका –४ ईलमा विद्युत उत्पादन गृह निर्माण हुने उक्त आयोजनाको लामो ठेक्का खोलेको लामो सयम पछि सम्झौता भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो ।
जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड जगदुल्ला पिकिङ रन–अफ–रिभर जलविद्युत परियोजना निर्माण गर्नका लागि २०१७ मा विद्युत उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनीको रूपमा स्थापित भएको थियो । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निकालेको ठेक्कामामा प्राविधिक रुपमा सिनो हाइड्रो र जेसीई÷एएनके जेभीको प्राविधिक प्रस्तावमा पास भएको थियो । आर्थिक प्रस्ताव खोल्दा सबैभन्दा कबोल गर्ने जेसीई÷एएनके जेभीले ठेक्का पाएको हो । जगदुल्ला हाइड्रोपावर र जेसीई÷एएनके जेभीबीच सम्झौता भएको छ । सोमबार ठेक्का सम्झौता भएको हो । सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रुपैयाँ अर्थात् लागत अनुमान भन्दा ०.८ प्रतिशतले कम र जेसीई÷एएनके जेभीले १२ अर्ब १५ करोड अर्थ लागत अनुमान भन्दा १० प्रतिशत कम रुपैयाँको प्रस्ताव हालेका थिए । नियमानुसार सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाएको हो ।
पहिलो पटक २०८१ जेठ २० गते कम्पनीले सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि ठेक्का निकालेको थियो । जसमा ७ कम्पनीले आवेदन दिएका थिए । प्राविधिक प्रस्तावमा कुनै कम्पनी छनोट नभएपछि अन्तिममा ठेक्का रद्ध भयो । कम्पनीले पुनः ठेक्का निकाल्यो । जसमा चार कम्पनीले ठेक्का हाले । प्राविधिक मूल्यांकनमा चारमध्ये २ कम्पनी मात्रै पास भए । जेसीई÷ एएनके जेभी र सिनो हाइड्रो कर्पोरेशन पास भएका थिए । प्राविधिक रुपमा पास भएका दुई कम्पनीको नियमानुसार आर्थिक प्रस्ताव खोलियो ।
सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रुपैयाँ र जेसीई÷एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ आर्थिक प्रस्ताव गरेको भेटियो । प्राविधिक प्रस्ताव खोलेपछि जेसीई÷एएनके जेभीले फर्जी कागजात पेस गरेको बिषयमा बिभिन्न निकायहरुमा उजुरी परेपनि त्यस्तो नदेखिएकोले ठेक्का प्रक्रिया रोकिएन। सम्मानित सर्बोच्च अदालतले समेत यस बिषयमा परेको रिट उपर छलफल गरी ठेक्का प्रक्रिया रोक्न अन्तरिम आदेश दिन मानेन। साथै लेखा समतिले समेत केहि समय ठेक्का प्रक्रिया रोके पनि कानुन बमोजिम ठेक्का प्रक्रिया अगाढी बढाउनु भन्ने निर्देशन दिएको थियो।
यो आयोजनाको गत वर्षको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।
एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो । आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । आयोजना निर्माण गर्न कुल लागत भन्दा ९.३ प्रतिशत कममा उक्त ठेक्काको सम्झौता भएको छ । विद्युत उत्पादन कम्पनीले २६ प्रतिशत , जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड १० प्रतिशत , नेपाल विद्युत प्राद्यिकरणको १० प्रतिशत , कर्णाली प्रदेश सरकारको ५ प्रतिशत , जगदुल्ला र मुडकेचला गाउँपालिकामा १÷१ प्रतिशत , स्थानीयबासीबाट १० प्रतिशत , प्रसारण लाइन प्रभावित स्थानीय बासिन्दाबाट ३ प्रतिशत , परियोजनाका कर्मचारीबाट ३ प्रतिशत शेर रहनेछ ।
अनुमानित औसत वार्षिक ऊर्जा उत्पादन ६३५ गिगावाट छ । परियोजनाको अनुमानित लागत २२ करोड अमेरिकी डलर छ । यो उच्च हेड परियोजना हो । परियोजनाको मुख्य भाग २३ मिटर अग्लो गेटेड डाइभर्सन बाँध बन्ने छ । जसमा साइड इन्टेकहरू सहित ७ ÷ ७ मिटर आकारका तीन गेटहरू र १२० मिटर ÷ १३ मिटर चौडा डबल–चेम्बर सेटलिंग बेसिन रहेका छन् । हेडरेस सुरुङ ६१३५ मिटर लामो छ । प्रतिबन्धित ओरिफिस सहित ५६.९ मिटर उचाइको भूमिगत सर्ज शाफ्ट, १.४ किलोमिटर लम्बाइको भूमिगत चाप शाफ्ट , पावरहाउस र ट्रान्सफर्मर भूमिगत दुवै ध्वनि चट्टानको पिण्ड भित्र भूमिगत हुनेछन् । यस पावरहाउसमा भर्टिकल शाफ्ट पेल्टन टर्बाइनका तीन युनिट र सिंगल फेज–प्रकारको ट्रान्सफर्मर सहितको ग्यास इन्सुलेटेड स्विच प्रणाली हुनेछ। टेलरेसको लम्बाइ २६६ मिटर र ट्रान्समिसन लाइनको लम्बाइ ४५ किलोमिटर छ।



