भौतिक पूर्वाधार मन्त्रालयको नौ महिनाको उपलब्धि ः कर्णालीमा ३०२.८४ किलोमिटर कालोपत्रे

हेमन्त केसी
सुर्खेत ः कर्णाली प्रदेश सरकारले हाल सम्मा ३०२.८४ किलोमिटर सडकको कालोपत्रे , पक्की , पेभमेन्ट गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार हाल सम्मा ३०२.८४ किलोमिटर सडकको कालोपत्रे गरिएको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा २४९.५८ प्रतिशत सडक कालोपत्रे , पक्की , पेभमेन्ट गरिएको थियो । चालु आर्थिक वर्षको चैत मशान्त भित्र ५३.२६ किलोमिटर सडक थप निर्माण भएको हो । चालु आर्थिक वर्षमा १६१ किलोमिटर सडक कालोपत्रे , पक्की , पेभमेन्ट गर्ने लक्ष्य भए पनि चैत मशान्त सम्मा ५३.२६ किलोमिटर काम भएको छ । प्रदेश सरकारले बाँकी तीन महिनामा १०७.७४ किलोमिटर सडकको कालोपत्रे , पक्की , पेभमेन्ट गर्ने लक्ष्य राखेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिनुभयो ।

हुम्लामा कुनै पनि सडकको कालोपत्रे नभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कर्णालीका १० जिल्लामा ७७४.७१ किलोमिटर सडकको ग्राभेल भएको छ । आर्थिक वर्ष २०८१÷८२ सम्मा ७१३.६५ किलोमिटर सडक सडकको ग्राभेल गरिएकोमा चालु आर्थिक वर्षको चैत मशान्त सम्मा ६१.०६ किलोमिटर ग्राभेल भएको छ । लक्ष्य १३९.७० किलोमिटर चालु आवमा ग्राभेल गर्ने लक्ष्य रहेको छ ।

आर्थिक वर्ष २०८१÷८२ सम्मा माटे कच्ची ३ हजार २७६.४४ किलोमिटर सडक निर्माण भएकोमा चालु आवको नौ महिनामा ११३.९८ किलोमिटर सडक निर्माण भएको छ । असार मशान्त सम्मा १८४ किलोमिटर लक्ष्य रहेको थियो । हाल सम्मा ३ हजार २७६.४४ किलोमिटर सडक ट्याक ओपन भएको छ । हाल सम्मा अन्य सडक स्तरोन्नति ,नाला निर्माण ,ग्याविन , टेवा पर्खाल गरेर ७५४.५९ किलोमिटर काम भएको छ ।

कहाँ कति पुल निर्माण भए ?
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले हाल सम्मा १५१ वटा झोलुङ्गे पुल निर्माण गरेको जनाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा १२५ वटा झोलुङ्गे पुल निर्माण भएकोमा चालु आर्थिक वर्षको नौ महिनामा २६ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ६३ वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेको थियो । सुर्खेतमा चार , दैलेखमा सात , रुकुम पश्चिममा एक , जाजरकोटमा एक , डोल्पामा चार , जुम्लामा चार , मुगुमा दुई र कालिकोटमा तीन वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

त्यस्तै ६२ वटा सडक पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा ५३ वटा निर्माण भएकोमा चालु आवमा चैत मशान्त भित्र ९ वटा सडक पुल निर्माण भएपछि ६२ वटा सडक पुल निर्माण भएका हुन् । चालु आवमा ४४ सडक पुल निर्माण गर्ने मन्त्रालयले लक्ष्य लिएको थियो ।

२६ वटा सार्वजनिक भवन निर्माण भएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा १९ वटा निर्माण भएकोमा चालु आर्थिक वर्षको नौँ महिनामा सात वटा गरेर जम्मा २६ वटा सार्वजनिक भवन निर्माण भएका हुन् । मन्त्रालयले असार मशान्त सम्मा ५१ निर्माण गर्ने लक्ष्य लिएको छ ।

जनता आवास (सङ्घ ) तर्फको हाल सम्मा ३ हजार ५६८ वटा घर निर्माण भएका छन् । चालु आवमा ३८ वटा निर्माण भएका छन् । जनता आवास प्रदेश तर्फ हाल सम्मा ७३६ वटा आवास निर्माण भएका छन् । चालु आबको नौ महिनामा ३० निर्माण भएका छन् । विपन्नको घर कार्यक्रम अन्तरर्गत हाल सम्मा ६५२ वटा आवास निर्माण भएका छन् । चालु आवको हाल सम्मा ३२ वटा निर्माण भएको वरिष्ठ सिडिई सुवेदीले जानकारी दिनुभयो । मन्त्रालयले समीक्षा गरेर यो विवरण सार्वजनिक गरेको हो । प्रदेश सरकारले आफूले गरेको काम असारमा पुरै नजिता आउने बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!