डोल्पामा २९ सय हेक्टर जमिनमा सिँचाई सुविधा

   एक तिहाई जमिनमा मात्र सिँचाई सुविधा , दर्जनौ खोला ,नदीको पानी प्रयोग बिहिन

हेमन्त केसी
बीरेन्द्रनगर , १७ साउन ः खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय डोल्पाले आर्थिक वर्ष २०८१÷८२ मा ७० वटा योजनाहरु सम्पन्न गरेको छ । जिल्लाको कुल कृषि योग्य जमिन ९ हजार ३०० हेक्टर जमिन मध्य हाल सम्मा २ हजार ९०० हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको कार्यालयका प्रमुख प्रकाश गिरीले बताए ।


६ हजार ५०० हेक्टर जमिनमा खेती हुँदै आएको छ । कुल ३१ वटा योजना मध्य ३० वटा बिभिन्न योजनाहरु सम्पन्न भएपछि १८० हेक्टर जमिनमा नयाँ सिँचाई सुविधा पुगेको प्रमुख गिरीले जानकारी दिए । खानेपानीका २४ वटा योजना सम्पन्न गरेर ५६० धरधुरीलाई खानेपानीको सुविधा पुगेको छ । भूगोलको हिसावले ठुलो रहेको डोल्पामा तीन प्रकारको हावापानी पाइन्छ । उपल्लो डोल्पाका तीन पालिकामा १२ महिना चिसो हुने गर्दछ । चिसो मौसममा हिमपात हुने भएकाले काम गर्न मुस्किल हुने गर्दछ ।

डोल्पाका ८१५ घरधुरीमा सौर्य बत्ती विस्तार गरिएको उनले बताए । डोल्पामा खानेपानीका २४ , सिँचाइका ३१ , उर्जाका ७ , नदी नियन्त्रण तथा बाध निर्माण १० वटा योजना रहेका थिए । सिँचाइको एक र नदी नियन्त्रण तथा बाध निर्माणको १ मात्र योजना कार्यान्वनय हुन सकेन । अन्य ७० वटा योजना कार्यान्वयन हुँदा १ हजार ३७५ घरधुरीलाई सेवा पुगेको छ । १८ हेक्टर जमिन बचेको छ भने ५ सय मिटर जमिन सुरक्षित बनाएको छ । ९०.२९ प्रतिशत बजेट कार्यान्वयन गरेको डोल्पा प्रदेशको दोस्रो समेत भएको छ । उपल्लो डोल्पामा यातायात सुविधा नपुगेका कारण विकास निर्माणका कामहरु गर्न समस्या हुँदै आएको छ । सडक पुगेको ठाउँमा समेत अधिकांश कच्ची तथा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बजेट कम हुँदा जिल्लाका सबै ठाउँमा सिँचाई, खानेपानी पुग्न नसकेको हो ।

कस्तो छ त डोल्पाको खेतीप्रर्णालीसँगै हावापानी ?

उत्पादनका हिसावले कम्जोर रहेको डोल्पामा विकास निर्माणका कामहरु सक्रिया रुपमा कार्यान्वयन हुने हो भने मात्र यहाँका स्थानीयबासीले राहत महसुस गर्ने छन् । उपल्लो डोल्पामा वर्षमा एक मात्र बाली पाक्ने गर्दछ । यहाँ निर्माण हुने विकास निर्माणको आयोजनामा बजेट धेरै लाग्ने गर्दछ । सडकसँगै मानिसले बोकेर समेत निर्माणका सामानहरु लिनुपर्ने भएकाले आयोजना महँगो हुन पुगेको छ । दुर्गम ठाउँमा विकास निर्माणको काम गर्नका लागि चर्को ढुवानी शुल्क पर्ने कार्यालयका प्रमुख गिरीले बताए ।

जिल्लालाई अधिकांश हिमाल, अग्ला थुम्का र पहाडहरुले ओगटेको छ । प्राकृतिक सौन्दर्यता र जडिबुटीले धनी यस जिल्ला पर्यटकीय स्थलको रुपमा पनि चिनिन्छ । साविक जुम्लाको तिब्रीकोट दराको रुपगार्ड, सुलीगार्ड खोला देखि पुर्व तर्फका २२ गाउँको क्षेत्र, साविक बाग्लुङको ८ हजार पर्वतका ९ गाउँको क्षेत्र र २९ गाउँको छार्का भोट क्षेत्र गरी बनेको डोल्पा जिल्लाको सम्पुर्ण क्षेत्रफलको ७५% छार्का भोट ओगटेको छ ।

     
यस क्षेत्रलाई १२ डाली ल्हागु पनि भनिन्छ । यसैको आधारमा बि.स.२०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । त्यसै नाम परिवर्तन हुन गई हाल यस जिल्लाको नाम डोल्पा रहन गयो । नेपालको सबै भन्दा गहिरो शे–फोक्सुण्डो ताल, विश्वकै सबै भन्दा पछि जानकारीमा आएको बस्ती भिजेर गा.वि.स.को “कु” गाँउ विश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको धो तराप बस्ती यसै जिल्लामा पर्दछन् ।

कुल क्षेत्रफल ७,८७९ वर्ग किलोमिटर रहेकोमा घाँसले ढाकेको क्षेत्र ३१.४७%, चट्टान, भिर,पहरा, हिमक्षेत्र आदीले ५९.२६%, वनले ढाकेको क्षेत्रफल ७.५९% रहेको छ । वनले ढाकेको करिव ३०% भाग शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । कुन क्षेत्रफलको ०.७५ % जग्मा मात्र खेतीयोग्य जमिन रहेको छ । कुल क्षेत्रफलको ०.४६% झाडी, बुट्यानले ओगटेको छ । ६८% भू–भाग ४० डिग्रि भन्दा बढी भिरालोपना रहेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुशार यस जिल्लालाई निम्न लिखित चार भौगलिक क्षेत्रमा बिभाजन गरिएको छ ।


जिल्लाको सम्पूर्ण जसो उत्तरी भाग यस क्षेत्रमा पर्दछ । यस भू– भागको उचाई समुद्री सतहदेखि ३६६० देखि ४८७८ मिटर सम्म रहेको छ । तिब्बती सीमा र हिमाली क्षेत्रको बीचमा रहेको यो उच्च पठार (ज्ष्नज उबितभबग) नेपालको सबै भन्दा सुक्खा क्षेत्रको रुपमा रहेको छ । यस क्षेत्रमा रहेका बस्तीहरु संसारका सबैभन्दा उचाइमा रहेका बस्तीहरु मानिन्छन । समुन्द्री सतहबाट ५००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने क्षेत्र यस प्रदेशमा पर्दछ । यस जिल्लाको दुई महापर्वतीय हिमश्रीङखलाहरु (धौलागिरी र काञ्जिरोवा हिमश्रीङखला) पूर्व पश्चिम फैलिएर रहेका छन । पर्वतारोहण र ट्रेकिङको लागि महत्वपूर्ण मानिने यस क्षेत्रमा बर्षैभरि तापक्रम ऋणात्मक हुनेगर्छ । यस क्षेत्रमा धौलागिरी हिमाल (७७५४मिटर),चुरेन हिमाल(७३७१ मिटर), पुँठा हिमचुली(७२४९ मिटर), माउन्ट पुथा हिमचुली(७२४६ मि.), मुकोट हिमाल (६६३८ मि.), काञ्जिरोवा हिमाल(६२२१ मि.), डाँफे शैल(६१०३ मिटर) र अरनिको चुली(६०३४मिटर) र नुमला बगला पास लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँले ढाकिरहने पर्वत श्रृखलाहरू पर्दछन् । यत्ति अग्ला हिमाल भएको ठाउँमा खेती गर्न समेत मुस्किल रहेको छ ।


हिमाली भू–भागको एक मुख्य शाखाको रुपमा यो क्षेत्र रहेको छ । हिउँदमा हिउँले ढाकिएको हुन्छ भने ग्रीष्ममा हिउँ पग्लिई घाँसे क्षेत्रको रुपमा रहन्छ । यस क्षेत्र चरण क्षेत्रको रुपमा अति महत्वपूर्ण रहेको छ । यस भेगका मानिसहरू मौसम अनुसार बसोबास गर्ने र गोठ तल माथि सार्ने चलन रहेको कार्यालय प्रमुख गिरीले बताए । यहाँका मानिसहरू न्यानोको लागि बख्खु र ऊनीका बाक्लो लुगा लगाउने गर्दछन् । स्थानीयबासीहरु भेडाबाख्रा, चौरी आदि पालन गरेर आम्दानीको गरिरहेका छन् ।
तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन रहेको छ । विशेषतः यस क्षेत्रमा प्रसिद्ध जडिबुटी यार्सागुम्बा पनि पाइन्छ । विशेषगरी धो उपत्यका, तिन्जे उपत्यका, शे–गुम्बा, फोक्सुण्डो ताल, सुलीगार्ड झरना, दुधकुण्डली, जगदुल्ला ताल आदि यस क्षेत्रमा रहेका छन् ।


ठूला नदीहरुका किनारा एवं बेसीदेखि लिएर समुन्द्री सतहबाट १५२५ मिटरदेखि ३६६० मिटरसम्मको उचाईमा यस भू–भाग पर्दछ । यस जिल्लाको दक्षिण पश्चिम रहेका ठुलीभेरी र जगदुल्ला नदीका किनार एवं साना पहाडी क्षेत्रमा अधिकांश बस्तीहरु रहेको पाइन्छ । दुनै, जुफाल, माझफाल, त्रिपुराकोट, पाहाडा, लिकु, सुँ, ल्हाँ, कालिका, नर्कु, सर्मी, रिमी, काईगाउँ आदि यस क्षेत्रका प्रमुख स्थानहरूमा खेती राम्रो हुने गर्दछ । यहाँको जनजीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनता र उद्योग व्यापारको कमीले गर्दा जनताहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । अझैपनि खेतीपाती र पशुपालन यस जिल्लाका बासिन्दाहरूको मुख्य पेशा रही आएको छ ।

डोल्पाबाट बाहिर बगेर निस्कने नदीहरूमा ठुलीभेरी र जगदुल्ला मुख्य छन् । ठुलीभेरीको उद्गमस्थल पुथा हिमाल हो भने जगदुल्लाको उद्गमस्थल जगदुल्ला ताल हो । यहाँबाट सिँचाइको लागि खासै पानी प्रयोग हुन सकेको छैन । यस्तै अन्य खोलाहरूमा फोक्सुण्डो खोला, रिग्मो खोला रुपगार्ड खोला, छलगार्ड खोला, चुगार्ड खोला र अन्य स–साना खोलाहरू पनि दर्जनौ मात्रामा रहेका छन् । साथै यस जिल्लामा फोक्सुण्डो ताल, जगदुल्ला ताल, दुधकुण्डली ताल, छमकुनी तालका साथै स–साना दह तथा पोखरी रहेका कारण यहाँ पर्यटकको मन लोभिने गरेको छ । अधिकांश ताल तथा खोलाहरुबाट सिँचाईको लागि पानी प्रयोग अझैँ हुन सकेको छैन । यहाँको कुल क्षेत्रफल ७८८९ वर्ग किलोमिटर रहेको छ । जुन नेपालको कुल क्षेत्रलफको ५.३८ प्रतिशत हुन आउन्छ ।





error: Content is protected !!