सुरक्षित बन्दै छ वीरेन्द्रनगर, जोडिँदै छन् साढे ३ सय सीसी क्यामेरा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मुटु मंगलगढी चोकमा गत साता एकाबिहानै एक युवकमाथि चक्कु प्रहार भयो । अपरिचित व्यक्तिहरूले ती युवकको आँखामा लक्षित गरी चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको उपचार जारी छ । वीरेन्द्रनगरको बढी मानिस आवतजावत हुने मुख्य क्षेत्रमा भएको चक्कु प्रहारको घटनामा संलग्न व्यक्तिहरूलाई पत्ता लगाउन प्रहरीलाई निकै सास्ती व्यहोर्नुपर्यो ।
घटनालगत्तै सूक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले बल्लतल्ल चक्कु प्रहारमा संलग्न व्यक्तिको पहिचान गरेको छ, तर उनीहरू अहिले प्रहरीको फरार लिस्टमा छन् । यस्तै, एक महिनाअघि मुख्य बजार क्षेत्रमा एक युवतीको डेढ लाख रुपैयाँ उनको कोठाबाटै चोरी भयो । कोठाबाटै पैसा चोरी भएपछि प्रहरीसमक्ष पुगेकी उनले हालसम्म पनि पैसा फिर्ता पाउन सकेकी छैनन् ।
केही महिनाअघि वीरेन्द्रनगर–४ स्थित मूलपानी चोकनजिक एक स्कुटरले पैदल यात्रुलाई ठक्कर दियो । तीव्र गतिको स्कुटरको ठक्करबाट एक जना गम्भीर घाइते भएका थिए । सडकमा हिँडिरहेको अवस्थामा ठक्कर दिएर भागेको सो स्कुटरको पहिचान हालसम्म पनि हुन सकेको छैन ।
माथि उल्लेखित घटनाहरू प्रतिनिधिमूलक हुन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण यस्ता घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन् । यस्ता घटनामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरीलाई निकै चुनौती झेल्नुपर्ने अवस्था छ । तर, अब भने प्रहरीलाई यस्ता अपराध तथा दुर्घटनाका घटनामा अनुसन्धान गर्न सहज हुने भएको छ । प्रहरीलाई अनुसन्धानमा सहज मात्रै होइन, अब वीरेन्द्रनगरमा हुने यस्ता अपराधका घटनामा संलग्न हुने व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन पनि सहज हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रहरूमा सीसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेसँगै अपराध नियन्त्रण र शान्ति सुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने विश्वास गरिएको छ ।
बिहीबार नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा ३ सय ५५ स्थानमा सीसी क्यामेरा जडानको प्रक्रिया थालेको हो, जसका लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिपक्षीय सम्झौताअनुसार पहिलो चरणमा ६ महिनाभित्र १ सय ५ स्थानमा सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइनेछ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप २ सय ५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सीसी क्यामेरा जडान गरिनेछ ।
नगरपालिकासँग भएको समझदारीअनुसार टेलिकमले अप्टिकल फाइबरसहितको सीसी क्यामेरा र वाइफाइ हटस्पट जडान गर्नुपर्नेछ । यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई डिजिटल पालिकाको रूपमा विकास गर्न नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका विभिन्न स्थानमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने उद्देश्यले विभिन्न वडा, राजमार्ग तथा पर्यटकीयस्थल समेटिने गरी चालु आर्थिक वर्ष २०८२र०८३ भित्र ३ सय ५५ स्थानमा सीसी क्यामेरा जडान नगरपालिकाबाट हुनेछ । यसरी जडान भएका क्यामेरालाई २४ सै घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनुपर्नेछ ।
साथै, टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्रांगण र वडा नं। ६ र ८ स्थित घण्टाघरको प्रांगणवरिपरिका दुई स्थानमा वाइफाइ हटस्पट बनाउन इन्टरनेट जडान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै, नगरका विभिन्न क्षेत्रमा जडान हुने सीसी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्नेछ भने जिल्ला प्रहरी कार्यालय सुर्खेतले २४ सै घण्टा निगरानी गर्नेछ । त्यस्तै, नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मत सम्भार गर्नेछ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सीसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार बजेट व्यवस्थापन गरेको छ ।
शान्ति सुरक्षा चुस्त बन्ने अपेक्षा
वीरेन्द्रनगरमा बढ्दो जनसंख्याका कारण लागुऔषध दुर्व्यसनी, चोरी डकैती, झै–झगडा, सडक दुर्घटना तथा अन्य सुरक्षा चुनौतीलाई प्रविधिमार्फत नियन्त्रण गर्न सीसी क्यामेरा जडान गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताइन् । कार्यपालिकाको बैठकबाट नगर गौरवको आयोजनाको रूपमा वीरेन्द्रनगरलाई व्यवस्थित शहर बजाउने योजनाअनुरुप विधिको शासनलाई प्रविधिमा जोड्ने प्रयास थालिएको उनले बताइन् । सीसी क्यामेराबाट २४ सै घण्टा नगर क्षेत्रको निगरानी गरिने उनको भनाइ छ ।
नगरपालिकासँग सीसी क्यामेरा जडानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका प्रमुख कमल लामिछानेले स्मार्ट सिटीको पूर्वाधार तयार गरिरहेको वीरेन्द्रनगरले शुभारम्भ गरेको सीसी क्यामेरा जडानले राष्ट्रको डिजिटल दशक घोषणालाई सघाउ पुर्याउने बताए । यसले वीरेन्द्रनगरको शहरी सुरक्षा अनुगमनमा ठूलो टेवा पुग्ने उनले बताए । सम्झौताअनुसार गुणस्तरी सेवा दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रविधिमा आएको परिवर्तनसँगै यससँग जोडिएर आउने साइबर अपराध नियन्त्रणमा वीरेन्द्रनगरले थालेको अभियानलाई अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने बताए । यसबाट राज्यले आमगरिकप्रतिको दायित्व पूरा हुने उनको भनाइ छ ।
सन् २०३० सम्म सबै पालिकालाई डिजिटलमैत्री बनाउन सरकारले थालेको अभियान पूरा गर्ने गरी गुणस्तरीय दूरसञ्चार सेवा प्रवाहमा टेलिकम लागिपरेको दाबीसमेत गरे । यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सीसी क्यामेराले यहाँको शान्ति सुरक्षा मजबुत बनाउन सघाउ पुर्याउने बताए । यसबाट नागरिकलाई सुरक्षाको अनुभूतिसँगै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सीसी क्यामेरामार्फत सबै खाले अपराधमा अनुसन्धान गरी यस्ता घटना न्यूनीकरणमा टेवा पुग्ने उनले बताए । वीरेन्द्रनगरमा बढ्दो जनघनत्वसँगै आपराधिक गतिविधिमा पनि वृद्धि भइरहेको उल्लेख गर्दै शाहीले शान्ति सुरक्षा र अमनचयनमा सीसी क्यामेराको भूमिका महत्त्वपूर्ण हुने बताए ।



