वीरेन्द्रनगरको तल्लो पर्सेनीमा बाढीको पूर्वसूचना दिन साइरन जडान


त्यसक्षेत्रका ६३ घरधुरीलाई लक्षित गरी साइरन जडान गरिएको नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा अन्तर्गतको आतपकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरीले जानकारी दिए । यी वडामा वीरेन्द्रनगरको सम्पूर्ण पानी बाहिरिने निकास खोला अवस्थित छ । डुबानको उच्च जोखिममा भएका पालिका ९ / २ हुन् ।
निकास खोलामा पानीले खतराको विन्दु पार गर्नेबित्तिकै बाढीको सूचना दिने साइरनले नगरपालिकाको कार्यालयमा समेत ुअलर्टुको आवाज सुनिने गर्छ । यसले कार्यालयबाट उद्धार सामग्रीसहित परिचालन हुने मद्दत पुग्ने गिरीले बताए । उनका अनुसार जडान गरिएको साइरनले ५ किलोमिटर दुरीसम्मका नागरिकलाई आवाज दिनेछ । यो क्षेत्र वर्षाको समयमा बढी डुबान हुने क्षेत्र हो । बढी जोखिम भएको क्षेत्रमा साइरन जडान गरिएको उनले बताए ।
साइरन जडानबाट गाउँलेहरूले सुरक्षित महसुस गरेको समावेशी टोल विकास संस्थाकी अध्यक्ष गीता खानले बताइन् । उनका अनुसार चारैतिर नालाले घेरेको बस्ती भएकाले सामान्य वर्षा हुँदासमेत डुबानको खतरा हुन्छ । साइरन जडानका साथै र सेफ्टी जाकेटहरू वितरण गरिएकाले सुरक्षित महसुस गरिएको उनले बताइन् । २०७१ सालको बाढीबाट यो टोलका ३ जनाले ज्यान गुमाएका थिए । नगरपालिकाको सूचना प्रवाह तथा विपद् व्यवस्थापन संयन्त्र अनुसार सञ्चार प्रभावकारी रूपमा कार्यान्वयन गर्न भीएचएफ सेट, मोबाइल सेट र आपत्कालीन नम्बर १०१ समेत प्रयोगमा ल्याइएको छ ।
आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गिरीका अनुसार वीरेन्द्रनगरका इत्रामखोला, आँपखोली, तल्लो पर्सेनीमा नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । आँपडालीमा बायो इन्जिनियरिङ विधिबाट गरिएको तटबन्ध प्रभावकारी बनेको नगरपालिकाको दाबी छ । इत्राम खोलामा पनि तटबन्ध बनेपछि २ सय बढी घरधुरी लाभान्वित भएको बताइएको छ । २०७१ सालमा उक्त खोलाको कटानबाट ९ घर विस्थापित भएका थिए ।








