पिउने पानी पाउन मुस्किल कुदुमा रोपाई सुरु

हेमन्त केसी
बीरेन्द्रनगर , १४ असार ः पिउने पानी पाउन मुस्किल हुने जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा सिँचाई सुविधा पुगेको छ । यहाँको ७६.१ हेक्टर जमिनमा सिँचाई सुविधा पुगेर धान रोपाई सुरु भएको वडाध्यक्ष यज्ञबहादुर बटालाले बताए ।
सोलार प्राविद्यि प्रयोग गरेर एकीकृत कर्णाली सिँचाई विकास आयोजनाबाट कुदुका चार गाउँमा सिँचाई सुविधा पुगेको हो । पिउने पानी देखि सरसफाइका काममा भेरी नदी पुग्ने यहाँका स्थानीयबासीका लागि कुदु लिफ्ट सिँचाई योजना सम्पन्न भएपछि चार गाउँका स्थानीयबासीलाई पानीको सुविधा पुगेको छ । कुदुका लामितरा ,रोकायगाउँ, कुशतरा र बटालागाउँमा सिँचाई सुविधा पुगेसँगै रोपाइका कामहरु सुरु भएको वडाध्यक्ष बटालाले बताए । इतिहासमा पहिलो पटक हामीले धान रोप्न पाएका छौँ , उनले भने , ‘ तत्कालिन उर्जामन्त्री शक्तिबहादुर बस्नेतले कुदुमा पानी पुर्याउनका लागि बजेट बिनियोजन गर्नुभएको थियो । मैले उहाँसँग निरन्तर सल्लाह गरेर यसमा जोडिएको थिए । छोटो समयमा सिँचाई सुविधा पुर्याउन सफल भएका छौँ । पूर्वमन्त्री बस्नेततलाई हामीले धन्यवाद दिएका छौँ । ’

२०८० फागुन १६ गते योजनाको ठेक्का भई हाल योजना सम्पन्न भएको कार्यालय प्रमुख कृष्ण प्रसाद डुम्राकोटीले बताए । ५ करोड ४१ लाख ५२ हजार ११ रुपैयाँमा सिँचाई योजना सम्पन्न भएको कार्यालय प्रमुख डुम्राकोटीले बताए । भूमि निर्माण सेवा , रोल्पाले उक्त काम गरेको थियो । पानी पुगेसँगै आफूहरु खुसी भएको उपभोक्ता समितिका अध्यक्ष रमेश बटालाले बताए । ‘कल्पना नै नगरेको ठाउँमा पानी मात्र पुगेन , सिँचाइको काम समेत सुरु भएको छ ’ उनले भने । भेरी नदी छेउँमै बगेपनि यहाँका स्थानीयबासीहरु हेरेर चित्त बुझाउनु पर्ने अवस्था विगतमा रहेको थियो । प्रदेश सरकारको खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालयबाट कुदुका केही भागमा पानी ल्याउने प्रयास भएको थियो ।
सबै ठाउँमा उक्त पानी नपुगेपनि केही ठाउँमा पुगेर समस्या हल भएको थियो । सिँचाईको सुविधा नहुँदा कुदुको ठुलो फाँटबाट यहाँका स्थानीयबासीले फाइदा लिन सकेको अवस्था थिएन । हाल यो योजना सफल भएसँगै इतिहासमा पहिलो पटक कुदुका चार गाउँमा रोपाई सुरु हुँदा खुसीको सिमा नरहेको उपभोक्ता समितिका अध्यक्ष बटालाले बताए । जाजरकोटको सबै भन्दा ठुलो खेतीयोग्य फाँटका रुपमा कुदुलाइ लिइन्छ ।

भेरी करिडोर तथा मध्य पहाडी लोकमार्गकोसँग जोडिएको यो फाँट भेरी नदीको किनारमा रहेको छ । असार १५ गते राष्ट्रिय धान दिवसको उपलक्ष्यमा कुदुमा धान दिवस समेत मनाउन लागिएको छ । कृषि विकास कार्यालय ,जाजरकोटका सूचना अधिकारी नविनराज आचार्यले दिएको जानकारी अनुसार पाखे धान लगाउने ठाउँमा धान रोपाई नै गर्ने जानकारी आएपछि आफूहरु धान दिवस कुदुमै मनाउन लागिएकाे हाे । भेरी नगरपालिकाको कृषि शाखाबाट कुदुमा नै धान रोपाई गनुपर्छ भनि जानकारी आएकाले आफूहरु पनि सहमत भएको उनले बताए ।

कुदुमा अब तीन वालीको खेती हुने भएको छ । हिउँद याममा बाँझो हुने कुदुका फाँटहरु अब खेतीले हरिया हुने भएका छन् । यहाँ ५५८ घरधुरी रहेको वडाध्यक्ष बटालाले बताए । यि सबै घरका स्थानीयबासीले सिँचाई सुविधा उपभोग गर्न पाउने भएका छन् ।







