डोल्पामा यार्सा संकलन पुर्जीबाट १ करोड ५५ लाख राजश्व संकलन

डोल्पा ः डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलन इजाजत वितरणबाट १ करोड ५५ लाख ३२ हजार राजश्व संकलन गरेको छ ।

सुलिगार्ड, त्रिपुराकोट, तोइजुम लगायतका पाँचवटा स्थानबाट मात्रै १ करोड ५५ लाख ३२ हजार राजश्व संकलन गरेको हो । अझै धो, सम्दो, छेक्पा, रिग्मोमा कति राजश्व उठ्यो भन्ने जानकारी आउन बाँकी रहेको निकुञ्जले जनाएको छ ।

बाँकी स्थानको राजश्व संकलनको जानकारी आएपछि कूल १ करोड ८८ लाखसम्म राजश्ज उठ्ने अनुमान गरिएको रेन्जर किशोर महतले जानकारी दिए ।

उनी भन्छन्, ‘अघिल्लो वर्ष १ करोड ४५ लाखमात्र राजश्व उठेको हो, यो वर्ष पाँच ठाँउको मात्रै गणना गर्दा पनि दश लाख धेरै उठिसक्यो, आधाको जानकारी आउनै बाँकी छ ।’ यो वर्ष अघिल्लो वर्षको उठेको राजश्वको तुलनामा करिब पौतालीस लाख धेरै राजश्व उठ्ने अनुमान गरिएको उनको भनाइ छ ।

कर्मचारी दरबन्दी थप हुनुका साथै यार्सा संकलकको सङ्ख्या पनि बृद्धि भएकाले राजश्व पनि धेरै संकलन भएको रेञ्जर महतले बताए । निकुञ्ज क्षेत्रका नौ वटा स्थानबाट करिब दश हजार सर्वसाधारण यार्सा संकलनका लागि पाटन प्रवेश गरेको प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

जेठ ५ गतेदेखि निकुञ्ज क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटन खुला गरिएको थियो । तर, डिभिजन वन अन्तर्गतका कतिपय यार्सा पाटनहरुहरु अझै खुलेका छैनन् ।

जिल्ला सदरमुकाम दुनैमा बैशाख २१ गते भएको सर्वपक्षीय बैठकले जेठ ५ गते निकुञ्ज र वन क्षेत्रका सम्पूर्ण यार्सा पाटन खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मात्र गरेको छ ।

डिभिजन वन कार्यालय आफैं उपस्थित भएको बैठकमा आफू मातहतका यार्सा पाटनहरु तोकिएको मितिमा नखुलेको एकसाता बितिसक्दा समेत अझै खुल्न सकेका छैनन् ।





error: Content is protected !!