चार वर्षअघि खरिद गरिएको एक्सरे मेसिन प्रयोगविहीन, स्थानीय दुनै जान बाध्य

डोल्पा ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले चार वर्षअघि खरिद गरेको एक्सरे मेसिन अझै प्रयोगमा आउन सकेको छैन । २०७७ चैतमा त्रिपुराकोट स्वास्थ्य चौकीमा प्रयोग गर्ने भन्दै खरिद गरिएको उक्त मेसिन अझै प्रयोगमा आउन सकेको छैन ।

३४ लाख ५० हजार रकममा खरिद गरिएको उक्त मेसिन बत्तीको सुविधा नभएकाले जडान गरेरमात्रै एक कुनामा थन्क्याइएको छ । तर डोल्पा केन्द्रीय प्रशारणमा जोडिएकै दुई वर्ष पुगिसक्दासमेत मेसिन सञ्चालनमा ल्याउन नगरपालिकाले चासो दिएको छैन ।

मेसिन पुगेपछि सञ्चालनका लागि भन्दै करिब दश लाख रकममा नगरपालिकाले जेनेरेटर पनि खरिद गर्‍यो । तर,जेनेरेटर खरिद गर्दा समेत एक्सरे मेसिन सञ्चालनमा ल्याइएन ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुका अनुसार ‘चार वर्षदेखि मेसिन थन्किएको रहेछ, नेपालगन्जबाट दश प्राविधिक झिकाएर बनाउन प्रयास गरियो तर भएन ।’

उनले भने ‘अहिले बत्तीको पहुँच पुगिसक्यो, मेसिन सञ्चालनमा ल्याउन खोज्दा तारहरु सबै मुसाले काटेको रहेछ, कतिपय पाटपुर्जामा समस्या देखियो,’ उनी भन्छन्, ‘नेपालगन्ज नै पुर्‍याएर भए पनि बनाएर सञ्चालनमा ल्याउन लागेका छौं ।’

पालिकाको लाखौं रकम खर्च गरेर ल्याइएको अत्यावश्यक मेसिन सञ्चालनमा नआउँदा एक्सरे गर्नुपर्ने बिरामीहरु सदरमुकाम दुनै पुग्न बाध्य छन् ।

सामान्य एक्सरेका लागि दुनै पुग्नुपर्दा समय र पैसा दुवै खर्च हुने गरेको स्थानीयको गुनासो छ । पहिलो कार्यकालमै खरिद गरिएको उक्त मेसिन दोस्रो कार्यकालका जनप्रतिनिधि आएकै दुई वर्ष पार भइसक्दासमेत सञ्चालनमा चासो नदिएको पाइएको सरोकारवालाको आरोप छ ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले त्रिपुराकोट स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा सञ्चालन गरे पनि दोस्रो कार्यकालका जनप्रतिनिधि आएपछि स्वास्थ्य चौकीमै झारिएको उनीहरुको गुनासो छ ।

मेसिन सञ्चालनमा नआउँदा स्थानीयलाई स्वास्थ्य सेवामा असर परेको वडाध्यक्ष रामचन्द्र कुलालले बताए । उनले भने, ‘म निर्वाचित भएलगत्तै मेसिनको खोजीनिती गरेँ, वर्षौंदेखि थन्किएको उक्त मेसिन सञ्चालनका लागि कार्यपालिकामासमेत कुरा उठाए तर सुनुवाइ भएन ।’

उनी भन्छन्, ‘अब यो मेसिन सञ्चालनमा वडासँग बजेट छैन्, नगरपालिकाले चासो दिनुपर्छ ।’ कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ मा नगरपालिकालाई एक्सरे मेसिन खरिदका लागि ३८ लाख ९३ हजार आठसय पाँच रकम पठाएको थियो ।

मेसिन खरिद गर्न बोलपत्र आह्वान गर्दै नगरपालिकाले २०७७ फागुन ६ गते सूचना प्रकाशित भयो । एभरेष्ट मेडिको फर्मा लमही दाङले ३४ लाख पचास हजारमा जिम्मा लिएको थियो ।

आफूहरुले जिम्मा पाएलगत्तै एक्सरे मेसिन खरिद गरी स्वास्थ्य चौकीमै पुर्‍याएर जडान गरिएको एभरेष्ट मेडिको फर्माका प्रतिनिधि विष्णुदेव बुढ्थापाले बताए । उनले भने, ‘एक्सरे मेसिनमात्र जडान गरियो, यो मेसिन सँगैको अर्को भाग बत्तीको व्यवस्था नहुँदा जडान गर्न सकिएन ।’

जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायले उक्त मेसिन सञ्चालन गर्न जिल्ला अस्पतालबाट प्राविधिक पठाएरै प्रयास गर्दा पनि नभएको बताए ।

उनले भने, ‘यो मेसिन अहिलेको डिजिटल एक्सरे मेसिन भन्दा पुरानो प्रकृतिको हो, अहिले त ३० लाखमै गुणस्तरीय डिजिटल मेसिन खरिद गर्न सकिन्छ ।’ यस वर्षबाट त्रिपुराकोट स्वास्थ्य चौकीमा संघीय सरकारले नै सरकारी छात्रावृत्तिमा अध्ययन गरेका एक जना डाक्टर समेत खटाएको छ ।





error: Content is protected !!