डोल्पाको स्याउँ जोनमा सडक निर्माण , किसानले उत्पादन गरेका बस्तुहरु बजारीकरण हुने अपेक्षा

हेमन्त केसी
सुर्खेत ः कृषिजन्य बस्तुलाई बजारीकरण गर्नका लागि डोल्पाको ठुलिभेरी नगरपालिका–३ ,४ मा सडक निर्माण कार्य तिब्र बनाएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तरर्गतको पूर्वाधार विकास कार्यालयले उक्त सडक निर्माण गर्न थालेको हो ।
ज्यू , सु र रंग गाउँका स्थानीयबासीले उत्पादन गरेको कृषि जन्य बस्तुलाई सजिलै बजार सम्मा पुर्याउनका लागि सडक निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय ,डोल्पाका प्रमुख इन्जिनियर टेकबहादुर हितानले जानकारी दिए । कार्यालय प्रमुख हितानले भने , ‘स्याउँ , ओखर , अंगुर , केसर खेती भव्य रुपमा हुने ठाउँ हो यो । डोल्पाको जुफाल विमानस्थलमा जोडिएर उक्त सडक निर्माणको काम गरिएको छ । ’ विमानस्थलका साथै भेरी करिडोरसँग समेत यो सडक जोडिने गर्दछ ।
यहाँ उत्पादित कृषिजन्य बस्तुहरुले बजार नपाएको धेरै गुनासो आएपछि मन्त्रालयसँगको छलफल पछि यो सडकलाई किसानको माग अनुसार आर्थिक रुपमा समेत सक्षम बनाउने उदेश्यले सडकको काम सुरु भएको हो । २०८१ असार १९ गते जिटी निर्माण सेवासँग रु ४ करोड ४५ लाख ९० लाखमा सडक निर्माणको सम्झौता गरेर कामको सुरुवात गरिएको थियो । सडक निर्माण गर्ने अन्तिम म्याद २०८३ असार १८ गते भएपनि निर्माण व्यवसायीले यही आर्थिक वर्षमै काम पुरा गर्ने जानकारी दिएको कार्यालय प्रमुख हितानले जानकारी दिए ।
ठुलिभेरी नगरपालिका भित्रका सबै भन्दा बढी स्याउँ , ओखर , अंगुर र केसर खेती गर्ने गाउँमा रुपमा परिचित रहदै आएको ज्यू गाउँ , सु , रंगलाई आर्थिक मार्गका रुपमा विकास गरिने लक्ष्य रहेको छ । सडक नहुँदा डोको तथा घोडा,खच्चडमा बोकाउदा आर्थिक रुपमा नोक्सान हुँदै आएपछि सडक निर्माणको काम आरम्भ गरिएको थियो । खुर्सानीका लागि पनि यि गाउँ उत्तिकै प्रख्यात रहेका छन् । हाल ३५ प्रतिशत भौतिक प्रगती सडकमा भइसकेको कार्यालयले जानकारी दिएको छ । मुद सडकसँग जोडने गरि सडक निर्माण कार्य भएपछि स्थानीयबासीहरु खुसी भएको कार्यालय प्रमुख हितानको भनाई रहेको छ । यहाँका फलफुलहरु देशका ठुला सहरमा लिनका लागि सडक मार्ग सबै भन्दा बढी प्रभावकारी हुने उनको भनाई रहेको छ । हाल जुफाल विमानस्थलबाट हुँदै हवाइ मार्गबाट स्याउँ बजारीकरण हुँदै आएको छ ।
डोल्पाको स्याउँलाई उच्च कोटीको रुपमा लिइदै आएको छ । बजारको अभावमा बोटमै स्याउँ खेर गयो भन्ने समाचारहरु अब हेर्नु नपर्ने गरि कामहरु भइरहेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताए । आज सडकको स्थलगत अनुगमण गर्दै मन्त्री बुढाले कामलाई छिटो भन्दा छिटो गुणस्तरका साथ सम्पन्न गर्न आग्रह गरेका थिए । सात किलोमिटर रहेको उक्त सडक आधा काम भइसकेको उनले बताए ।
ठुलीभेरी नगरपालिका –३÷४ खोरखोला , ज्यूखोरा, ज्यू हुँदै रंगको निर्माणधिन सडक अनुगमण पछि बजेटको समस्य नहुँने समेत मन्त्री बुढाले बताए । मन्त्री बुढाको गृह जिल्ला समेत डोल्पा नै हो । आफ्नो जिल्लाको विकास निर्माण लाई नतिजामुखी बनाउका लागि स्थलगत अनुगमणमा रहेका मन्त्री बुढाले डोल्पाको विकास संमृद्धिसँग किसानको उत्पादन पनि जोडिएको बताए । भेरी करिडोरको समेत अनुगमण भएको उनले बताए । दुनै लासीकयाप सडकको समेत अनुगमण भएको छ ।



