नलगाडमा विकास साझेदार निकायलाई परिचालन गर्न कार्यविधि निर्माण हुँदै

जाजरकोट , २० माघ ः नलगाडमा कार्यरत विकास साझेदार निकायलाई व्यवस्थित गर्नका लागि उपप्रमुख देवका लामिछानेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।
भूकम्प पछि विभिन्न विकास साझेदार निकायहरु नगरपालिकाको अनुमति विना काम गरिरहेको गुनासो आएपछि उपप्रमुख लामिछानेको संयोजकत्वमा कार्यदल गठन गरेर व्यवस्थित गराउने काम सुरु भएको हो । एकै उदेश्य भएका संघ , संस्थाहरु एकै ठाउँमा काम गर्दा कामहरु दोहोरिने सम्भावना भएकाले सो कार्यलाई व्यवस्थित गर्नका लागि कार्यदल बनाएको हो ।
उपप्रमुखको संयोजकत्वमा गठन भएको कार्यदलले कार्यविधि बनाएर काम गर्न सहजिकरण गर्ने लक्ष्य रहेको छ । सबै वडाहरुमा समान खालको विकासको अवधारण अनुसार अगाडी बढने लक्ष्य लिइएको छ । हाल नलगाडको १ देखि ७ सम्मा मात्र संघ ,संस्थाको ध्यान गएको आरोप लाग्दै आएको छ ।
सजिलो ठाउँमा मात्र काम गर्न जाने तर अप्ठ्यारो भूगोलमा काम गर्न नजाने प्रावृति मौलाएको आरोप लाग्दै आएको छ । नगरपालिकाको अनुमति विना धेरै संघ संस्थाले आफूखुसी काम गरिरहेकोले त्यसलाई व्यवस्थित गर्नुपर्ने गुनासोलाई सम्वोधन गर्न नगरपालिकाले पहलकदमी लिएको छ । नलगाडमा हुने विकास निर्माणका सबै कुराहरु नगरपालिकासँग जोडिएर गर्न समेत कार्यदलले आग्रह गरेको छ । प्रदेश ,संघ तथा संघ संस्थाले काम गर्दा नगरपालिकाको क्षेत्रलाई समानुपातिक ढंगले विकासको काम गर्न समेत आग्रह गरिएको छ ।
आवश्यकताको लागि विकास हुनुपर्ने भन्दै पहुँचको आधारमा काम भएमा त्यसले दिर्घकालिन असर गर्ने नगरपालिकाको बुझाई रहेको छ । हाल सम्म विकास साझेदार निकायको विवरण नहुँदा समस्य हुँदै आएको थियो । नगरपालिकाको समन्वय विना धेरै संघसंस्थाले काम गरेर राजनीतिक रंग दिँदा जनता स्तरमा सेवा भन्दा विभाजन भएको स्थानीयबासीले गुनासो गरेका छन् ।



