कर्णालीमा ९० वटा झोलुङ्गे पुल निर्माण गर्न बजेट व्यवस्थापन
सुर्खेत , १४ पुस ः कर्णालीका १० जिल्लामा चालु आवमा ९० वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । चालु आव र अघिल्लो आवका गरि ९० वटा पुल निर्माण गर्न लागेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताउनुभयो ।
भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको मन्त्री बुढाले बताउनुभयो । अहिले मात्र पुल निर्माण गर्न मन्त्रालयसँग रु २० करोड ५० लाख बजेट विनियोजन गरेको छ । चालु आबमा ४२ वटा नयाँ पुल निर्माण गर्ने कार्य योजना रहेको छ । मन्त्रालयले ग्रामीण क्षेत्रमा नागरिकलाई नदी वारपार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ मा २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका थिए । उक्त वर्ष ९४ वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा एक सय सात वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष पनि ४२ नयाँ पुल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ । यो वर्ष पनि ९० पुल निर्माण गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । मन्त्री बुढाका अनुसार ४२ वटा नयाँ पुलको बजेट निश्चित भएको छ ।