खटाङ क्षेत्रमा सबै भन्दा लामो तीनमुखे पुल निर्माण कार्य सुरु

सुर्खेत , ३ पुस ः गुर्भाकोट नगरपालिका–८, १२ र १२ लाई जोडका लागि खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर पुल निर्माण सुरु गरिएको हो ।
नदी उत्तर फर्किएका कारण धार्मिक आस्थासँग जोडिएको यस क्षेत्रमा पुल निर्माण कार्य सुरु भएपछि स्थानीयबासीहरु खुसी भएका छन् । सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो तीनमुखे पुल बनाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘यो स्थानमा बन्न लागेको तीनमुखे पुल नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका तीनमुखे पुलहरूमध्ये यो सबैभन्दा लामो हो ।’
२०८३ असारभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको उहाँको भनाई रहेको छ । यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको स्टामेट रहेको छ । खटाङ टापुमा बन्ने टावरको उचाइ २५.२३ मिटरको हुनेछ । इन्जिनियर थापाका अनुसार पुल निर्माणको काम २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्री गीता कन्स्ट्रक्सनले पाएको छ । निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाउन्डेसन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउन्डेसन निर्माणलाई तीव्रता दिएको छ ।
सस्पेन्सन ब्रिज डिभिजनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइका २५ वटा पिल्लर निर्माण हुनेछन् । यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइका १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुनातर्फ आरसीसी फाउन्डेसन निर्माण गरिनेछ । साइट इन्चार्ज इन्जिनियर उमंग प्रभात गिरीले तीन गाउँ जोड्नलाई तीनमुखे पुल निर्माण गरिएको बताउनुभयो । पुल निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो ।





error: Content is protected !!