विद्यार्थी १२, शिक्षक २

जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गणेश आधारभूत विद्यालय गिडिचौरमा कक्षा ५ सम्म पढाउने अनुमति छ तर १२ जना मात्र विद्यार्थी छन् । त्यसमध्ये बाल विकास केन्द्रका मात्र १० जना छन्, अन्य कक्षा २ का हुन् । उनीहरूलाई पढाउने २ जना छन् ।
हरेक वर्षको भर्ना अभियानमा शिक्षकहरू अभिभावकको घरदैलोमा पुग्छन्, बच्चा पठाइदिन आग्रह गर्छन् । तर अभिभावकले विद्यार्थी पठाउँदैनन् । त्यही कारण कक्षा ३, ४ र ५ मा विद्यार्थी शून्य भएका हुन् । विद्यालयमा भौतिक संरचनाको अवस्था राम्रो छ । घेराबारा गरिएको छ । खानेपानी र शौचालयको सुविधा छ ।
२०४९ सालमा स्थापना भएको यस विद्यालयमा एक जना स्थायी शिक्षक छन् । उनी विद्यालयका प्रधानाध्यापक हुन् । काम पर्दा उनी पनि विद्यालयमा पुग्न सक्दैनन् । विद्यालय प्रायः बाल विकास सहजकर्ताका भरमा चल्छ । विद्यालयमा स्थायी शिक्षक दरबन्दी भने तीन वटा छ । विद्यार्थी नभएको भन्दै पालिकाले दुई शिक्षकलाई विद्यार्थी चाप भएको अर्कै विद्यालयमा पठाइसकेको छ ।
प्रधानाध्यापक नन्दकृष्ण चौलागाईं नजिकै माध्यमिक विद्यालय भएकाले विद्यार्थी रोक्न नसकिएको बताउँछन् । ‘साना बच्चा दिदी–दाइसँगै माध्यमिक विद्यालयमा जान्छन्,’ उनले भने, ‘नजिकै निजी विद्यालय पनि छ । कतिपय अभिभावकले सदरमुकाम खलंगामा खोलिएका निजी विद्यालयमा छोराछोरीलाई पठाउँछन् ।’
क्ष्त्एँ
क्गलचष्कभ दबलप
ल्भउब िीषभ क्ष्लकगचबलअभ
विद्यालयले मंसिर र चैतमा अभिभावक भेला बोलाउने गरेको छ । ‘त्यति बेला कि विद्यार्थी पठाइदिनुस् कि त विद्यालय नै खारेज गर्नुस् भन्ने प्रस्ताव लैजान्छौं,’ प्रधानाध्यापक चौलागाईंले भने, ‘भेलामा सबै अभिभावकले सकारात्मक कुरा राख्छन्,’ उनले भने, ‘आफ्ना बालबालिका पठाउँदैनन् ।’
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न भने हानाथाप हुन्छ । विद्यालयमा चरम दलीय राजनीति हुने गरेको छ । अध्यक्ष हुने पक्षले मात्र विद्यार्थी पठाउने गर्छन्, अर्को पक्षले कार्यकालभरि विद्यार्थी पठाउँदैनन् । ‘कांग्रेस, माओवादीको अध्यक्ष आए एमालेले पठाउँदैनन् । अहिले एमालेनिकट व्यक्ति अध्यक्ष छन्, अन्यले विद्यार्थी पठाएका छैनन्,’ प्रधानाध्यापक चौलागाईंले भने ।
विद्यालयमा अतिविपन्न परिवारका विद्यार्थी मात्रै आइरहेको अभिभावक ददिम सार्कीले बताए । उनले विद्यालयमा पठनपाठन पनि राम्रो नभएको बताए । ‘सरकारी स्कुलमा पढाउने शिक्षकका छोराछोरी बोर्डिङमा छन्,’ उनले भने ।
नाजुक अवस्था देखिएका विद्यालयलाई गाभ्ने अभियान पनि तातोपानी गाउँपालिकाले चलाएको छ । ‘अहिले हरेक विद्यालय अनुगमन गरेर विद्यालयको टाउको गनिरहेका छौं,’ गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भने ।










