दुर्गा प्रसाईंले टिम बनाएर व्यवसायीलाई धम्क्याएको प्रहरी अनुसन्धानको निष्कर्ष
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
काठमाडौँ ः मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन टिम नै परिचालन गरेको प्रहरीले अनुसन्धानका क्रममा निष्कर्ष निकालेको छ ।
भारतमा बसेर व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेपछि प्रसाईं र अरू ३ जनाको संलग्नता खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
लरेन्स विश्नोइको नाममा धम्की दिन समूह नै परिचालन गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले प्रसाईं विरुद्ध संगठित अपराधमा पनि अनुसन्धान सुरु गरेको छ । एउटा कसुरमा संगठित अपराध जोडिएपछि ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने अधिकार प्रहरीलाई हुन्छ ।
अहिले उनीविरुद्ध आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘कानुनी रूपमा उहाँलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने अवस्था छ ।’
प्रसाईं निकट हरिचन्द्र फुयलले व्यवसायीलाई धम्क्याउन आफूलाई प्रसाईंले ५ लाख दिएको बयान दिएका छन् । उनले भनेका छन्, ‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन् ।’ तर, प्रसाईंले बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
फुयलमाथि अनुसन्धान गर्दै जाँदा प्रसाईंले परिचालन गरेका थप ३ जनाको कनेक्सन भेटिएको छ । नेपालमै रहेका थप दुई जना र विदेशमा बस्ने १ जनाले प्रसाईंको योजनालाई सघाएका हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरिरहेको छ ।
रकम असुलेको आशंका
मारवाडी समुदाय र राष्ट्र बैंकका उच्च अधिकृतहरूलाई प्रसाईंको समूहले धम्क्याएको प्रहरीको अनुसन्धानबाट खुलेको भएको छ । सामाजिक सञ्जाल ‘ह्वाट्स एप’ मार्फत आफूलाई धम्की आएको भनेर ६ जनाले प्रहरीलाई जानकारी गराएका छन् । तर, प्रसाईंको समूहले अन्य व्यवसायीलाई पनि धम्की दिएर रकम असुलेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘हामीकहाँ रिपोर्ट नगरेका व्यवसायीबाट प्रसाईंले रकम असुलेको हुनसक्छ ।’
असोज २१ मा सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको थियो । सो आक्रमण प्रसाईंले नै गराएको अनुसन्धान अधिकृतहरू बताउँछन् । तर, प्राविधिक पक्षबाट पुण्यलाई आक्रमण गराउन प्रसाईंको हात भएको तथ्य प्रहरीले फेला पार्न सकेको छैन । गौतममाथि आक्रमण गरेपछि उनले अन्य व्यवसायीलाई पनि आक्रमण गर्ने धम्की दिएर रकम असुलेको प्रहरीको आशंका छ ।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा प्रसाईं धरौटीमा छुटेपनि अर्को मुद्दामा पक्राउ पुर्जी जारी भएकाले उनी फेरि प्रहरी हिरासतमै छन् । स्रोत ः रातोपाटी
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)