राजनीतिक नेतृत्वले एकले अर्कालाई झुक्याउनु घातक ः जनार्दन शर्मा

काठमाडौँ ः प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वबीच एकले अर्कोलाई झुक्याउनु घातक रहेको टिप्पणी गरेका छन्।
पछिल्ला दिनमा सत्तामा लिसोझैँ टाँसिरहन राजनीतिक नेतृत्वबीच छक्याउने, झुक्याउने सोच र प्रवृत्ति देखिएको जिकिर गर्दै उनले त्यसो हुनु मुलुकको समग्र राजनीतिका लागि नै घातक भएको टिप्पणी गरेका हुन्।
मंगलवार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रियामा उपमहासचिव शर्माले राजनीतिक नेतृत्वले शासनमा भन्दा राशनमा ध्यान दिने खालको नीति लियो भने मुलुकमा फेरि सम्हाल्न नसक्ने गरी द्वन्द्व शुरु हुने चेतावनी पनि दिए।
‘नेतृत्वले एकले अर्कालाई छक्याउने, झुक्याउने, कसरी हुन्छ आफ्नो हातमा सत्ता राखिराख्ने खालको जुन सोच‚ प्रवृत्ति र संस्कृतिको विकास भएको छ‚ यो धेरै हानिकारक छ राजनीतिमा‚’ उनले भने, ‘एकले अर्कोलाई धोका दिने, छक्याउने खालको कुराले, सत्तामा टाँसिरहने र इगो टकराउने खालको कुरा र शासनभन्दा राशनमा बढी ध्यान दिने नीति भयो भने फेरि द्वन्द्व हुन्छ‚ त्यो सम्हाल्न सकिँदैन।’
उपमहासचिव शर्माले तत्कालीन राज्य पक्षले दमन गरेपछि माओवादीले विद्रोह गर्नुपरेको पनि बताए। स्रोत ः थाहाखबर



