एनसेलले स्थापना गर्यो ‘एनसेल फाउन्डेसन’: सीएसआर परियोजनाहरूको माध्यमबाट समाजिक उत्तरदायित्वको विस्तार
नेपालको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (CSR) अन्तर्गतका परियोजनाहरूलाई अझ प्रभावकारी बनाउन ‘एनसेल फाउन्डेसन’ को घोषणा गरेको छ। कम्पनीले नेपालमा आफ्नो १९ औं वार्षिकोत्सवको अवसर पारेर यो घोषणा गरेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै भने, “विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढी व्यक्तिहरूको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गरेको छ। स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा कम्पनीले २ अर्ब रुपैयाँ (१ करोड ५० लाख अमेरिकी डलर ) भन्दा बढी सामाजिक कार्यमा खर्च गरेको छ।”
एनसेल फाउन्डेसनको मुख्य उद्देश्य सामाजिक कार्यहरूलाई एउटै छातामुनि ल्याएर थप समावेशी, कनेक्टेड र दिगो नेपाल निर्माणमा योगदान पुर्याउनु हो। कायुमोभका अनुसार, फाउन्डेसनले डिजिटल विभाजनलाई कम गर्ने, दिगो विकासका लक्ष्यहरू प्राप्तिमा सहयोग गर्ने, र थप स्वस्थ, दिगो तथा समृद्ध नेपाल बनाउनका लागि पहल गर्नेछ।
एनसेलले आफ्नो सुरुवाती दिनदेखि नै नेपालका ग्रामीण तथा शहरी क्षेत्रहरूमा दूरसञ्चार सेवामार्फत जनतालाई जोड्दै आएको छ। यो नयाँ फाउन्डेसनले एनसेलका सामाजिक कार्यहरूलाई नयाँ ढाँचामा अगाडि बढाउँदै नेपालको विकासमा दीर्घकालीन योगदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागीहरूले एनसेलको यो पहललाई सकारात्मक परिवर्तनको उदाहरणका रुपमा लिएको बताए।