कर्णालीमा ठाउँ नहुँदा मुगु , हुम्लाका कैदी बन्दी पुग्छन् लम्विनी प्रदेशमा

सुर्खेत  / कर्णालीका १० जिल्लामा क्षमता भन्दा दोब्बर कैदी , बन्दी हुँदा कारागारमा समस्या हुँदै आएको छ ।
कर्णालीका हुम्ला र मुगुमा कारगार कार्यालय नहुँदा यहाँका कैदी ,बन्दीहरु जुम्ला ल्याउने गरिएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आठवटै कारागारको क्षमता ६८६ कैदीबन्दी अट्ने कारागारमा हाल १ हजार १७० जना कैदीबन्दी रहेको अवस्था छ । यहाँका हरेक कारागारमा दोब्बर हाराहारी कैदी तथा थुनुवा कोचिएर बसेका छन् । सुर्खेत कारागारको क्षमता १०० को भएपनि हाल ४३१ जना कैदी बन्दी रहेका छन् ।

जाजरकोटमा ३५ को क्षमता रहेकोमा ६९ जना रहेको पाइएको छ । दैलेखका १०१ क्षमता भएपनि १६८ जना , रुकुम पश्चिममा २५ क्षमता भएपनि १५४ कैदीबन्दी रहेको पाइएको छ । सल्यानमा ३५ जनाको क्षमता रहेकोमा १४५ जना , जुम्लामा २०० क्षमतामा ११६ रहेको , कालिकोटमा ४० क्षमतामा हाल ५२ जना कैदीबन्दी रहेको पाइएको छ । डोल्पामा १५० क्षमतामा ३५ जना मात्र कैदीबन्दी रहेको प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।

जेलरहरूका अनुसार कतिपय कारागारमा कैदीबन्दीले शौचालय गर्न घन्टौँ पालो कुर्नुपर्ने वा लाइनमा बस्नुपर्ने अवस्था छ । सुर्खेत कारागारकी जेलर लक्ष्मी खरेलका अनुसार, कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कारागारको सुरक्षा र संवेदनशीलतामा समेत जोखिम बढेको छ । प्रदेशका कतिपय कारागारमा स्वास्थ्योपचार र खानेपानीको समेत समस्या छ । जिल्ला कारागार दैलेखका जेलर जितबहादुर खत्रीले कारागारभित्र खानेपानीको समस्या रहेको बताए ।

मुगु र हुम्लामा कारागार निर्माण सुरु भएपनि अझैँ सम्पन्न भएको छैन । यहाँका कैदीबन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता छ । यहाँ कैदी तथा थुनुवाहरूलाई हिरासतमा राख्ने र समय मिलाएर अन्य कारागारहरूमा लैजानु पर्ने बाध्यता रहेको मुगुका प्रहरी प्रमुख वीरेन्द्र थापाले बताउनुभयो । थापाका अनुसार मुगुका कैदीलाई जुम्ला, सुर्खेत, बाँके, दाङ र बर्दियामा पु–याउने गरिएको छ । हुम्लाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जिल्लामै कारागार भए सजिलो हुने बताए । हिमाली जिल्लामै कारागार नहुँदा कैदीबन्दी स्तान्तरण गर्नु भारी समस्य हुँदै आएको छ । राज्यले यस्ता खालका समस्या प्रति संवेदनशिल बन्नुपर्नेमा सबैको जोड रहेको छ । कारागार भित्र पालैपालो शौचालय , खानेपानी तथा सुत्ने अवस्था सिर्जना भएपछि कारागार प्रशासनको टाउको दुखाई बन्दै गएको छ । सबै भन्दा बढी महिला कैदीबन्दीलाई समस्या हुने गर्दछ । महिनावारी हुँदा सबै एकै ठाउँमा बस्दा समस्या हुने गरेको हो ।

मुगुको कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन , कारागार भवन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय, जुम्लाले ठेक्का गरेको थियो ।
आशीष कन्स्ट्रक्सन गाँडेखोला कम्पनीले सो भवन निर्माणका लागि तीन करोड ५० लाख ३६ हजार ६ सय २८ रकमको ठेक्का लिई सम्झौताअनुसार काम गरी केही भवनहरु सहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगुस्थित प्रतिनिधि कर्णबहादुर रावलले बताए ।

भवन निर्माण कार्य बाहिरी रुपमा सकेपनि भित्री कामहरु बाँकी रहेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । कारागार कार्यालय मुगुले दिएको जानकारीअनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थानान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजारदेखि एक लाखसम्म रकम खर्च हुने गरेको छ । आर्थिक वर्ष २०७० देखि हालसम्म कारागार कार्यालय मुगुको तथ्यांकअनुसार विभिन्न प्रकृतिका एक सय ५० भन्दा बढी कैदीबन्दीलाई जुम्लालगायत अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ । केहीलाई लुम्बिनी प्रदेशका समेत स्थान्तरण गरिएको छ ।

हुम्लामा लामो समयपछि जिल्लामा कारागार भवन निर्माण कार्य सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, जुम्लाले यसै आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि कारागारको भवन निर्माण कार्य सुरु भएको हो। जिल्ला प्रहरी कार्यालयको हाता भित्रै रहेको कारागारको आफ्नै जग्गामा भवन निर्माण कार्य सुरु गरिएको छ । भवन निर्माणका लागि लगानी गर्ने सघन सहरी विकास कार्यालय जुम्लाका सब–इन्जिनियर विमल रावतले भवनको चालिस प्रतिशत कार्य पुरा भएको बताए । आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने लक्ष्य लिएको उक्त भवनको दुई करोड १९ लाख लागत रहेको छ ।

कारागारको भवन नहुँदा १३ जना कैदीबन्दी थुनुवासँग प्रहरी हिरासतमा बस्दै आएका छन्। सबै कैदीबन्दीलाई प्रहरीले हाल दुई वटा कोठामा राख्दै आएको छ। कारागार नभएको कारण प्रहरीले निक्कै कठिनाइका साथ कैदीबन्दीको व्यवस्थापन गर्दै आएको छ ।





error: Content is protected !!