भेरी करिडोर ६२ किमी सडकको बोलपत्र हुँदै
सुर्खेत ः भद्रगोल अवस्थामा रहेको भेरी करिडोर सडक आयोजना बल्ल लयमा आउन थालेको छ । जाजरकोट खण्डमा रहेको ५६ किलोमिटर सडक खण्डमा कालोपत्रे हुने क्रम जारी रहे पनि रुकुम पश्चिम हुँदै डोल्पाको दुनैसम्म ठेक्का नलाग्दा निर्माणमा ढिला भएको थियो । ठेक्का लाग्नुपूर्व हुने सबै खालका प्रक्रियागत काम अहिले चलिरहेकाले अबको दुई महिनाभित्र कालोपत्रेका लागि ठेक्का लाग्ने आयोजनाका प्रमुख सुनिल रन्जितकारले बताए ।
लामो समयदेखि ठेक्का लागेर पनि निर्माण चरणमा जान नसकेका ५६ किलोमिटरभित्रका पुल वर्षात् लगत्तै निर्माण कार्य सुरु हुने आयोजना प्रमुख रन्जितकारले जानकारी दिए । जाजरकोट–डोल्पा सडक खण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुल ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनले अलपत्र पारेको हो । सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो । ठेक्का लिएको पाँच वर्ष बित्दासम्म काम नै सुरु नहुँदा यस क्षेत्रका स्थानीयबासी आक्रोषित भएका छन् ।
जाजरकोटको नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, त्रात्रगाड, झुम्रेखोला र नलगाड नदीमा क्याराभानले पुल निर्माण नगरेर अलपत्र पारेकोमा अब लगत्तै सुरु गर्ने सहमति भएको प्रमुख रन्जितकारले बताए । डिजाइन स्टिमेट सडक विभागमा पास नगरी बेपत्ता भएका क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकाली सम्पर्कमा आएर काम सुरु गर्छु भनी सहमति गरेको उनले बताए । डिजाइन स्टिमेट पास गर्न पुल महाशाखालाई ताकेता गर्नुको साटो चुप लागेर बसेपछि पुल निर्माणमा ढिलाइ भइरहेको थियो ।
अहिले भेरी नदीका केही ठाउँमा कम भारवहन क्षमताका बेलिब्रिज पुल निर्माण गरेर यातायातका साधन सञ्चालन भइरहेका छन् । त्यस्तै जाजरकोटको तल्लुबगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाईपी एमआर जेभी, चितवनले ठेक्का पाएको थियो । २६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ । यो कामको अनुगमन तथा मूल्यांकनको काम पुल सेक्टर, सुर्खेतले हेर्दै आएको छ । ६ महिनाभित्र डिजाइन गरिसकेर पुलको भौतिकतर्फको काम सुरु गर्नुपर्ने भए पनि हालसम्म काम सुरु हुन नसकेको हो ।
पुल निर्माणको ढिलाइले यस क्षेत्रमा यातायात सेवा सञ्चालनमा चुनौती थपिएको छ । त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ । भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म २३१।५ किलोमिटर लम्बाइ छ । भेरी करिडोरको जम्मा लम्बाइ ३१० किलोमिटर छ । अहिले पासागाड–रिम्ना हुँदै तल्लुबगरसम्म पिचको काम सुरु भएको छ । यो सडकखण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ ।
अहिले एकाध ठाउँमा बेलिब्रिजबाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारवहन क्षमता भएका ट्रक, यातायातका साधन डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् । यति बिल्ड्रसले पिचको ठेक्का लिएको छ । ठूला भारवहन क्षमता भएका सवारीसाधन तथा बस सञ्चालन हुनका लागि यस सडक खण्डमा पक्की पुल निर्माण हुनु जरुरी छ । यसैबीच डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ ‘चु’ गाडमा भेरी करिडोर सडक आयोजनाद्वारा अस्थायी संरचना निर्माण गरेर यातायातका साधन सहज रूपमा आवतजावत गर्ने बनाएको छ ।
आयोजनाका प्रमुख रन्जितकारका अनुसार रातदिन काम गर्दा सहज रूपमा यातायातका साधन सञ्चालन गर्नसक्ने अवस्था सिर्जना भएको छ । नयाँ कार्यालय प्रमुख रन्जितकार आएदेखि भेरी करिडोरमा कामले तीव्रता पाएको देखिन्छ । भेरी करिडोरमा वर्षात्को अवधिमा समेत लामो अवधि सडक अवरुद्ध हुन पाएको छैन । अवरुद्ध सडक खुलाउन करिडोरका कर्मचारी युद्धस्तरमा खटिएर काम गरिरहेको रन्जितकारले बताए ।