अनियमित विद्युत हुने कर्णालीमा चोरीमा कर्णाली पहिलो‚ मधेश प्रदेश दोस्रो

काठमाडौँ ः मुलुकका ७ प्रदेशमध्ये सबैभन्दा बढी विद्युत चोरी (चुहावट) कर्णाली प्रदेश र दोस्रोमा मधेश प्रदेशमा हुने गरेको पाइएको छ। बागमती प्रदेशमा भने सबैभन्दा थोरै बिजुली चुहावट हुन्छ।

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको आव ०८०/८१ को तथ्याङ्कअनुसार कर्णालीमा विद्युत चुहावट २१ दशमलव ७९ प्रतिशत र मधेश प्रदेशमा १५ दशमलव २९ प्रतिशत रहेको छ।

प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५० प्रतिशत बिजुली चोरी चुहावट रहेको छ भने कोशी प्रदेशमा ९ दशमलव ८७ प्रतिशत रहेको छ।

विद्युत चुहावट लुम्बिनी प्रदेशमा ८ दशमलव ५९ प्रतिशत‚ गण्डकी प्रदेशमा ७ दशमलव ६७ प्रतिशत र बागमती प्रदेशमा ५ दशमलव ६० प्रतिशत रहेको छ।

नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले सातै प्रदेशमध्ये मधेश प्रदेश विद्युत चुहावटमा दोस्रो स्थानमा रहेको बताए।

‘‘सातवटै प्रदेशमा हुने विद्युत चुहावटमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुने गरेको छ। कर्णालीमा हुने विद्युत चुहावट प्राविधिक कारणले भएको हो’’, उनले भने, ‘‘मधेश प्रदेश दोस्रो धेरै विद्युत चुहावट हुने स्थानमा पर्नुको कारण गाउँगाउँमा लुकीछिपी विद्युत चोरी गर्ने प्रवृत्ति देखिएको छ।’’

प्रादेशिक कार्यालय प्रमुख ठाकुरले मधेश प्रदेशमा सर्वसाधारणले विद्युतको पोलबाट सोझै हुकिङ गरेर, मिटरबाट र सिँचाइका लागि जडान गरेको लाइनबाट धेरै विद्युत चोरी हुने गरेको बताए।

‘‘हामीले गत आवमा मात्रै विद्युत चुहावटमा संलग्न २ हजार ६५६ जनालाई समातेर कारबाही गरेका छौँ’’, उनले भने, ‘‘जनचेतनाको अभावले पनि मधेश प्रदेशमा विद्युत चुहावटका घटना धेरै हुने गरेका छन्।’’

मधेश प्रदेशमा प्राधिकरणका २३ वटा वितरण कार्यालय छन्। प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार मधेश प्रदेशमा आव ०७७/७८ मा विद्युत चुहावट १६ दशमलव ५४ प्रतिशत रहेको थियो।

आव ०७८/ ७९ मा भने चुहावट १४ दशमलव १७ प्रतिशतमा झरेको थियो।

तर आव ०७९/ ८० मा विद्युत चुहावट १३ दशमलव ७९ प्रतिशतमा सीमित भएको थियो। आव ०८०/ ८१ मा भने विद्युत चुहावट केही प्रतिशत बढेर १५ दशमलव २९ प्रतिशतमा पुगेको छ।





error: Content is protected !!