हिल्सा नाकाबाट सामान आयातमा कडाइ

हुम्ला ः हिल्सा नाकाबाट चीनको पुराङ काउण्टीको ताक्लाकोटबाट सामान आयातमा चीनले कडाइ गरेको छ । सामान नेपाल आयात गर्दा अनिवार्य कन्टेनर प्रयोग गर्नुपर्ने नियम लागु गरेपछि सीमित सामान मात्र हिल्सा नाकामा आउने गरेको हो ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टले हाल ताक्लाकोटबाट आयात हुने सामानको परिमाण निक्कै घटेको बताउनुभयो । उहाँले केही समययता चिनियाँ पक्षले ताक्लाकोटबाट सामान नेपाल लिनका लागि कन्टेनरमा प्याकिङ गर्नुपर्ने र त्यसो गर्दा धेरै परिमाणमा सामान लिनुपर्ने भएपछि व्यापारीहरुलाई सामान आयात गर्न कठिन भएको बताउनुभयो ।

ताक्लाकोटबाट ब्यक्तिले आफूसँग सामान ल्याउन परे एक बोरा मात्र ल्याउन दिने गरेको छ । उहाँले व्यापारीले पनि कन्टेनर रिजर्भ गरेर सामान आयात गर्न सक्ने अवस्था नभएपछि सामान आयातमा कठिनाइ भएको बताउनुभयो । यसरी सामान आयात गर्नुपर्ने भएपनि व्यापारी तथा निर्माण व्यवसायीहरु प्नि हिल्सा छोड्न थालेको उहाँले बताउनुभयो। यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले ताक्लाकोटबाट सामान कम आउन थालेपछि भन्सार शुल्क पनि निक्कै घटेको बताउनुभयो ।

पटकपटक परिवर्तन भइरहने चिनीयाँ नियमको कारण नेपाली व्यापारी र सर्वसाधारणहरुलाई ताक्लाकोट गएर व्यापार गर्न समेत कठिन हुन थालेको उहाँले बताउनुभयो । यसले गर्दा हिल्सामा व्यापारीहरु बस्न छोडेको उहाँले बताउनुभयो । यसअघि आवश्यकताका आधारमा साउन आयात हुने गरेको थियो । हिल्सामा व्यापार गर्न गएका व्यापारीहरु पनि सिमकोट फिर्ता हुने तयारीमा छन् । स्रोत ः गोरखापत्र





error: Content is protected !!