विद्यालयबाहिर सैँतिस हजार बालबालिका

सुर्खेत ः विद्यालय जाने उमेरका कर्णाली प्रदेशका बालबालिकामध्ये सात प्रतिशतले विद्यालय टेक्न पाएका छैनन् । कर्णालीमा चार वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने बालबालिकाको सङ्ख्या पाँच लाख १९ हजार ५२० रहेको छ । त्यसमध्ये चार लाख ८२ हजार ५३७ जना मात्र विद्यालय भर्ना भएका छन् । ३६ हजार ९८३ जना अर्थात् ७.१ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको एक अध्ययनमा सो तथ्याङ्क सार्वजनिक भएको हो । युनिसेफ र ग्लोबल एक्सनमार्फत सो अध्ययन गरिएको थियो । विद्यालयबाहिर रहेका बालबालिकाको अवस्थाबारे गरिएको अध्ययनमा सात प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सरोकार पक्षले सहयोग गर्नुपर्ने सुझाव दिइएको छ ।

केन्द्रका निर्देशक नीलकण्ठ ढकालले बालबालिकालाई विद्यालयसम्म ल्याउने योजना बनाउन आग्रह गर्नुभयो । कर्णालीमा शिशु कक्षामा पढ्ने चार वर्षमुनिका ३६ हजार ३६७ जनामध्ये ७.६ प्रतिशत अर्थात् दुई हजार ७६४ जना विद्यालयबाहिर छन् । पाँच वर्षदेखि नौ वर्षसम्मको कक्षा ५ सम्मको आधारभूत शिक्षा पढ्ने एक लाख ९१ हजार ७१८ जना बालबालिकामध्ये ५.९ प्रतिशत अर्थात् १० हजार ६१९ जना बालबालिका विद्यालयबाहिर छन् । निर्देशक ढकालले कक्षा ६ देखि ८ सम्म पढ्ने उमेर समूह १० देखि १२ वर्षका एक लाख २१ हजार ८१९ जना बालबालिकामध्ये ६.७ प्रतिशत अर्थात् आठ हजार २१२ जना बालबालिका विद्यालयबाहिर रहेको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार १३ वर्षदेखि १४ वर्ष उमेर समूहका कक्षा ९ / १० मा अध्ययन गर्ने ८६ हजार ५५३ जना बालबालिकामध्ये ३.८ प्रतिशत अर्थात् तीन हजार ३१२ जना विद्यालयबाहिर छन् । यस्तै १५ वर्षदेखि १७ वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययन गर्ने ९३ हजार ६३ जना बालबालिकामध्ये १३ प्रतिशत अर्थात् १२ हजार ७६ जना बालबालिका विद्यालयबाहिर रहेका छन् । कर्णालीमा विद्यालय छोड्ने क्रमसमेत उत्तिकै छ । आधारभूत तहमा १६।५ प्रतिशत, निमावि तहमा २३ प्रतिशत र मावि तहमा ७८ प्रतिशत जोखिम रहेको अध्ययनमा देखाइएको छ । केन्द्रका निर्देशक नीलकण्ठ ढकालले कर्णालीमा भौगोलिक विकटता, बेरोजगारी, गरिबी, मौसमी बसाइँसराइलगायतले बालबालिकाले विद्यालय छोड्ने जोखिम रहेको बताउनुभयो ।

कर्णाली प्रदेशका प्रमुख सचिव डा चूडामणि पौडेलले विभिन्न कारणले बालबालिकालाई विद्यालयमा शतप्रतिशत ल्याउन नसकिएको बताउनुभयो । उहाँका अनुसार कर्णालीमा मौसमी बसाइँसराइ र रोजगारीको खोजीमा भारत जाने प्रवृत्ति बढ्दो छ । अभिभावकसँगै बालबालिकासमेत गाउँ छाड्ने भएकाले त्यस्ता बालबालिका विद्यालयमा भर्ना भएर पनि अध्ययनमा निरन्तरता नहुने समस्या रहेको छ । उहाँले बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन र विद्यालयमै टिकाउन सरकारी तथा गैरसरकारी निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो ।





error: Content is protected !!