दुर्गा प्रसाईँको कुण्डली ः भोलि उठी कहाँ जाने…..

काठमाडौं : नेपाली समाजको एउटा तप्का महानायकको खोजीमा छ । यही भिडमा केही राजावादीहरु दुर्गा प्रसाईँलाई महानायकका रुपमा प्रस्तुत गर्दैछन् । उनीहरु अब प्रसाईँले राजसंस्था फर्काइदिने र देशका सम्पूर्ण समस्या समाधान हुने विश्वासमा छन् । राजतन्त्र फर्काउँदा बैंकको ऋण पनि स्वतः मिनाहा हुन्छ भन्ने प्रसाईँले दाबी गरेका छन् । उनले बैंकको ऋण र राजतन्त्रलाई एकैठाउँमा घोलेर प्रचार गरिरहेका छन् ।

के दुर्गा प्रसाईँँ त्यस्तो महानायक बन्न सक्लान् ? जसले, कमल थापा र राजेन्द्र लिङ्देनले गर्न नसकेको काम फत्ते गरुन् ।

नेता कसले जन्माउँछ ? समाजले । नेता कसले खुस्काउँछ ? समाजले नै । समाज जस्तो छ, त्यस्तै नेता जन्मन्छ । जब समाजले पारस शाहलाई गद्दी सुम्पिएर देशको तमाम समस्या समाधान हुन्छ भन्ने ठान्छ, त्यो समाजले जन्माउने नेता दुर्गा प्रसाईँहरु नै हुन् ।

कांग्रेस र एमालेसँग निराश बनेका जनताले २०५८र०५९ सालमा ‘राजा आऊ देश बचाऊ’ भन्दै ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष शासनका लागि उक्साए । राजाको शासन भोगेका जनताले एकाध वर्षमै गणतन्त्रवादीलाई रोजे । ०६४ को संविधानसभा चुनावमा प्रचण्डले केही गर्लान् कि भनेर जनताले माओवादीलाई जिताए । तर, प्रचण्डले ‘नायकत्व’ सम्हाल्न सकेनन् । देश त के, आफ्नै पार्टी सम्हाल्न नसकेर माओवादी चोइटियो ।

माओवादीसँग विश्वास टुटेपछि मानिसहरुले फेरि केपी शर्मा ओलीलाई ‘राजनेता’ बनाउँदा पो हुन्छ कि भन्ने ठाने । ०७४ को चुनावमा नेकपाले झण्डै दुई तिहाई मत पनि ल्यायो । तर, ओली पनि आफ्नै पार्टी व्यवस्थापन गर्न नसकेर चुके ।

तीन प्रमुख दलका नेताप्रति विश्वास टुट्न थालेपछि ०७९ को चुनावमा ११ लाख मतदाताले रवि लामिछानेलाई नायक बनाउने कोशिस गरे । त्यसअघिको स्थानीय चुनावमा बालेन्द्र शाह र हर्क साम्पाङहरुलाई जिताएर जनताले नयाँ नायकको खोजबिन थालिसकेका थिए ।

यही नायक खोज्ने अभियानमा अहिले एकाएक दुर्गा प्रसाईँँ यसरी छाएका छन् कि रवि लामिछानेसमेत छायाँमा पर्लान् कि जस्तो माहौल बनाइएको छ । प्रसाईँं राजेन्द्र लिङदेनभन्दा बढ्दा राजावादी बनेर निस्किएका छन् । भलै, उनीसँग न पार्टी छ, न कुनै स्पष्ट राजनीतिक कार्यदिशा ।

के दुर्गा प्रसाईँले ‘राजतन्त्र पुनःस्थापना’ को रथलाई नारायणहिटीसम्म पुर्याउलान् रु राजतन्त्र फर्काउने नीति लिएका राजावादीहरुको रथ हाँक्ने मुख्य सारथी अब को बन्ला ? राजेन्द्र लिङदेन ? कमल थापा ? वा, यिनै दुर्गा प्रसाईँ ? अथवा, उनीहरु सबै मिल्ने सम्भावना पनि छ कि ? राजावादीहरुको आन्दोलनभित्र मडारिएका जटिल प्रश्न यिनै हुन् ।

यो कुरामा विवाद छैन कि दुर्गा प्रसाईँ सधैं विवादमा आइरहने पात्र हुन् । उनको विगत हेर्ने हो भने उनले पूर्वराजालाई पनि कहिलेसम्म बोक्छन्, ठेगान छैन । भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मलेनमै उनी भन्दै थिए– राजाको कुरा पछि गरौं, अहिले बैंकको ऋण मिनाहा गर्ने कुरा नै मुख्य हो ।

ज्ञानेन्द्र वा पारसलाई सेरमोनियल राजा बनाउँदैमा देशका सम्पूर्ण समस्या समाधान हुन्छन् भन्ने राजवादीहरुको भाष्य कति हास्यास्पद छ, त्यतातिर नजाऔं । यहाँ केन्द्रित हुन खोजिएको विषय दुर्गा प्रसाईँको ‘प्रोफाइल’ मा मात्र हो ।

दुर्गा प्रसाईँको ‘उत्थान’ बारे चर्चा गर्नुभन्दा पहिले उनका अभिव्यक्ति कति अस्थिर, हिंसात्मक अनि हावाले भरिएका छन्, चर्चा गरौं–

नकारात्मकता भड्काउने हिंसात्मक अभिव्यक्ति

नेताले सभ्य बोलि र व्यवहार प्रदर्शन गर्न सक्नुपर्छ । देशको नेतृत्व गर्छु भन्ने मान्छेले सबै विचार र भावना भएका मानिसहरुलाई सम्मान गर्न सक्नुपर्छ । तर, दुर्गा प्रसाईँँ विपक्षी र आलोचकलाई भौतिक रुपमै ठेगान लगाइदिने अभिव्यक्ति दिन्छन् । कुट्नुपर्छ, कुटिन्छ भन्छन् । यो पाराले उनका हातमा सत्ता आयो भने विपरीक्षमाथि कस्तो व्यवहार होला ? प्रश्न उब्जन्छ ।

भाषण गर्ने प्रसाईँको आफ्नै शैली छ । ठेट झापाली पारामा उनले दोहोर्‍याइरहने ‘फ्रेज’ यस्ता छन्–

कुरा बुझ्नु भो के ? त्यसकारणले गर्दा खेरि नि‘ तपाई हामीलाई नि‘ हेर्नोस् है १ बुझ्नुभो त कुरो रु तपाईले के बुझ्नोस् भने नि‘ सुन्नोस् कुरो‘ सुन्नोस् है फेरि १

दिनहुँका भाषणमा प्रसाईँ प्रायः आफ्नै बहादुरीका कुराहरु र सम्पत्तिको धाक दोहोर्‍याइरहन्छन् ।

अब केहीबेर प्रसाईँका गफ सुनौं–

–ए मेरा भाइ यो कुरा नगर्नु न, भोलि के हुन्छ, पर्सि के हुन्छ, यो व्यवस्था परिवर्तन भएको राति भोलिपल्ट उज्यालो हुने दिन बैंकको ऋण मिनाहा हुन्छ । यो देशको अर्को शंखरधर साख्वा हो दुर्गा प्रसाईँ । ल, लेखेर राख्नोस् । मिनाहा गराइदिन्छु । चार अर्ब लाग्छ । यदि राज्यले मिनाहा गर्छ भने मेरो ८० प्रतिशत सम्पत्ति लैजाओस् । शुद्धोधनका छोराजस्तै म पनि दरबार छोडेर हिँडेको हुँ । म घर गाडी सप्पै छोडेर तपाईहरुको पीडा खेप्न नसकेर आएँ । म सर्वहारा वर्ग र भूइँमान्छेको मान्छे हुँ ।

–राजा महेन्द्रपछि दुर्गा प्रसाईँको उत्पति भएको छ । दुर्गा प्रसाईँले यो देशलाई विकासको मार्गमा लान्छ । आज यो समय दुर्गा प्रसाईँको हो । मसँग सम्पत्ति छ, छोराछोरी डाक्टर छन् । म क्यान्सर सर्भाइभर मान्छे हो । मलाई घाँटीमा समस्या छ तर यी नागरिकका घरमा गएर हेर्नोस् यिनीहरुको हालत कस्तो छ । यिनीहरुको गाउँमा सुत्ने सिरक ढसना छैन‘ परालमा सुत्छन् । खाटसमेत लुघु वित्तले लगेको छ । परालमा सुतेर सापले टोकेर झापा २८ जनाको ज्यान गयो योपल्ट । हाम्रा चेलीहरुले रुखको हाँगोमा झुण्डिएर आत्महत्या गर्नुपरेको छ । गणतन्त्रमा यस्तै हुन्छ । तपाईहरुले ल्याएको गणतन्त्र होइन ?

– यो व्यवस्था परिवर्तन भएको एक वर्षमा ५० लाख मान्छेलाई नेपालमा फर्काएर काम लाउँछु । त्यसको वातावरण दुर्गा प्रसाईँले मिलाउँछ । जीरो पर्सेन्ट ब्याजमा म ऋण दिलाउँछु । बैंक वित्तीय संस्था, सहकारी, लघु वित्त, स्टक एक्सचेञ्ज विदेशी मारवाडीहरुको हातमा गयो । हामीले अब यिनीहरुलाई लखेट्नुपर्छ । यो देश जोगाउनु हो भने हामीले लखेट्नुपर्छ । म सुन तस्करको घर देखाइदिन्छु, मेडिकल तस्करको घर देखाइदिन्छु । म हरेक तस्करको घर देखाइदिन्छु । तर, तपाईहरुले गएर एट्याक गर्न सक्नुपर्छ । अनिमात्रै यो देश जोगिन्छ, तपाईहरुका चेलिबेटी जोगिन्छन् । होइन भने त कोही पेट्रोल बोक्नोस्, डोरी बोक्नोस्, हिँड्नोस् । अब मैले के गर्ने ?

– मैले भनेको छु एक महिना टाइम दिनोस् मलाई । दुई लाखदेखि तीन लाख महिला यो रत्नपार्कदेखि बानेश्वरसम्मको बाटोमा हगेर बसेपछि नि, आफैं यहाँ व्यवस्था परिवर्तन हुन्छ । केही गर्नुपर्दैन, माओवादीजस्तो बन्दुक पड्काएर हिँड्ने हामीसँग सेना छैन । हामी आतंककारी होइनौं ।

–भोलि र पर्सिदेखि ७७ वटै जिल्लामा जनविद्रोह शुरु हुन्छ । यो व्यवस्था परिवर्तन नभएसम्म निरन्तर आन्दोलन जान्छ । म भाग्नेवाला छैन । मलाई लगेर मारे पनि, मलाई थुने पनि यो आन्दोलन अगाडि गयो । भोलिदेखि हाम्रो आन्दोलन निरन्तर हो, ११ बजे खाना खाने अनि कार्यक्रममा जाने ।

–श्रीलंकामा जे गरेका थिए जनताले, जहाँ जहाँ भेट्छन्, त्यहीँ त्यहीँ मसाज गर्छन् । अब कसरी हिँड्दारहेछन् हेरौं न १

–आमाको दूध पिएको छ भने जेलमा हालेर हेरोस् न, कस्तो कुरा गरेको हौ भाइ ?

–तपाईँलाई थाहा छ एउटा कुरो ? काठमाडौं आउने मान्छेलाई पुलिसले रोकेको छ बाटोमा । छाम्ने ठाउँमा पनि छामेको छ, नछाम्ने ठाउँमा पनि छामेको छ । र पनि मानिसहरु आएका छन् ।

–अब व्यवस्था परिवर्तन गर्छ, व्यवस्थापछि अवस्था परिवर्तन गर्छ । त्यसपछि राजनीतिक परिवर्तन गर्छ । हामीले यहाँबाट एमसीसी धकेल्नु छ । हामीले यहाँबाट बीआरआई धकेल्नुछ । दुईटा लफडा यहाँबाट हटाउनु छ हामीले । अनि हामीले नेपाललाई नेपाल बनाउनु छ । वैदिक सनातन हिन्दुराष्ट्र बनाउनु छ हामीले । हाम्रो धर्म हाम्रो कल्चर ।

– प्रधानमन्त्री भारत जाँदा भैंसी दिएर पठाए, अर्कोपटक जाँदा कुकुर दिएर पठाउँछन् । कुकुर रेडी गरेर राखेको छ वहाँ ।

– अहिले बाबुले छोराको किरिया गर्न पाएनन् । यो गणतन्त्रले गर्दा भएको हो । यो वातावरण गणतन्त्र फ्याँकेपछि आउँछ । यो गणतन्त्र दुर्गा प्रसाईँको नेतृत्वमा फ्याँकिन्छ । म यो गणतन्त्र फ्याँकेर मात्रै लड्ने भए पनि सांसद लड्छु । म त्यत्तिकै सांसद लड्दिँन । राजालाई त्यो ठाउँमा लगेर राखेर अनि मात्रै सांसद हुन्छु ।

–यी काठमाडौंका व्यापारीहरु दुर्गा प्रसाईँले बोलिदिएकाले गर्दा बाँचेका छन् । मैले बोलिदिएकाले गर्दा बाँचेका छन् । पहिले ब्ल्याक लेबल खाने व्यापारीहरु अहिले खोया खान्छन् रे छतमा बसेर । खोया रक्सी ।

– काठमाडौं ललितपुर भक्तपुर, कीर्तिपुरका तपाईहरुलाई साथ दिन बाहिरबाट मानिसहरु कति आउँछन् ? कहिलेसम्म मानिसहरु आउँछन् ? तपाईहरुको घरजग्गा जमीन आज ७० प्रतिशत दोकान बन्द हुँदैछ । अब अलि दिनमा काठमाडौं खाली हुन्छ, यी घर जम्मै खाली हुन्छन् । यहाँ भाडामा मानिस पाइँदैन । अब कतिदिन टिक्नुहुन्छ तपाई काठमाडौंबासीहरु ? यो काठमाडौंमा स्याल रोएको देख्न पाइन्छ, अब यही तरिकाले तपाईहरु बाहिर निस्कनुभएन भने ।

– तपाईहरु पर्खिँदै जानोस्, पत्रकार साथीहरुलाई म भन्छु, असार मसान्तमा ६० प्रतिशत दोकानहरु बन्द हुँदैछन् । असोज मसान्तमा ८० प्रतिशत र पुस मसान्तमा १०० प्रतिशत दोकानहरु बन्द हुँदैछ । तपाईहरु यो कुरा लेखेर राख्नोस्‘ मेडिकल कलेज बन्द हुँदैछ, अब टिचिङ र वीर अस्पताल पनि बन्द हुन्छ ।

–बालेनजीलाई पनि १ फेसबुकमा मात्रै लेख्ने होइन, दुर्गा प्रसाईँँसँग आएर उभिनोस् यदि मुलुक बनाउनु छ भने । म बालेनलाई के भन्छु भने आउनोस् बालेनजी तपाईलाई जनताले मन पराए भने तपाई नै कार्यकारी प्रधानमन्त्री बन्नोस्, मलाई चाहिँदैन । आउनोस् यी महिलाहरुको आँखाबाट आँशु पुछौं । तपाई सप्तरी सिराहातिरको साह हो, यहाँ जम्मै सप्तरी सिरहातिरका साह महिलाहरु आएका छन् । राज्यलाई चाहिन्छ भने मेरो २० प्रतिशत मात्रै राखेर सप्पै सम्पत्ति राज्यलाई दिन चाहन्छु ।

–अहिले बैंकले लगानीतिर भन्दा पनि धितोतिर ध्यान दिएको छ । तपाईहरुका घर जग्गा हामी हडप्न दिँदैनौं । लेनिनले बैंकविरुद्ध अक्टोबर क्रान्ति सुरु गरेका थिए, हाम्रो पनि त्यस्तै क्रान्ति हो । तर, त्यो भन्दा खत्रा क्रान्ति हुन्छ यहाँ ।

– हाम्रो युवा दस्ताको नाम कालोमोसो नेपाल थियो, हामीले आज त्यसको नाम नागरिक आर्मी भनेर राखेको छ, अब तपाईहरुलाई सुरक्षा दिने ।

– केपी ओली कस्तो मान्छे तपाईलाई थाहा छ रु छिमेकीको दुईवटा आँखा फुट्ने भयो भने आफ्नो एउटा आँखा फुटाउने मान्छे । प्रचण्ड त वास्तवमा लोयल मान्छे हो नि । प्रचण्डमा अलिकति भए पनि राजनीतिक संस्कार छ । केपी ओलीमा छैन । म त २० वर्ष सँगै बसेर खाएको हो । प्रधानमन्त्री (दाहाल) को कुरा नगरौं, उहाँले कुरा बुझ्नुभएको छ ।

–केपी ओली म त १४ वर्ष जेल बसेको भन्छन् । ज्यान मारेर जेल बसेको । २०२८ सालमा जसले धर्मप्रसाद ढकाललाई १२८ टुक्रा गरेर काटेर बोरामा हालेर जेल परेको । हामी हो, गणतन्त्रका लागि जेल बसेको । म ६ महिना सैनिक हिरासतमा बसेको हुँ ।

– महेश बस्नेत भनेको त घरमा पाहुना लाने मान्छे होइन नि । महेश बस्नेतलाई पाहुना लग्यो भने श्रीमती जोगाउनुपर्‍यो ।

– मेरो ? एत्राको ल्याओस् न । जम्मै केटी ल्याओस् न । ड्याम कि ड्याम घर किनेर राख्दिन्छु । महेश बस्नेतले एउटा केटी लिएर आओस्, घद्रक्क घर किन्छु । ५ करोडको घर किनेर थन्क्याउँछु । मेरा बाबुले सातवटी ल्याएको हो‘ हामी मागीखानेको सन्तान होइन ।

– रवि लामिछानेको एउटा कुरामा चाहिँ म समर्थन गर्छु । बाह्र भाइ भन्छन् नि । यो देश सक्ने भनेको १२ भाइले हो । बाह्र भाइ भनेका देशका कुलांगार हुन् यो व्यवस्था परिवर्तन भएछ भने यी आँखाले हेरिन्छ राम्ररी । यो कुरा साथीभाइहरुले हेक्का राख्नुहोला ।

– यिनीहरुले तलमाथि गरे भने यिनीहरु रहँदैनन् । खिलराज रेग्मीजस्तै कोही मान्छे प्रधानमन्त्री भएर चुनाव गराउँछ ।

–राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिलाई जोगाउनुपर्छ भनेर अभियान सुरु गरेको हो । सचिवालय छ । केन्द्रीय कमिटी ९० जनाको बनिसकेको छ । आफ्नो नाम परेन भनेर गुनासो नगर्नुहोला ।

– हो, मैले ऋण लिएको छु । ५ हजार मान्छेलाई रोजगारी दिएको छु । धितो राखेर मैले काम गरेको छु । म आज क्लियर गर्दिन्छु । मलाई बीएण्डसी मेडिकल कलेज बनाउनलाई राज्यले अनुमति दियो । तिमी बिर्तामोडमा एमबीबीएस पढाउने गरी तिमीले मेडिकल कलेज बनाउ भनेर लाइसेन्स दियो । एमबीबीएस भनेरै लेखेको छ । मलाई लाइसेन्स दिएपछि मैले खुरुखरु भएको सम्पत्ति बैंकमा राखेर लोन लिएर मैले मेडिकल कलेज बनाएँ । हस्पिटल बनाएँ । बैंकसँग शर्त के छ भने फस्ट विद्यार्थी इन्ट्री भएपछि पहिलो किस्ता शुरु हुन्छ । तर, आजसम्म सरकारले विद्यार्थी पढाउन दिँदैन, मेरो गल्ती हो कि सरकारको गल्ती हो ? ल तपाईहरु भन्नोस् ।

(स्रोत ः सामाजिक सञ्जालमा प्रसाईँको अभिव्यक्तिबाट)

अब दुर्गा प्रसाई को हुन् र उनी कसरी सतहमा आए भन्नेबारे छलफल गरौं ।

को हुन् प्रसाई ?

तेह्रथुमको आठराईमा जन्मेर झापा बसाई सरेका दुर्गा प्रसाद प्रसाईँ झापा आन्दोलनका बेला भर्खर जन्मेका थिए । नागरिकता अनुसार उनको जन्म २०२८ साल बैशाख २० गते भएको हो ।

हाल अर्जुनधारा नगरपालिकाको बसपार्क नजिकै दुर्गा प्रसाईँको परिवारको बसोबास थियो । उनीहरु खेतीपाती गर्थे । प्रसाईँले कक्षा ८ भन्दा बढी पढ्न सकेनन् ।

हाल बीएण्डसी अस्पताल रहेको स्थानमा यसअघि खेत थियो । करिब चार बिघा खेतको बीचमा गिरी परिवारको एउटा काठे घर थियो । श्रीमान् सौतासँग अर्कै घरमा बस्थे, खेतको घरमा आमा र छोराछोरीहरुमात्रै बस्थे । अन्ततः दुर्गा प्रसाईले सोही घरकी कन्यासँग बिहे गरे । झापामा गिरीबन्धु टी स्टेट चलाएर बसेका खलकसँग दुर्गा प्रसाईँको कुटुम्बेरी साइनो जोडियो ।

तर, आफ्नी सासूआमा र सालासालीलाई ससुरा बाले अंश नदिएर हेलाहोचो गरेका थिए । आफूले भोगचलन गरेको काठे घर र चार बिघा खेत राजीनामा पास गरिदिन तारन्तार गरेका माग सुनुवाइ नभएको प्रसाईँले थाहा पाए । त्यसपछि उनी ससुरा बासँग ‘न्यायको लडाइँ’मा होमिए । ससुरालीलाई ‘भाटे कारवाही’ गर्न उनले माओवादी लडाकुको सहारा लिए ।

त्यसो त, माओवादीमा लाग्नुअघि प्रसाईँलाई वैदेशिक रोजगारीमा जाने सोचाइ पलायो । उनी प्रक्रिया मिलाएर युरोप भासिए । करिब एक वर्षमै स्वदेश फर्केका प्रसाईँले पोल्याण्डमा कृषि फार्ममा काम सिकेर आएको भन्दै झापामा भैंसी पालन व्यवसाय शुरु गरे ।

सुसरालीको उही खेतमा भैंसी फार्म बन्यो । भारतबाट मुर्रा भैंसीहरु ल्याए । झापामा त्यसबेला दुर्गा प्रसाईँको भैंसी पालन व्यवसाय राम्रैसँग फस्टाएको र चर्चामा आयोग त्यसबेलाका जानकारहरु बताउँछन् ।

नजिकबाट चिन्नेहरु प्रसाईलाई दुस्साहसी व्यक्ति ठान्छन् । उनी जोखिम मोल्न आँट गर्ने मानिस हुन् । उनले त्यसबेला भारतको हरियाणाबाट भैंसी ल्याएर पालेका थिए । फर्ममा छिर्ने ठाउँमा गेट लगाएका थिए । हरियाणाबाट एक जना भारतीय भैंसीको पैसा नतिरेको भन्दै धाइरहन्थे । एक दिन उनी गेटबाट रुँदै र खुट्टो खोच्याउँदै बाहिरिएका थिए, त्यसपछि कहिल्यै झापा फर्किएर आएनन् ।

प्रसाईँले सुरुमा मोटर साइकलमा राखेर दूध बेचे । त्यसपछि गाडी किनेर गाडीमा दूध बेच्न थाले । उनी मेचीपुल तरेर भारतमा पनि दूध बेच्न जान्थे । बोल्न सिपालु भएकाले प्रसाईँको व्यापार राम्रैसँग फस्टायो ।

माओवादीले जनयुद्ध शुरु गरिसकेका बेला प्रसाईँको भैंसीपालन राम्रोसँग चलिरहेको थियो । उनले दूधको ट्यामीसँगै गाडीमा माओवादीलाई हालेर ओसार्न थाले । माओवादीका लडाकूहरुलाई भूमिगत रुपमा बोर्डर कटाउनेदेखि बाहुनडाँगीसम्म ओसार–पसार गर्ने कार्यमा प्रसाईँको सहयोग रह्यो ।

भूमिगत कालमा माओवादी कार्यकर्ताले प्रसाईँबाट लिनुसम्म फाइदा लिए । नडराउने स्वाभावका प्रसाईँले प्रहरी र सेनाको आँखा छलेर माओवादीलाई सहयोग गरे । यही क्रममा सेनाले उनलाई पक्राउ गर्यो । तर, पूर्वकांग्रेस भएका कारण कांग्रेस नेताहरुको साथ लिएर उनी छुटे । तैपनि उनले ब्यारेकमा चरम यातना भोगे ।

आफ्नी ल्याइते श्रीमती र छोराछोरीलाई अंश नदिएको भन्दै माओवादीले प्रसाईँका सालो नाता पर्नेलाई अपहरण गरी मरणासन्न हुनेगरी कुटे । त्यसपछि प्रसाईँकी सासू र सालासालीले अंश पाए । त्यही जमीन प्लटिङ गरेर बेचेपछि दुर्गा प्रसाईँ एकाएक अर्बपति बनेको स्थानीय बताउँछन् । यसरी उनको आर्थिक उत्थानमा माओवादीको ठूलो योगदान रह्यो ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि दुर्गा प्रसाईँको रजगज राम्रै थियो । प्रचण्ड परिवारसँग उनको उठबस थियो । तर, झापामा धर्मशिला चापागाई लगायतका त्याग गरेर आएका नेताहरुले नवधनाढ्यको हालीमुहाली भएको भन्दै प्रसाईँको विरोध गर्न थाले । ०७० को चुनावपछि माओवादी पनि कमजोर बन्यो । अवसरको खोजीमा लागेका प्रसाईँ केपी ओली आफ्नै हजुरबुवा हुन् भन्दै एमालेमा प्रवेश गरे ।

एमालेमा रहँदा प्रसाईँले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्न चाहेका थिए । तर, ओलीले सो क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिए । मेडिकल कलेजको सम्बन्धनमा पनि ओलीले चासो दिएनन् । साथै एमालेभित्रैबाट प्रसाईँलाई कारवाही गरिनुपर्ने आवाज उठ्न थाल्यो । एमालेको कोशी प्रदेश कमिटीले औपचारिक रुपमै उनलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्यो । त्यही रिसमा प्रसाईँ व्यवस्थाकै विरोध गर्दै राजावादी बने ।

बैंकप्रति आक्रमक अभिव्यक्ति दिइरहेका प्रसाईँ विगतदेखि नै वित्तीय संस्थाप्रति रुष्ट थिए । भैंसी पालेका बेला नेपाल बैंक लिमिटेडले नपत्याएको भन्दै उनले बिर्तामोडस्थित बैंक परिसरमा दुई दर्जन भैंसी लगेर धर्ना दिएका थिए ।

प्रसाईँ एमालेमा रहँदाको एउटा रोचक प्रसंग स्मरण गरौं ।

नेकपा एमालेले उद्योगपति मोति दुगडलाई पार्टीको उद्योग विभागको प्रमुख र दुर्गा प्रसाईँलाई उपप्रमुख बनायो । यो खबर दिनका लागि पार्टी केन्द्रीय कार्यालयबाट दुगडलाई फोन गयो ।

केन्द्रीय कार्यालय– मोति कामरेड, तपाई पार्टीको उद्योग विभाग प्रमुखमा मनोनयन हुनुभएको छ, यहाँलाई बधाइ छ ।

दुगड– अच्छा १ उद्योग विभाग प्रमुखको स्टाटस मन्त्री स्तरको हुन्छ कि सचिव ?

केन्द्रीय कार्यालय– हैन कमरेड, यो राजनीतिक जिम्मेवारी हो, त्यसरी मन्त्री वा सचिवसँग तुलना गर्न मिल्दैन ।

दुगड– अच्छा ठिक छ । सेवा सुविधाचाहिँ के कस्तो हुन्छ ?

केन्द्रीय कार्यालय– यो राजनीतिक जिम्मेवारी हो, भोलेन्टियर्ली काम गर्नुपर्छ, सरकारी पदजस्तो सेवा सुविधा भन्ने हुँदैन ।

दुगडलाई यति भनिसकेपछि एमाले केन्द्रीय कार्यालयबाट दुर्गा प्रसाईँलाई फोन गयो ।

केन्द्रीय कार्यालय– दुर्गा कामरेड, तपाईलाई उद्योग विभागको उपप्रमुख नियुक्त गरिएको छ । हार्दिक बधाइ छ, प्रमुख रहनुभएका मोति दुगड कामरेडसँग मिलेर काम गर्नुहोला ।

प्रसाईँ– ठीकै छ कि, ती मोती दुगडसँग कति पैसा छ ? तिनले कति जनालाई रोजगारी दिएका छन् ? मैले पाँच हजारलाई रोजगारी दिएको छु । उनलाई प्रमुख र मलाई उपप्रमुख चाहिँ अलि चित्त बुझेन ।

केन्द्रीय कार्यालय– त्यसो भनेर हुँदैन, तपाईँहरुले आपसमा मिलेर काम गर्नुहोला ।

यसको केही समयपछि नै दुर्गा प्रसाईँले झापामा एमाले निकट उद्योगी व्यवसायीहरुको भेला आयोजना गरे, तर मोति दुगडलाई बोलाउनु त के, पूर्वजानकारीसम्म दिएनन् ।

आफूलाई जानकारी नदिई भेला गरेपछि पूर्वअर्थराज्यमन्त्री दुगडले प्रसाईँलाई फोन गरेर सरकारी पारामा भने, दुर्गाजी, तपाईले मलाई नसोधी किन भेला गर्नुभयो ? त्यसको सबै फाइल मेरोमा पठाइहाल्नोस् ।

अब एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा सुनौं–

भोलि उठी कहाँ जाने केही थाहा छैन ः केपी ओली

मंसिर ७ गते बल्खुमा भएको दुर्गा प्रसाईँको प्रदर्शनको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका युवाहरुलाई सम्वोधन गर्ने क्रममा राजावादीहरुको खरो आलोचना मात्र गरेनन् दुर्गा प्रसाईको नाम नलिई भने, ‘हिजो बल्खुमा भोलि उठी कहाँ जाने केही थाहा छैन भन्नेखालका‘ कहाँ हिँड्या हुन् थाहा छैन । केका लागि हिँड्या हुन्, त्यो पनि थाहा छैन । के माग हो, के नारा हो, कहाँ पुग्ने हो, के गर्ने हो, थाहा छैन ।’

प्रसाईँको आन्दोलनबारे ओलीको थप प्रतिक्रिया–

पाँचरररसात हजार मान्छे यस्सो हेर्न आए होलान्, त्यसैमा यो सरकार थर्कमान छ । किनभने यसको जगै छैन । एउटा किलो गाडेको छ भने त्यो हल्लिँदैन । तर, फेदमा अलिकति थेप्चो–थेप्चो मात्रै पारेर राखेको छ भने ढलिहाल्ला कि जस्तो हुन्छ । यो सरकार त्यस्तै हो । गठबन्धन छ, जरा छैन ।

युवाहरुमा अलिकति निराशा छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक कुरा हो भनेर म उहिल्यैदेखि भन्दैछु । सरकारले जनतालाई निराश पार्ने होइन, उनीहरुमा आशावादिता देखाउनुपर्छ । उनीहरुका मागहरुलाई सम्वोधन गर्नुपर्छ । उनीहरुको आत्मविश्वास बढाउनुपर्छ ।

१५ वर्ष अगाडि फालिसकेको, हेर्दा हेर्दा हेर्दा वाक्क ब्याक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ, यो काम लाग्ने चिजै रहेनछ भनेर फालेको । राजनीतिक, वैचारिक कुनै हिसाबले पनि राजतन्त्र सही छैन । एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने, जनताका छोराछोरीले मरिमेटेर काम गरे पनि हुन नपाउने । यस्तो अन्यायपूर्ण विचार बोक्नेहरु, चेतना नै नभएका मूर्खहरुले राजतन्त्र मान्छन् ।

एउटा मान्छेको छोरो जन्मिँदैखेरि गँजडी जन्मिन्छ कि ? ड्रगिष्ट भएर जन्मिन्छ कि ? कस्तो भएर जन्मिन्छ थाहा छैन, जन्मिँदै राजा हुने १ त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने, कठैबरी १

प्रसाईँमाथि प्रश्न

प्रसाईँका गफ सुनिसकेपछि उनी कस्ता मानिस हुन् भन्नेबारे धेरै बताइरहनुपर्दैन । तर, देशै बनाउँछु र बदल्छु भनेर हिँडेको व्यक्तिमाथि प्रश्न उठाउनै नहुने भन्ने हुँदैन । सार्वजनिक व्यक्तिमाथि प्रश्न उठ्छ, उठाउनुपर्छ । त्यसैले यहाँ उनको विचार र व्यवहारमा देखिएको असंगतिबारे चर्चा गर्नु सान्दर्भिक ठानिएको छ ।

एक महिनासम्म काठमाडौंमा लगातार प्रदर्शन गरेर व्यवस्था उल्ट्याउने प्रसाईँ बताउँछन् । यसमा या त उनी भ्रममा छन्, या त बालरोगबाट ग्रस्त छन् । विगतमा माओवादीले ६ दिने हडताल गरेर काठमाडौं घेर्दा एउटा सरकार त ढाल्न सकेको थिएन, आज व्यवस्था नै बदल्ने कुरा चानचुने होइन ।

पार्टी र संगठन नै नभएका प्रसाईँ ७७ वटै जिल्लामा विद्रोह सुरु भयो भन्छन् । उनी एकातिर रत्नपार्कदेखि बानेश्वरसम्म महिलाले सडकमा दिशा गर्दा व्यवस्था फेरिन्छ भन्छन्, अर्कोतिर लेनिनले जस्तै अक्टोबर क्रान्ति गर्ने भन्छन् । नेताका घरघरमा पसेर कुट्ने, बाटो हिँड्न नदिने भन्छन् । शान्तिको कुरा पनि गर्छन् । आफ्नो व्यवस्था आयो भने मिडियालाई देखाइदिन्छु भन्दै धम्क्याउँछन् । धम्की दिन कसैलाई बाँकी राख्दैनन् । आफू र आफ्ना भक्तबाहेक सबैलाई खराब देख्छन्, दानवीकरण गर्छन् र घृणाको व्यापार गर्छन् ।

व्यवस्था फेर्ने क्रान्तिको मोडेल के हो ? यसको ठाउँमा कस्तो व्यवस्था ल्याउने हो ? केही ठेगान छैन । राजसंस्था चाहियो भन्छन्, फेरि निरंकुश राजतन्त्र पनि हैन भन्छन् । सेरेमोनियल राजसंस्था आउँदैमा देशमा कसरी विकासको मूल फुट्छ ? प्रसाईँसँग न कुनै दस्तावेज छ, न रोडम्याप ।

नेपालजस्तो देशमा विकास र रोजगारीका लागि विदेशी लगानी अपरिहार्य छ । तर, उनी एमसीसी र बीआरआई धपाउने मात्रै कुरा गर्दैनन् । ठूला व्यापारिक समुदायलाई भारतीय भएको आरोप लगाउँदै भौतिक रुपमै लखेट्ने कुरा गर्छन् । अनि फेरि व्यवस्था बदलेको भोलिपल्ट ५० लाख नेपालीलाई रोजगारी दिन्छु भन्छन् । विदेशी लगानी आउन नदिएर प्रसाईँले देशको कायापलट कसरी गर्छन् ? जसले आफैं बैंकबाट लिएको ऋण तिर्न नसकेर लिलाम भए होस् भनिरहेका छन् ।

प्रसाईँको भनाइमा यति धेरै विरोधाभाष देखिन्छ कि एकातर्फ उनी राजा फर्काएको भोलिपल्ट बिहानै बैंकको २० लाख रुपैयाँ मिनाहा गरिदिन्छु भन्छन् । अर्कातिर आन्दोलन सफल भएपछि सांसद लड्छु भन्छन् । फेरि अर्को भाषणमा अभियान सफल भएपछि माला लगाएर खप्तडमा जोगी भएर बस्ने कुरा गर्छन् ।

बल्खुबाट सिफल हुँदै सल्लाघारीसम्म पुग्दा महाअभियानको जनसमर्थन घट्दै गए पनि प्रसाईँ यति धेरै हौसिएका छन् कि उनले बालेन्द्र शाहलाई प्रधानमन्त्री बाँडिसकेका छन् । एउटा भाषणमा त उनले पूर्वराजा पनि सडकमा नआए राजा बनाउनेरनबनाउने विषयमा सोच्ने चेतावनी दिन भ्याइसकेका छन् ।

प्रसाईँ आफूलाई गरीबको पक्षमा लागेको बताउँछन्, अर्कातिर आफ्नो परिवार र बंश धनीमानी भएको धाक लगाउन पनि बिर्संदैनन् ।

देश र जनताको नेतृत्व लिन्छु भन्ने व्यक्तिले जवाफदेहिता देखाउनैपर्छ । ०५७र०५८ सालतिर प्रसाईले झापामा माओवादी बनेर कति मानिसलाई कुट्दै हिँडे ? गणतन्त्रका लागि आफूले त्यसो गरेको उनले बताउने गरेका छन् । गणतन्त्र ठीक छैन भने उनी हिजो किन नेपाली कांग्रेस छाडेर माओवादीमा लागेर मान्छे कुट्दै हिँडे ? आफूले गरेको त्यो कामको दोष अरुलाई लगाएर पन्छिन मिल्छ ? के त्यतिखेर प्रसाईँको होसको ठेगानमा थिएन ? अहिले गणतान्त्रान्त्रिक व्यवस्थालाई गाली गरिरहँदा प्रसाईँको नैतिकता कहाँनेर रह्यो ? राजेन्द्र लिङ्देन र कमल थापाले व्यवस्थाको विरोध गर्न सुहाउला, तर दुर्गा प्रसाईँ ‘नयाँ जोगीले धेरै खरानी घसेजस्तो’ किन गरिरहेका छन् ? उनीमाथि नैतिक प्रश्न उठ्छ ।

प्रसाईँले अहिले सरकारको नेतृत्व गरिरहेका प्रचण्डमाथि भन्दा पनि विपक्षी दलका नेता केपी शर्मा ओलीविरुद्ध आफ्नो प्रहार बढ्ता केन्द्रित गरेको देखिन्छ । उसोभए विगतमा उनी एमालेमा किन लागे ? प्रचण्ड र ओलीलाई कुन निहीत स्वार्थ पूरा गर्नका लागि घरमा बोलाएर उनले मार्सी चामलको भात खुवाएका थिए ? के उनले बैंकबाट अर्बौं ऋण लिनका लागि नेताहरुलाई गुहारेका थिए ? हिजो तिनै नेतासँग चाचाटाट, आज काटाकाटको स्थिति किन ? प्रसाईँले कुन स्वार्थ नमिलेर ओलीलाई भित्तामा पुर्याउने अभियान थालेका हुन् ? यो प्रश्न पनि उनीतिरै सोझिएको छ ।

प्रसाईले हिजो माओवादीबाहेक सबैलाई चोर फटाहा देखे । त्यसपछि एमालेमा लागेका बेला प्रचण्डलाई पत्तासाफ बनाइदिन्छु भने । त्यसपछि रवि लामिछानेविरुद्ध खनिए । अहिले ज्ञानेन्द्र र पारसको हवाला दिँदै मिडिया, नागरिक समाज, उद्योगी, राजनीतिक दल र नेताहरुलाई घर घरमा गएर आक्रमण गर्ने धम्की दिइरहेका छन् । उनले अबको केही महिनापछि यो ‘राजावादी लाइन’ पनि छाडेर अर्कै बाटो तताए भने के भन्ने ? यसको जवाफ उनले बोलीबाट होइन, व्यवहारबाटै दिन जरुरी छ ।

जहाँसम्म राजा फर्किएपछि देशको सबै समस्या समाधान हुन्छ भन्ने प्रसाईँको दाबी छ, यो नै हावादारी देखिन्छ । ज्ञानेन्द्र राजा होलान्, त्यसपछि पारस राजा होलान्, तर व्यक्ति फेरिँदैमा देश उँभो लाग्ने होइन । राजामहाराजाले लामो समय नेतृत्व सम्हालेको विगतको सय वर्षमा नेपाल बनेन भनेर स्वयं प्रसाईँले नै स्वीकारिसकेका छन् । स्रोत खबरहब





error: Content is protected !!