व्यक्तिगत चिठी आउँदैन जुम्ला हुलाकमा

जुम्ला ः विगतका समयमा व्यक्तिगत तथा पारिवारीक चिठीले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय खाली जस्तै छ। मोबाइल फोन विस्तारले तिब्रता लिएसँगै इमेल, इन्टरनेट, फेसबुक, म्यासेन्जर सहित सामाजिक सञ्जालको प्रयोग बढेपछि पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठीपत्र आउन छाडेको हो।

दिनहुँ सयौं चिठीपत्र आउने हुलाक कार्यालयमा अहिले कहिलेकाही मात्रै चिठी आउने गरेका छन्। त्यो पनि व्यक्तिगत नभई संघसंस्था र केही कार्यालय वा सदरमुकामबाट निस्कने पत्रपत्रिका मात्रै जिल्ला हुलाक कार्यालयमा पुग्छन्। विगतमा खासगरी विदेशबाट धेरै चिठीहरु आउने गरेको भए पनि अहिले चिठी आउन छाडेको जिल्ला हुलाक कार्यालय जुम्लाले जनाएको छ।

पछिल्लो समय जिल्ला हुलाक कार्यालयमा व्यक्तिगत र पारिवारीक चिठी आउन छाडेको जिल्ला हुलाक कार्यालय जुम्लाका निमित्त प्रमुख गणेशदत्त रावलले बताए। प्रमाणहरु पेश गर्नुपर्ने चिठी र स्वदेश तथा विदेशमा पठाउनुपर्ने बताउँदै उनले पहिले–पहिले घरायसी र पत्रमित्रताका चिठीहरु थुप्रै आउने गरेपनि अहिले त्यो घटेको बताए।

अहिले सरकारी चिठी वर्षमा ३०र४० सम्म मात्रै आउने गरेको हल्कारा भवानी जैशीले बताए। देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै हुलाकमा सामान्य चिठी मात्रै पुग्ने गरेका छन्। सबैको हातहातमा मोबाइल फोन र इन्टरनेटमाथि पहुँच बढेको हुँदा हुलाकमा चिठी आउने क्रम ह्वात्तै घटेको उनले जनाए।व्यक्तिगत रुपमा केही रजिष्टर चिठी र बैंक तथा वित्तीय संघसंस्थाका चिठीपत्र आउने गरेपनि पहिला–पहिला जस्तो गरी चिठी आउने क्रम घट्दै गएको सूचना अधिकारी गोरक बहादुर महत बताउँछन्।

मोबाइल फोनको तीव्र विस्तारले चिठी लेख्ने क्रम नै हराउँदै जान थालेको छ। सूचना आदानप्रदानको रुपमा कुनै समय एक अर्कालाई पठाउने प्रमुख माध्यम हुलाक र चिठी भए पनि अहिले त्यो सबै ठाउँ फोनले लिएको छ। मोबाइल फोन, टेलिफोनका साथै फेसबुक, ट्वीटर, म्यासेन्जर, भाइबर, इमो, ह्वाट्सएप, जस्ता सामाजिक सञ्जालहरुको प्रयोग चर्को रुपमा बढेको छ।

सामाजिक सञ्जालको सहयोगले विश्वको कुनै एक ठाउँको खबरहरु छिनमै थाहा पाइने भएपछि चिठी पठाउने चलन घटेको हो। अब पछिल्लो पुस्ताले चिठी भनेको के हो भनेर सोध्ने अवस्था समेत आइसकेको सुनिन्छ। विदेशमा पुग्नेहरुले पनि तत्कालै टेलिफोन र सामाजिक सञ्जालको प्रयोगमा आफन्तसँग कुराकानी गर्ने गरेका छन्।

टेलिफोन र सामाजिक सञ्जालका कारण विगतमा चिठी लेखाउन र पढ्न लगाउन अर्काको घरदैलोमा पुग्नुपर्ने बाध्यता भए पनि अहिले त्यो भने अन्त्य भएको छ। सामाजिक सञ्जाल र टेलिफोनको सहज उपलब्धताले दुर्गमका स्थानीयलाई समेत सहज भएको छ। अझै पनि चिठीलगायत महत्वपूर्ण कागजातहरु पठाउने भरपर्दो माध्यम हुलाकलाई नै मानिन्छ।





error: Content is protected !!