१४० घरधुरी दलित समुदायलाइ राहत बितरण

हेमन्त केसी
जाजरकोट / एक जोडा कपडा , चाडपर्वमा खर्च गर्ने रकम जोहो गर्न गिता तिरुवामा आफन्तहरु यतिबेला भारतमा रहेका छन् । भारत जानु उनीहरुको रहर नभइ बाध्यात रहेको छ ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा समेत भोट नहालि स्थानीय व्यक्तिले भाडा हालिदिएपछि गिताका १४ वर्षीया छोरा राजन र श्रीमान् श्याम तिरुवा भारत पुगेका हुन् । श्यामसँगै भेरी नगरपालिका–११ कट्टी गाउँका झण्डै ५० भन्दा बढी बालबालिकाहरु विद्यालय छाडेर अभिभावकसँग भारत पुगेका छन् भने सोही मात्रामा अभिभावकहरु पनि भारत पुगेको पाइएको छ । विद्यालयबाट पढ्नका लागि ल्याइएका पाठ्यपुस्तकहरु घरको एक कुनामा थन्क्याएर आफ्नो छोरा भारत गएको अर्की टिका वरले बताउनुभयो ।
उहाँले भन्नुभयो ,’ यत्ता पढाइ गर्ने हो भने खाना ,लगाउन पुग्दैन , भारत जादा पढाइ हुँदैन । गरीवलाई जहाँ गएपनि सुख छैन । ’ अलि , अलि बढेपनि घरबार चलाउन सकिएन तर रिण लागेमा सबै घर ,जग्गा बिक्री गरेर गाउँ नै छाड्नु पर्छ टिकाले भन्नुभयो । साहुको रिण तिर्न नसकेर गाउँका १८ घरधुरीको सबै साहुले लिइसकेको टिकाले पिडा सुनाउनुभयो ।
अभावमै गुर्जिरहेको यो दलित बस्तीमा मंगलबार दिउँसो सशस्त्र प्रहरी परिवार महिला संघ केन्द्रीय कार्यकारिणी समितिले यहाँका १४० घरधुरी दलित समुदायका सर्वसाधारणलाई कपडा वितरण पछि यो हिउँद काट्ने सकिने भएको खुसी स्थानीयबासी दामोदर वरले बताउनुभयो । चिसोमा तातो गरेर बस्ने कपडा समेत नभएको यो बस्तीमा डस्ना , ओड्ने कपडा समेत बितरण भएपछि आफूहरुले राहत महसुस गरेको वरको भनाइ छ । सशस्त्र प्रहरी परिवार महिला संघ केन्द्रीय कार्यकारिणी समितिले राहत वितरण गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको थियो । महानिरीक्षक अर्यालयले दुर्गममा सेवा गर्ने आफूहरुको योजना भएपनि ठाउँको खोजी जारी रहेको सन्दर्भमा जगतीपुरमै घर भएर सशस्त्र प्रहरीमै कार्यरत राजु हमालले कटीगाउँका विषयमा जानकारी गराएपछि आफू स्थलगत रुपमै राहत लिएर कटीगाउँ पुगेको जानकारी दिनुभयो ।
महानिरीक्षक अर्यालले साचिक्कै कटीगाउँका विषयमा जानकारी गराएको जस्तै समस्य रहेको पाइयो उहाँले भन्नुभयो । दुरदराज गाउँको शान्ति सुरक्षा बस्तुगत रुपमै बुझन पाएको भन्दै यहाँको विषयमा धेरै काम गर्न बाँकी रहेको समेत बताउनुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघ केन्द्रीय कार्यकारिणी अध्यक्ष अनिता लामिछाने अर्यालले जाजरकोट भित्र कटीगाउँको खास बेथाले आफ्नो मन भकानिएको बताउनुभयो । सोचेको भन्दा फरक रहेको भन्दै यस्ता गाउँ ,ठाउँका साथै समुदायको पीडामा थोरै भएपनि सहयोग गर्न पाएकोमा खुसी भएको बताउनुभयो ।
पटक , पटक कट्टीगाउँका दलित समुदायको आर्थिक अवस्था कम्जोर भएर घर नै छाडेर पलाएन भएको देखि रिणमा डुवेर घरखेती सामुको नाममा दिएको जानकारी आएपछि उक्त ठाउँमा राहत स्वरुप कपडा वितरण गरिएको संघकी केन्द्रीय अध्यक्ष लामिछाने अर्यालले यर्थाथ बेथा समेत सुनाउनुभएको थियो । त्यस्तै कर्म घरमा आएर यहाँको समस्यको बारेमा सबैलाई जानकारी गराउनु र सशस्त्र प्रहरीको प्रमुख नै दुर्गम गाउँमा आएर अध्ययन गर्न पाउनु आफैमा गर्भको कुरा भएको कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीका महनिरीक्षक सहभागी उक्त राहत वितरण कार्यक्रमले राहत दिने र लिने मात्र नभइ यहाँको दलित समुदायको अवस्थाको चित्रण समेत भएको सहभागीले बताएका छन् । कपडा खरिद गर्ने रकम नहुँदा आफू समस्यमा परेको बताउने कटीगाउँकी सितली वरले आज पाएको राहतले यो हिउद पार गर्न सजिलो भएको बताउनुभयो । ‘कोही नहुनेका भगवान हुन्छन् भन्थे , साचिक्कै हो रहेछ आज यही घर भएका सशस्त्र प्रहरीका सही साव राजु हमाल, उनकी श्रीमती प्रतिमाको पहलमा हामी गाउँलेलाई कपडा आएको छ । हामी निकै खुसी भएका छौँ । हामीलाइ सहयोग गर्ने कोही थिएन , कुरा मात्र गर्ने धेरै थिए । आज हामीलाइ दिएको कपडाले वर्ष दिन ढुक्क भएको छ । ’मध्यपहाडी लोक मार्गको छेउमै रहेको दलित बस्तीमा वर्षेनी खाद्यान्नको समस्यले गर्दा हैरानी हुने गरेको छ ।
आफूले उत्पादन गरेको अन्नले ६ महिना खाना नपुग्ने कटीगाउँमा अधिकांश पुरुषहरु कमाइ गरी परिवार पाल्नुका साथै साहुको रिण तिर्न भारत गएका छन् । महिला मात्र गाउँमा रहेको उक्त दलित बस्तीमा औपचारिक शिक्षा लिनको संख्य समेत कम रहेको छ । आफ्नो रिण धेरै भएको भन्दै उक्त रिण तिर्नका लागि आफूसँग केही पनि नभएको बताउदै अघिल्लो वर्ष मात्र प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत लगाएतका नेतहरुलाइ यहाँका सर्वसाधाणले ज्ञापन पत्र समेत बुझाएका थिए ।









